धादिङको सम्भावना जलयात्रा पर्यटन

नेपालमा जलयात्राको प्रारम्भ सन् १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ । गोराहरूले नेपाल आउने क्रममा जलयात्रा गरेको व्यवसायीहरू बताउँछन् । सन् १९७० मा नेपालीहरूले व्यावसायिक जलयात्रा प्रारम्भ गरेका हुन् । हिमालयन रिभर एक्स्पो र लामा एक्स्पोले व्यावसायिक जलयात्रा सुरु गरेको नेपाल र्याफ्टिङ एसोसिएसनका सल्लाहकार सुदीप गौतम बताउँछन् ।
जलयात्राको इतिहास बोकेको त्रिशूली नदीको अवस्था १२ वर्षयता दिनानदिन नाजुक बन्दै जाँदा सबैभन्दा बढी चिन्तित जलयात्रा व्यवसायी बनेका छन् । स्थानीय पर्यावरणमा असर पर्ने उद्योग बालुवा प्रशोधन गरेको पानी सिधै नदीमा मिसाउने र नदीको बगर उत्खनन् हुनेखानेहरूको कार्यबाट वाक्क भएका छन् । सरकारी निकाय पनि अव्यवस्थित व्यवसायलाई प्रश्रय दिइरहेका छन् ।
१० वर्षअघिसम्म जलयात्रामा रिभर गाइडमात्र नेपाली हुने गरेकोमा पछिल्लो समय नेपाली युवाहरूको आकर्षण जलयात्रामा बढेको छ । नेपालमा त्रिशूली नदीलाई जलयात्रामा सुरक्षित मानिन्छ । काठमाडौँ बाट नजिक र त्रिशूलीमा जलयात्रा गरेर पोखरा, बन्दीपुर, सौराहा, लुम्बिनी एकै दिनमा पुग्न सक्ने भएका कारण पनि त्रिशूली नदी जलयात्राको रोजाइमा परेको छ ।
बिदा मनाउन त्रिशूली नदी
काठमाडौंबाट ५० किलोमिटरमा पर्ने त्रिशूली नदीमा सरकारी गैरसरकारी र कूटनीतिक नियोगमा काम गर्नेहरूका लागि होस् वा व्यवसायमा संलग्न हुन् वा विद्यार्थी, त्रिशूली नदीमा जलयात्रासँगै पिकनिकमा जम्न चाहन्छन् । त्यसका लागि व्यवसायीहरूले एक दिने प्याकेजसमेत बनाएका छन् । यातायातको सुविधासहित बिहान काठमाडौंबाटै त्रिशूली नदीमा ल्याएर खाजा, खाना र जलयात्रा गराएर काठमाडौँ पुर्याउने प्याकेज बनाएका कारण पनि सबैलाई जलयात्राले तानेको छ । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीसहित व्यवसायी, विद्यार्थी पनि मौसमअनुसार जलयात्रामा सहभागी हुन्छन् ।
हिमालयन ह्वाइट वाटर च्यालेन्ज अफ रिभर
जलयात्रा र रिभर गाइडमा निपूर्णहरूका लागि १६ वर्षदेखि हिमालयन ह्वाईट वाटर च्यालेन्ज अफ रिभर फेष्टिवल हुँदै आएको छ । प्रतियोगिताको आयोजना नेपाल र्याफ्टिङ एसोसिएसनले गर्दै आएको छ । प्रतियोगितामा साहसिक जलयात्रीहरूले प्रतिस्पर्धा गर्छन् ।
हरेक वर्ष प्रतियोगितामा भाग लिनेको संख्या वृद्धि भइरहेको छ । प्रतियोगिताले जलयात्री र रिभर गाइडको सीप, क्षमता र मनोवलमा वृद्धि हुनुका साथै जलयात्रा गर्नेको संख्यामा वृद्धि हुने गरेको छ ।
त्रिशूली नदी संरक्षण्को प्रयास
मानवीय र प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि सरोकारवालाहरू संरक्षण गर्न आन्दोलित भएका छन् । नदी संरक्षण नीति नभएका कारण नदी अतिक्रमण, प्रदूषित तथा विनाश गर्न मानिसहरू सक्रिय भएर लागेको भन्दै नदी संरक्षण नीति ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले जल र स्थल र्याली समेत गर्ने गरेका छन् ।
नेपालका भएका करिब ६ हजार नदीनालामध्ये अधिकांश ठूला नदीहरू पर्यटकीय हिसाबले र अन्य खोलाहरू वातावरणीय हिसाबले महत्वपूर्ण रहेको मानिन्छ । ती नदी तथा खोला संरक्षण गर्न नीति आवश्यक र संरक्षण गर्न सचेतना फैलाउन स्वदेशी तथा विदेशीहरूले र्याली प्रर्दशन गरेका छन् । जलप्रेमी जनसमुदाय एकजुट भई नदी तथा खोला संरक्षणमा जुट्न ढिला हुन लागेकोले नदी संरक्षणमा लाग्न आह्वान गरिरहेका छन् ।
नदी संरक्षणमा पञ्चेबाजा
त्रिशूली नदी संरक्षण्मा सरोकारवाला निकाय र व्यवसायी तथा स्थानीय समुदायको ध्यानाकर्षणका लागि नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा सम्पन्न भएको छ । सयौं अभियानकर्ताहरूले राष्ट्रिय झण्डा र पञ्चेबाजासहित आदमघाटबाट बेल्खुखोला दोभानसम्म पदयात्रा र त्रिशूली नदीमा बेल्खुखोला दोभानदेखि मलेखुसम्म जलयात्रा गरे । त्रिशूली नदी स्वच्छ, सफा राख्न र युवाहरूलाई जलयात्रामा आकर्षण गर्न पदयात्रा र जलयात्रा गरेको आयोजकहरूले बताए ।
त्रिशूली नदी त्रिभुवन विमानस्थलबाट सबैभन्दा नजिक र सुरक्षित नदी मानिन्छ । राजधानीबाट अन्य ठूला सहर जोड्ने मुख्य त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग त्रिशूली नदी किनारमै रहेकोले पनि अझ महत्व रहेको छ । नदीलाई स्वच्छ र सफा राख्न सकिए दशौँ हजार आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रा गराउन सकिने कोर एडभेन्चर नेपाल प्राइभेट लिमिटेडका भिष्मराज थपलियाको भनाइ छ ।
त्रिशूली नदीको हैसियत दिनप्रतिदिन बिग्रदै दै गएपछि त्रिशूली बचाउ साझा सञ्जाललाई त्रिशूली बचाउन महाअभियानका रूपमा प्रचारप्रसार र विभिन्न कार्यक्रमहरू गर्न सचेत समुदाय स्वतस्फुर्त रूपमा सडकमा उत्रेको प्रकृति सम्पदा संरक्षण समितिका संयोजक श्रवण कुमार त्रिपाठीले बताए ।
निशूली नदीलाई सम्पदा नदीका रूपमा घोषणा गर्नुपर्ने, राजनीतिक दल, स्थानीय प्रशासन र तस्करहरूबीचको मिलेमतोमामा हुने नदीजन्य भ्रष्टाचार बन्द गरिनुपर्ने र त्रिशूली नदीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको रूपमा विकास गर्नु पर्ने त्रिशूली बचाउन साझा सञ्जालका संयोजक उत्तम कँडेलले बताए ।
त्रिशूली प्राकृतिक रूपरंगमा बगोस्
१० वर्षअघिसम्म त्रिशूली नदीको पानी मानिसहरूले पिउनका लागि समेत प्रयोग गर्थे । तर, अहिले अहिले बाह्रै महिना धमिलो बग्छ । खानीमा निकालिएको बालुवा धोएको पानी शुद्धिकरण नगरी नदीमा मिसाउनाले सधैं त्रिशूली नदी धमिलो बग्छ । नदी किनार र बगरमा स्काभेटरसमेतको प्रयोग गरेर उत्खनन् गर्दा पर्यावरणमा असर पर्ने र स्थानीय मजदुरको रोजीरोटी खोसिएको भन्दै विरोध भइरहेको छ । स्थानीय चाहन्छन्– त्रिशूली नदी प्राकृतिक रूपरंगमा बगोस् ।
पर्यटन विकासमा योगदान
त्रिशूली नदीलाई प्राकृतिक रुपरंगमा निरन्तर बहावमा रहन दिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सक्नेमा फरक मत कसैको पनि छैन । तर सरकारी नीति नियमको उल्लंघन गर्नेहरूका कारण त्रिशूली नदीमा धमिलो पानी मिसाउने र नदी किनारमा फोहोर फाल्नाले त्रिशूली नदी कुरुप भएको गुनासो आइरहेको छ । सरकारले प्राकृतिक बहावमा बगाउन खास चासो राखेको छैन ।
त्रिशूली नदीलाई जल यात्राको मुख्य गन्तव्य बनाउन सम्पदा संरक्षणको सूचीमा राखेर संरक्षण र प्रवद्र्धनमा जोड दिने हो भने लगानीको चार सय प्रतिशत राज्यको कोषमा राजश्व उठ्ने पर्यटन व्यवसायीहरू दाबी गर्छन् । त्रिशूली नदी बगरको आडमा रेष्टुरेण्ट चलाउने, राजमार्गका छेउमा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा ल्याउने सके जलयात्रामा विदेशीलाई आकर्षण बढाउन सकिन्छ । जलयात्रा व्यावसायी, रिभर गाइड, होटल तथा रेष्टुरेण्ट सञ्चालक, कृषि उत्पादक सबैलाई रोजगार सृजना हुन्छ । पेशा व्यवसाय गरेर सबैले आर्थिक उपार्जन गर्ने राम्रो माध्यम त्रिशूली नदी बन्न सक्छ ।