व्यासको पुँजीगत खर्च २८ करोड

दमौली-व्यास नगरपालिकाले चालू आर्थिक वर्ष ०७४/७५ मा पुँजीगततर्फ २८ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
यो अवधिमा ५३ करोड ९५ लाख ४९ हजार १ सय रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा २८ करोड १८ लाख ४५ हजार ३ सय रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको हो । यस अवधिमा १ हजार २२५ योजनामा १ हजार १११ योजना सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
यस वर्ष प्रारम्भदेखि नै खानेपानीलाई प्राथमिकतामा राखिएकोमा ती योजनालाई प्राथमिकतामा राखी वडा पहुँच मार्गअन्तर्गत वडा नम्बर ८ को वडा कार्यालयसम्म, वडा नम्बर ८ कै पुलिमराङबाट आउने वडा पहुँच मार्ग खोलिएको छ । वडा नम्बर २, ४, ५, १० र ११ का वडा कार्यालय भवनलाई नयाँ तथा थप कार्य गरी पूर्णता दिने कार्यलाई तीव्रता दिइएको बताइएको छ ।
यस वर्ष लागत सहभागिताका १० वटा योजना सञ्चालनमा आई कालोपत्रे, नाला निर्माण, क्रियापुत्री भवन निर्माण भएका र हुने क्रममा रहेका छन् । आवास तथा भौतिक योजना र सहरी विकास मन्त्रालयअन्तर्गत व्यास–५ मानहुँकोटसम्म जाने मार्ग कालोपत्रे गर्न, पराशर क्षेत्रमा पराशर पार्क निर्माण गर्न एवं व्यास–१ करङकाठमा रहेको बसपार्क कालोपत्रे गर्ने कार्यका लागि क्रमशः १० करोड, ३ करोड ५० लाख र ४ करोडको टेण्डर भइसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका स्थापनाकालदेखि नै समस्या बनिरहेको बधस्थल व्यास–३ देउराली नगर बुल्दीखोला किनारामा निर्माण भइरहेको छ र फोहोर व्यवस्थापनका लागि यस वर्ष पहिलो पटक टेण्डर भई फोहोरबाट पनि आयआर्जनको शिलशिला प्रारम्भ भएको नगरपालिकाले जनाएको छ ।