घरजग्गा कारोबारमा उच्च वृद्धि

पछिल्लो समय थलिएको घरजग्गा कारोबार तंग्रिन थालेको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार पछिल्लो एक वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्या ९ प्रतिशतले बढेको छ । घरजग्गा कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि ३९.८ प्रतिशतले उक्लिएको छ ।राष्ट्र बैंकको आर्थिक गतिविधि ०७३-७४ प्रतिवेदनअनुसार पछिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्र पनि विस्तार भएको छ । प्रतिवेदनले पर्यटकस्तरीय होटल तथा लजको संख्या ७.९ प्रतिशतले बढेको तथा बेडको संख्या ६.८ प्रतिशतले बढेको जनाएको छ । साथै प्रतिवेदनले यस अवधिमा पर्यटक आगमन पनि २९.२ प्रतिशतले बढेको देखाएको छ ।
राष्ट्र बैंकले आर्थिक गतिविधि ०७३–७४ प्रतिवेदन काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी वरपरका ५७ जिल्लामा गरेको अध्ययनका आधारमा तथ्यांक विश्लेषण गरि निकाल्छ । देश संघीयतामा गइसकेको भए पनि अध्ययनका अनुसार पुँजी परिचालन भने अझै काठमाडौं केन्द्रित नै देखिन्छ ।
निक्षेप संकलन तथा कर्जा प्रवाहमा काठमाडौं क्षेत्रको अंश ठूलो रहेको प्रतिवेदनले औंल्याएको छ । निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.३ प्रतिशत छ भने कर्जा ५१.७ प्रतिशत छ । यद्यपि निक्षेप संकलन हिस्सा नबढे पनि काठमाडौंले अघिल्लो वर्ष ५३ प्रतिशत ऋण विस्तार गरेको थियो । यस्तै, बैंकहरुको सञ्चालनका लागि प्रमुख पुँजी आधार निक्षेपमा काठमाडौंको नै बढी योगदान छ । अध्ययन गरेका ८ प्रमुख सहरमध्ये काठमाडौंको मात्रै ६८ प्रतिशत योगदान रहेको केन्द्रीय बैंकले जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाले काठमाडौंबाट १५ खर्ब ५९ अर्ब रुपैयाँबराबरको निक्षेप पाएका छन् भने कुल २२ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपमा त्यसपछि पोखरा, विराटनगरको हिस्सा धेरै छ । त्यस्तै, कर्जामा बढी प्रयोग हुने क्षेत्रमा पनि काठमाडौं अग्रस्थानमा छ ।
कुल १९ खर्ब ८१ अर्बमा काठमाडौंमा मात्रै ५४ प्रतिशत रकम कर्जाको रुपमा खपत भएको छ । कर्जामा पनि काठमाडौंपछि विराटनगरबाट बढी माग देखिएको छ । औद्योगिक क्षेत्रमा गएको कर्जा २१ प्रतिशतले बढेर ६ खर्ब ३७ अर्ब पुगेको छ ।
अध्ययन क्षेत्रमा कुल निक्षेप १८.२ प्रतिशतले बढ्दा ऋण विस्तार २२.८ प्रतिशतले भएको छ । निक्षेप संकलनभन्दा कर्जा विस्तार बढी भएका कारण कर्जा–निक्षेप अनुपात ८२.८ प्रतिशतबाट बढेर ८६.१ प्रतिशत पुगेको छ ।