फिदिमको बजेट ६४ करोड

फिदिमको बजेट ६४ करोड
फिदिममा रहेको फिदिम नगरपालिकाले आगामी आव ०७५/७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । परिणममुखीभन्दा पनि सबैको चित बुझाउने गरी बजेट तयार गरिएको छ । सबै वडामा कनिका छरेजस्तै बजेट छर्ने गरी बजेट ल्याइएको छ । आइतबार फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजत कार्यक्रममा नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् ।
फिदिम नगरपालिकाले आगामी एक वर्षका लागि ६३ करोड ९० लाख ३४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । कृषि, उद्योग, ऊर्जा, पर्यटन, ब्यापार र पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।
अधिल्लो वर्ष खर्च हुन नसकेको नगद मौज्दातमा ७ करोड छ । संघको वित्तीय समानीकरण अन्तर्गत १५ करोड २ लाख ६५ हजार रहेको कार्यक्रममा जानकरी दिइएको छ । त्यस्तै प्रदेश वित्तीय समानीकरणमा ३९ लाख ९३ हजार रहेको छ । उता बहुक्षेत्रीय पोषणमा १८ लाख ९० हजार रहेको छ भने सशर्त अनुदानतर्फ २८ करोड १३ लाख सार्वजनिक गरिएको छ । राजस्व बाँडफाडतर्फ ९ करोड ८५ हजार ८६ रुपैयाँ रहेको छ भने आन्तरिक आयतर्फको अनुमान ३ करोड ३० लाख रहेको छ ।
बजेटले कृषिलाई आधुनिकीकरण गर्दै परम्परागत खेती प्रणालीलाई ब्यावसायिक र नाफामूलक बनाउने योजना अघि सारेको छ । स्थानीय सम्भाब्य उत्पादनलाई विस्तार गर्न नगरपालिकाले सहयोग गर्ने कार्यक्रमम उल्लेख छ । फिदिम नगरपालिकाले जिल्लामा पहिलो पटक वृद्धवृद्धाका लागि स्वास्थ्य उपचारमा सहयोग गर्ने भएको छ । ८० वर्ष लागेका नागरिकका लागि उपचारमा वर्षमा एक पटक ५ हजार उपचार खर्च उपलब्ध गराउन लागेको हो । नगरपालिकाले अस्पतालले जारी गर्ने बिलका आधारमा त्यस्तो सेवा दिन लागेको हो ।
दिपक बोहोरा
भोजपुरको बजेट ३९ करोड
भोजपुर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि नीति कार्यक्रम तथा बजेट नगरसभामा पेस गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ३९ करोड ७१ लाख ९७ हजार २ सय बजेट पेस गरेको हो । आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम नगरपालिकाका मेयर कैलाशकुमार आलेले प्रस्तुत गरेका थिए भने आर्थिक विधेयक र अर्थिक ऐन नगरपालिकाका उपमेयर ममिता राईले प्रस्तुत गरेकी थिइन् ।
गरपालिकाद्वारा चार ऐन पारित
भोजपुर नगरपालिकाको दोस्रो नगरसभाबाट प्रशासकीय कार्यविधि ऐन २०७५, सहकारी ऐन २०७५, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ र स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।
अर्जुन बस्नेत