नेपालगन्जलाई आर्थिक राजधानी बनाउने घोषणा

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तेस्रो नगरसभामा उपमहानगरपालिकाले नीति तथा कार्यक्रमसहितको अनुमानित आय-व्यय प्रस्तुत गरेको हो ।
उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले आगामी आवमा एसियाली विकास बैंक, नगर विकास कोष र बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोडसमेत गरी कुल आय २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ रुपैयाँ हुने अनुमान गरिएको बताइन् । बजेटमा आर्थिक वर्ष ०७३-७४ मा आन्तरिक स्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजस्व असुल भई करिब ८५ प्रतिशत लक्ष्य हासिल भएको र चालू आर्थिक वर्षको वैशाखसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गरी आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने अनुमान गरिएको छ । आगामी आवको आन्तरिक स्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ ।
गत आव ७३-७४ मा व्ययतर्फ चालू खर्च २० करोड ३३ लाख ९२ हजार र पूँजीगत खर्च ३२ करोड ३४ लाख ६ हजार रहेको छ । चालू आर्थिक वर्षको हालसम्मको संशोधित खर्च चालूतर्फ ९० प्रतिशतभन्दा बढी र पुँजीगततर्फ ८० प्रतिशतभन्दा बढी खर्च हुने अनुमान छ ।
आगामी आवको ब्यय अनुमान चालू खर्चतर्पm सशर्त अनुदानसमेत गरी ५४ करोड ४ लाख ५० हजार र पुँजीगत खर्चतर्पm १ अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान गरिएको छ । पुँजीगत खर्चमा एकीकृत तथा क्षेत्रीय शहरी विकास आयोजनाको अनुदान र ऋण रकम करिब १ अर्ब ११ लाख रहेकोले चालू र पुँजीगत खर्चबीचको अनुपातमा भारी फरक देखिएको हो ।
कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा दातृ निकायबाट प्राप्त हुने ऋण रहेकाले राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
नेपालगन्ज नेपालको पर्यटकीय द्वारः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार भन्ने नारासहितको सार्वजनिक बजेट, नीति तथा कार्यक्रममा नेपालगन्जलाई प्रदेश नम्बर ५ को आर्थिक तथा औद्योगिक नगरीको रुपमा विकासको उत्कृष्ट नमुना सहर बनाउने लक्ष्य लिइएको छ ।
राजस्व संकलन, करको दर र दायरा निर्धारण गरिने योजनासहित आन्तरिक स्रोत अभिवृद्धिको कार्यक्रम अगाडि बढाइने नीति अवलम्बन गरिने वक्तव्यमा उल्लेख छ ।
यस्तै नगरप्रमुख डा. धवलशमशेर राणाले ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगरप्रमुख राणाले राजश्व एवं आन्तरिक स्रोत व्यवस्थापन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।
करको दायरा बढाई राजश्व संकलन वृद्धि, स्थानीय तहलाई निर्वाध रुपमा एकीकृत सम्पत्ति कर लिने व्यवस्थाको पहल, एकीकृत सम्पत्ति कर, घरबहाल कर, मनोरन्जन कर, विज्ञापन कर तथा सवारीसाधन कर संकलन वृद्धिलाई तिब्रता दिइने, सबै किसिमका उद्योग, व्यवसायलाई व्यवसाय करको दायरामा ल्याइने नीति अवलम्बन गरिने उल्लेख छ ।
नेपालगन्ज सहरलाई व्यवस्थित सहरको रूपमा विकसित गर्न र क्षेत्रीय हव एवं स्मार्ट सिटीका रूपमा विकास गर्दै चक्रपथ निर्माण प्रक्रिया अगाडि बढाइने, उपमहानगरपालिकाका सम्पूर्ण सडक पक्की गर्ने, विद्युत्, खानेपानी सरसफाई आदिजस्ता न्यूनतम सुविधा उपलब्ध गराउन विशेष पहल गरिने कुरासमेत प्राथमिकतामा राखिएको छ ।
त्रिवेणीमोडदेखि न्यूरोड जाने बाटोको पूर्व र पश्चिमतर्फ मेन नालाको दक्षिणतर्फ अन्डरग्राउन्ड पार्किङसहित सवै सुविधा सम्पन्न विशाल बजार सपिङ कम्प्लेक्सका लागि डीडीआर बढाइएको, सिटी हल निर्माणका लागि पहल गर्ने लक्ष्य राखिएको छ ।