सप्तरीबाट ७७ हजार बढी विदेशिए «

सप्तरीबाट ७७ हजार बढी विदेशिए

१३३ जनाको रोजगारीकै क्रममा मृत्यु

राजविराज-सप्तरीबाट विगत ६ वर्षको अवधिमा ९९ हजार १३६ जनाले राहदानी बनाएकोमा ७७ हजार ५०४ जना वैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएका छन् । त्यसमध्ये हालसम्म १३३ जनाले रोजगारीकै क्रममा विदेशमै ज्यान गुमाएको एक तथ्यांकले जनाएको छ ।
सबल नेपालले सुरक्षित आप्रवासन परियोजना सामीअन्तर्गत बुधबार राजविराजमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पत्रकार र सरोकारवालासँगको छलफल कार्यक्रममा उक्त तथ्यांकले प्रस्तुत गरिएको हो । कार्यक्रममा सवल नेपालका कार्यक्रम संयोजक अशोककुमार साहले वर्षभरिको प्रतिवेदन सार्वजनिक गर्दै आव ०६८/६९ मा ७ हजार ३३२, ०६९/७० मा १२ हजार ६९९, ०७०/७१ मा १६ हजार ११४, ०७१/७२ मा १ हजार ४१०, ०७२/७३ मा १३ हजार ४१८ र ०७३/७४ मा १३ हजार ९३१ गरी ७७ हजार ५०४ जना सप्तरीका युवा वैदेशिक रोजगारका लागि मलेसिया, कतार, दुबई र कुबेतलगातका मुलुकमा पुगेका छन् ।
त्यस्तै ०६५/६६ मा १, ०६६/६७ मा ७, ०६७/६८ मा १६, ०६८/६९ मा १९, ०६९/७० मा ९, ०७०/७१ मा १९, ०७१/७२ मा २४, ०७२/७३ मा ११, ०७३/७४ मा १५ र ०७४/७५ मा १२ जना गरी १३३ जनाले रोजगारीकै क्रममा विदेशमा ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकलाई उद्धृत गर्दै संयोजक साहले जानकारी दिए । सप्तरीबाट रोजगारीका लागि विदेशीका अधिकांश युवा फर्निचर उद्योग, क्लिनर, इलेक्ट्रसियन, सेल्सम्यान, सुरक्षा गार्ड, कृषि फर्म र रेस्टुराँमा कार्यरत रहेको तथ्यांकले देखाएको छ । २० देखि ४४ उमेर समूहका दिनहुँ १५ देखि २० जनासम्म वैदेशिक रोजगारीका लागि अधिकांश कम शैक्षिक योग्यता भएकाको विदेश गएको जनाइएको छ । सबैभन्दा बढी ३३ हजार २५२ जना युवा रोजगारीका लागि मलेसिया गएका छन् । त्यस्तै १७ हजार ३९ कतार, १६ हजार ६८१ साउदी, २ हजार ७९७ यूएई, १ हजार ९४२ कुबेत, १७९ ओमान, १६४ बहराइन, १९६ जोर्डन र २ हजार ४५९ युवा अन्य मुलुकमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसैबीच सुरक्षित वैदेशिक रोजगार प्रक्रियाबारे जनस्तरमा चेतना फैलाइएपछि एजेन्टबाट ठगिने, विदेशमा अलपत्र पर्ने र न्यायका लागि भौतारिने लगायतका घटनामा कमी आएको प्रस्तुत तथ्यांकले देखाएको छ । कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा लाभदायक बनाउन तथा विदेश जाने व्यक्तिलाई ठगिनबाट जोगिन गाउँगाउँमा सचेतना अभियानमार्फत वैदेशिक रोजगारीका बारेमा जानकारी गराइएको छ ।
अभियानमा पीडित र पीडक बीच छलफल, स्थानीय प्रहरी प्रशासनसँग सहकार्य, रोजगारीका क्रममा ठगिएकाहरूको पीडकबाट रकम असुली, वैदेशिक रोजगारीको प्रक्रियाबारे जानकारी गराइएको छ । म्यानपावर कम्पनी र एजेन्टसँग छलफल, न्याय पाउने निकायबारे जानकारी, सामुदायिक अभिमुखीकरण, वैदेशिक रोजगारबारे पत्रपत्रिका र एफएममार्फत सन्देशमूलक सामग्री प्रसारण, समुदायमा तालिम प्राप्त जनशक्ति परिचालन, नवनिर्वाचित जनप्रनिधिसँग अन्तरक्रिया तथा वैदेशिक रोजगारीमा जानुभन्दा पूर्वसीप तालिम सिकाइ विदेश जाने युवा र विदेशबाट फर्केका युवालगायतका बीच अन्तरक्रिया अवलम्बन गरिएको सामी हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरीले बताए ।
उनले वैदेशिक रोजगारीको क्रममा समस्या देखिएका १ हजार २४७ वटा निवेदन उपर सक्रिय पहल गर्दा पीडकबाट ४२ लाख ६० हजार १९८ रुपैयाँ क्षतिपूर्ति भराई पीडितलाई उपलब्ध गराई सकिएको जानकारी दिए । गाउँगाउँमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याई त्यसको नियमित अनुगमन गराउँदा लक्षित वर्ग लाभान्वित र कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ थियो ।
एमके यादव

प्रतिक्रिया दिनुहोस्