Logo

सहकारीको रकम हिनामिना गर्ने थुनामा

दमौली- दमौली बचत तथा ऋण सहकारीको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका पदाधिकारी र कर्मचारी पुर्पक्षका लागि थुनामा गएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको बुधबारको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका हुन् ।
सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतले संस्थाकी सदस्य दिपीका थापा र बजार प्रतिनिधी गीता रानाभाटलाई जनही १०/१० लाख धरौटी माग गरेकोमा धरौटी रकम राख्न नसकेपछि थापा र रानाभाट समेत कास्की कारागार चलान भएका छन् । सोही मुद्धाकै आरोपीहरु सहकारीका बजार प्रतिनिधिहरु अजुमा खातुन, रिना गुरुङ, इन्दिरा दरै र सुस्मिता बोटे जनही ५०/५० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।
व्यास–२ स्थित दमौली सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम संस्थाका अध्यक्ष प्रकाश भन्ने थमबहादुर बहिक समेतको मिलेमतोमा हिनामिना गरेको आरोपमा प्रहरीले उनीहरु विरुद्ध मुद्धा चलाएको थियो । संस्थाका अध्यक्ष प्रकाश भने हालसम्म पनि फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अन्य सहकारी संस्थाले भन्दा बढी ब्याजदर र सुविधा दिने लोभ देखाई सहकारीका पदाधिकारीले रकम हिनामिना गरेका थिए । प्रहरीका अनुसार उनीहरुले १४.७५ प्रतिशत व्याजदरको लोभ देखाई घर–घरमा गई दैनिक व्याजदरमा चल्ती तथा मुद्दती खाता खोल्न लगाई बचतकर्तालाई प्रलोभन पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्