‘गोदावरीलाई पर्या–पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेछौं’

ललितपुर- गोदावरी क्षेत्रलाई पर्या–पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गोदावरी क्षेत्रका सबै सरोकारवालाहरू एक भएर लाग्ने भएका छन् । गोदावरी–फुलचोकी केबलकार निर्माण तथा सञ्चालनका लागि छलफल भएको सामूहिक बैठकमा सहभागीहरूले एक भएर भनेका छन्, “गोदावरीलाई पर्या–पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेछौं ।”
गोदावरी नगरपालिकाका, युवा जागरण पर्यावरणीय मञ्च र फुलचोकी एकीकृत विकास कार्यक्रमले सोको लागि आधार प्रस्तुत गर्दा सबै सरोकारवालाहरू एक भएका हुन् । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले ‘हाम्रो गोदावरी–राम्रो गोदावरी’ निर्माण गर्ने क्रममा केबलकार सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुका साथै विकासका लागि गोदावरी नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।
गोदावरी नगरपालिकाका उप–प्रमुख मुना अधिकारीले फुलचोकी एकीकृत विकास कार्यक्रमले अगाडि सारेको कार्यक्रम आफ्नो निर्वाचनका बेलाको सपनासमेत रहेकाले अगाडि बढाउन सबै तरहले सहयोग हुनपर्ने बताए ।
गोदावरी नगरपालिकाका–३ का वडा अध्यक्ष बालमुकुन्द घिमिरेले गोदावरी क्षेत्रमा केबलकारलगायतका कार्यक्रम सञ्चालन गर्नका लागि सरकारबाटै स्वीकृति लिएर गर्ने भएकाले कोही कसैको टाउको दुखाईको विषय नरहने दाबी गर्नुभयो ।
गोदावरी नगरपालिकाका–१४ का वडा अध्यक्ष जगनाथ महर्जनले कुनै पनि विकासका लागि सकारात्मक सोच राखेर अघि बढ्न पर्नेमा जोड दिए ।
ललितपुर जिल्ला वन अधिकृत जयमंगल प्रसादले गोदावरी उपत्यकाको मुटु र सपना भएकाले त्यसलाई साकार पार्न वन कार्यालयको तर्फबाट नियमानुसार सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा. अष्टमान किसी महर्जनले गोदावरी क्षेत्र सुनको कचौरा भएकाले यसलाई मागी खाने होइन, गरी खाने ठाउँ बनाउन लागेको तर्क गरे ।
फुलचोकी एकीकृत विकास कार्यक्रमका सचिव डा. दीपेन्द्र रोकायाले फुलचोकी एकीकृत विकास कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै गोदावरीको विकासले देशकै नमुना प्रस्तुत गर्न सकिने आधार रहेको चर्चा गरे ।
वातावरणविद् रवि भट्टराईले गोदावरीमा केवलकार सञ्चालनसम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए ।
गोदावरी नगरपालिकाका अधिकृत श्रीराम आचार्यले कानुनी प्रक्रियाका साथ अघि बढेको फुलचोकी एकीकृत विकास कार्यक्रमको कार्य नियमावली निर्माण भइरहेको जानकारी दिए ।