नेप्सेका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बर्खास्त गरेको छ । सरकारले साउदसहित २०७४ साल भदौ १४ गतेपछि ओली सरकार गठन हुँदासम्मका नियुक्ति खारेज गर्ने निर्णय गरेपछि अर्थ मन्त्रालयले साउदको नियुक्ति खारेज गरेको हो ।
अर्थ मन्त्रालयले नेप्सेसँगै कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति खारेजीको पत्र काटेको हो । गत बुधबार बसेको मन्त्रीपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएपछिको समयमा गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेकाले सोही निर्णय बमोजिम साउदको नियुक्ति खारेज गरेको हो ।
अर्थले काटेको पत्र नेप्सेमा समेत पुगेको छ । यसअघिका सरकारले पनि पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेज गरेपछि खारेजीमा पर्नेहरूले अदालतबाट अन्तरिम आदेश लिएर आफ्नो जागिर बचाउने गरेको नजिर प्रसस्त छन् । अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसमा सरकारले गत असोज २३ गते साउदलाई चार वर्षका लागि नेप्सेको प्रमुखमा नियुक्त गरेको थियो । नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले १३ जना आवेदकममध्येबाट ज्योति विकास बैंकका तत्कालीन नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल इन्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको थियो ।