Logo

वाइडबडीको ‘वारेन्टी’ नै नभएको खुलासा

काठमाडौं-नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।
निगमले ‘हाईफ्लाई एक्स’सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएको छ । उक्त विषयले बोर्ड बैठकमा पटक–पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुई पटक यससम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सम्बोधन नै गरेर सचिव देवकोटाले पत्रसमेत लेखेका छन् । यस्तै, जेठ १९ गतेको बोर्ड बैठकमा टीआरईएनटी ७७ बी इन्जिन मर्मतसम्भार कार्य सम्बन्धमा दुई थान वाइडबडी एयरबस ३३०–२०० सिरिजको विमानको इन्जिनको मर्मतसम्भार र स्पेयर्स पार्ट्स तथा जगेडा इन्जिनको विषयमा सम्झौतमा किन मौन बसेको भन्दै स्पष्टीकरण मागिएको थियो ।
कंसाकारले जहाजसँगै ‘वारेन्टी पेपर’ आउने भने पनि हालसम्म उपलब्ध नगराएको निगमकै एक उच्च स्रोतले जानकारी दिएको छ । “अर्बौं रुपैयाँ खर्च भएको जहाजको इन्जिन र स्पेयर्स पार्ट्सको वारेन्टीको विषयमा सम्झौतामा उल्लेख नहुनु गम्भीर र नीतिगत भ्रष्टाचार हो,” स्रोतले भन्यो । तर निगमका प्रवन्ध निर्देशक कंसाकारले भने स्पेयर्स पार्ट्स र इन्जिनमा वारेन्टी रहेको दाबी गरे । “सम्झौतामा सबैको वारेन्टी छ, कति छ भन्ने चाहिँ मलाई थाहा छैन,” कंसाकारले भने ।
झन्डै २३ अर्ब रुपैयाँ खर्चिएर खरिद गरिएको दुई थान जहाज काठमाडौं आइसकेको छ । तर, जहाजको वारेन्टी तथा स्पेयर्स पार्ट्सको विषयमा भने निगम व्यवस्थापन मौन बस्नु आश्चर्यजनक रहेको स्रोतको दावी छ । “बाहिर देखाउँदा जहाजको मूल्य सस्तोजस्तो बनाएर पाइलट, इन्जिनियर, स्पेर्यस् पार्ट्स, जगेडा इन्जिनको विषयमा सम्झौतामा उल्लेख नगर्नु गम्भीर प्रकृतिको भ्रष्टाचार हो,” एक हवाई विज्ञले भने ।
निगमको पहिलो एयरबस ३३०–२०० सिरिजको अन्नपूर्ण नाम दिइएको जहाज असार अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । दोस्रो सोही सिरिजको मकालु नाम दिइएको जहाज पनि बिहीबार विमानस्थलमा अवतरण गरिसकेको छ । अव निगमसँग दुई थान वाइडबडी जहाजसहित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या अव पाँच पुगेको छ । निगमले दुई थान वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गरेको हो ।
वारेन्टी नभएपछि इन्जिनको मर्मतको जिम्मा रोल्स रोयसलाई
निगमले वाइड बडी जहाजको ४ वटा इन्जिनको सम्पूर्ण मर्मत तथा सञ्चालनको जिम्मा जहाजको इन्जिन निर्माता कम्पनी रोल्स रोयसलाई १२ वर्षका लागि दिने तयारी गरेको थियो । तर, उक्त विषय जब निगम सञ्चालक समितिमा प्रवेश पायो, तब नयाँ जहाजको इन्जिनको वारेन्टीको विषयले चर्चा पाएको थियो । उक्त विषयमा निगम व्यवस्थापनले सञ्चालक समितिलाई अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ दिन नसकेको एक सञ्चालकले जानकारी दिए । प्रवन्ध निर्देशक कंसाकारले भने निगमले मासिक रुपमा केही रकम रोल्स रोयसलाई दिने र कम्पनीले इन्जिन बिग्रिए तथा फेर्नु परेमा निशुल्क गर्ने प्रक्रिया अगाडि बढाएको बताएका थिए । निगमले कम्पनीलाई मासिक ५ करोड हाराहारीमा रकम दिनेगरी सम्झौताको तयारी गरेपनि वारेन्टीको सम्झौतापत्र नदिएसम्म रोल्स रोयसलाई दिन नहुने पक्षमा सञ्चालक समितिमा आवज उठेपछि ग्लोबल टेन्डर गर्ने सहमति भएको छ । तर सञ्चालक समितिले भने वारेन्टीको सम्झौता नभएसम्म कुनै पनि एमआरओ कम्पनी भिœयाउन नहुने निष्कर्ष निकालेको छ ।
एयरबस ३२०–२०० सिरिजको जहाजमा डेढ अर्ब घाटा
नेपाल वायुसेवा निगमले उडान भर्दै आएको नयाँ ‘ए३२०–२००’ सिरिजको जहाजको इन्जिनसमेत वारेन्टीबिनै खरिद गरेको पाइएको छ । तत्कालीन प्रवन्ध निर्देशक मदन खरेलको समयमा खरिद गरिएको उक्त जहाजमा वारेन्टी नहँुदा डेढ अर्ब निगमले घाटा बेहोर्नु परेको छ ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ मा १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाज खरिद गरेको थियो । निगमको ‘ए३२०–२००’ सिरिजको उक्त जहाज नियमित तालिकाअनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको थियो । हाल उक्त जहाज इन्जिन फेरेर सिंगापुरबाट ३ महिनाअघि मात्रै नेपाल ल्याइएको छ ।
भारतको नयाँदिल्लीमा थन्किएको उक्त जहाज उडाउन अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई)सँग एकथान इन्जिन भाडामा लिएर चलाएको छ । नयाँ इन्जिनको हालसम्म टुंगो लागेको छैन । यसका लागि निगमले महिनाको १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ५० लाख रुपैयाँभन्दा बढी) तिर्ने सम्झौता गरेको थियो । नयाँ इन्जिन खरिद गर्नुपरे १ अर्बभन्दा बढी खर्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस्