आजबाट राजविराज विमानस्थलमा नियमित उडान हुने

सप्तरी-मुलुककै बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको राजविराज विमानस्थलमा आज(आइतबार)बाट नियमित उडान हुने भएको छ । यो सँगै सप्तरीवासीको वर्षौंदेखिको हवाई जहाज चढ्ने सपना पनि साकार हुने भएको छ ।
यसअघि नै श्रीएयरलाइन्सले राजविराज विमानस्थलबाट असार १० गतेदेखि नियमित उडान भर्ने जनाइसकेको छ । हाल साताको पाँच दिन यो विमानस्थलबाट काठमाडौं आवत जावतका लागि उडान हुनेछ ।
श्रीएयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले दिएको जानकारीअनुसार राजविराज विमानस्थलबाट साताको आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँचदिन उडान भर्ने तय भएको छ ।
२५ मिनेटको समयावधि रहने यस फ्लाइटको सस्तो भाडादर न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय तोकिएको बताउँदै उनले ५० सिट क्षमता रहेको जेट इन्जिनयुक्त सीआर २०० श्री एयरलाइन्सको जहाजले काठमाडौंदेखि राजविराज उडान भर्ने बताए ।
१ बजेर १५ मिनेटमा काठमाडौैंबाट राजविराज र राजविराजबाट दुई बजेर १० मिनेटमा काठमाडौंका लागि उडान हुने समय तोकिएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा सुरु गर्न निर्देशन दिए पनि टर्मिनल भवनको मर्मत गर्ने काममा ढिलाइ भएकाले असार १० गतेदेखि विमान उड्ने जनाइएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलमा १ हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण भएको छ । राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक–पटक सेवा बन्द हुँदै आएको थियो ।
अन्तिम पटक वि.स. ०६५ सालमा परीक्षणकालका लागि तारा एयरले केही दिन विमान सञ्चालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायुसेवा निगम साताको दुई पटक आइतबार र शुक्रबार काठमाडांै र एक पटक आइतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
–एमके यादव