राहत र उद्धारका लागि कर्णाली प्रदेश तयार «

राहत र उद्धारका लागि कर्णाली प्रदेश तयार

सुर्खेत-प्राकृतिक प्रकोपका घटनाहरूमा तत्काल उद्धार गर्न कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गरेको छ । मनसुन सक्रिय भएसँगै कर्णाली प्रदेशमा सम्भावित प्राकृतिक प्रकोप न्यूनीकरण गर्न, तत्काल राहत पुराउन र उद्धार गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक तयारी गरेको हो ।
प्रदेशका दशवटै जिल्लामा हुन सक्ने प्राकृतिक प्रकोपका घटनाहरूमा तत्काल ‘रेस्क्यू’ गर्न मन्त्रालयले एक टोली नै तयारी गरेको छ । विपत्तिको समाना गर्न प्रदेशभित्रका दशवटै जिल्ला प्रशासन कार्यालय र ७९ ओटा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन जानकारी गराइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्ला प्रहरी कार्यालयबाट वर्षातको नियमित तथ्याङ्क संकलन गरिरहेको छ । वर्षात शुरु भएकाले खोला, सडक र पहिरोको जोखिममा रहेका नागरिकहरूलाई विशेष सतर्कता अपनाउन समन्वयकारी भूमिका खेलिरहेको आचार्यले बताए । उनले उद्धार र राहत सामग्री पुराउन केन्द्र सरकारले नेपाली सेनाको हेलिकोप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको जानकारी दिए । प्रदेशमा तत्काल प्राकृतिक विपत्तिका घटना भए उद्धारमा खटिन सेनाका झण्डै दुई सय, नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका १५० जनाको छुट्टै टोली तयारी अवस्थामा रहेको उनले बताए । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति छ । यसको कार्यकारी संयोजक भने आन्तिरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी छन् । कर्णाली प्रदेशमा डुवानभन्दा बाढी पहिरोको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । “सुरक्षाका तीन वटै निकायसँगै उद्धार र राहतमा खटिन रेडक्रस र स्वंयमसेवक दस्ताहरू जिल्ला–जिल्लामा तयारी अवस्थामा छन्न्,” सचिव अचार्यले भने, “विपत्तिमा सजकता अपनाउन प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले रणनीति बनाएर अघि बढेका छौं ।”
प्रदेशका १० वटै जिल्ला प्रहरी कार्यालयबाट दैनिक मौसमी अवस्थाको जानकारी संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी वीरबहादुर ओलीले बताए । “उद्धारकै लागि प्रदेश कार्यालय, गण र तालिम केन्द्रमा प्रहरीको रिजर्व टोली तयारी अवस्थामा छ,” ओलीले भने, “प्रत्येक जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा पनि २५ जनाको उद्धार टोली तयार गरेर घटना भएमा खटिन निर्देशन दिइसकेका छौं ।” विगतका घटनाहरूलाई अध्ययन गरेर वर्षातमा प्रकोपका घटना हुन नदिन विशेष रणनीति प्रहरीले अपनाएको छ ।
केन्द्र सरकारले कर्णाली प्रदेश सरकारलाई तत्काल उद्धार स्थलका लागि एक सय थान त्रिपाल पठाएको छ । आवश्यक थप राहत सामग्रीको जोहो जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीले गरेको छ ।
प्रदेश राजधानीदेखि जिल्ला, स्थानीय तहसम्म जोड्ने सडकहरू अवरुद्ध भएमा तत्काल सुचारु गर्न आवश्यक सामग्रीहरूको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकार भएको हुँदा यहाँका वासिन्दाले पनि विगत वर्षहरूमा भन्दा भन्दा यस वर्ष विपद्का घटनामा तत्कालै उद्धार तथा राहत हुने अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्