प्रदेश १ मा सेक्युरिटी लकिङ सिस्टम लागू

भारतबाट आयात हुने इन्धनको चुहावट नियन्त्रण गर्ने उद्देश्यले नेपाल आयल निगम प्रदेश–१ कार्यालयले ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम लागू गरेको छ ।
इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमका पदाधिकारीको उपस्थितिमा लकिङ सिस्टम प्रणाली लागू गरिएको हो । निगमको प्रदेश कार्यालय परिसरमा शनिबार आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भारतको बरौनीबाट लक गरी ल्याइएको ट्यांकरको ताल्चा खोल्दै सुरक्षात्मक लकिङ प्रणालीको सुुरुवात गरे । लकिङ सिस्टम नहुँदा यसअघि भारतबाट आयात हुने इन्धनको चुहावट हुँदै आएको थियो । चालकमाथि इन्धन चोरीको आरोपसमेत लाग्ने गरेको थियो ।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक भट्टराईले आधुनिक लक सिस्टम कुनै पनि हालतमा सफल हुने बताए । “यो सिष्टमले इन्धन चोरी पूर्णरुपमा नियन्त्रणमा आउँछ,” उनले भने । भट्टराईले लक सिस्टम लागू गर्ने विषयमा छलफल गर्दा यसअघि अवरोध भएको भन्दै आक्रोशसमेत व्यक्त गरे । प्रदेश कार्यालयले इन्डियन आयल कर्पोरेसनको सिलीगुडी र बरौनी डिपोबाट ट्यांकरमार्फत इन्धन आयात गर्दै आएको छ । सो क्रममा इन्धन चुहावट हुने गरेको थियो ।
सिक्युरिटी लकिङ सिस्टम लागू भएपछि भारतमा इन्धन लोड गर्ने ठाउँमै ट्यांकरहरूमा ताला लगाइने र नेपालस्थित आयल निगमको डिपोमै खोल्नेगरी व्यवस्थापन गरिएको छ । क्षेत्रीय डिपो विराटनगरका लागि ३ सय ५० ट्यांकरले इन्धन ओसार्ने गरेका छन् । निगमको प्रदेश कार्यालयले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्ने गरेको छ । प्रजिअ आचार्यले लकिङ सिष्टम लागू गर्नु आयल निगमका लागि निकै महत्वपूर्ण पक्ष भएको टिप्पणी गरे ।