Logo

वर्षौंपछि गाउँ झिलिमिली

४० किलोवाट क्षमताको वाचिम्ले लघुजलविद्युत् सञ्चालनमा आएसँगै टेम्केमैयुङ गाउँपालिकाका बस्तीहरू झिलिमिली भएका छन् । स्थानीय वाचिम्ले खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजनाले अन्नपूर्ण, छिनामखु, दिल्पा, नागिका बस्तीमा बिजुली बल्न थालेपछि स्थानीयवासी खुसी छन् ।
“वर्षौंदेखिको गाउँलेको उज्यालो बाल्ने सपना पूरा भयो । अँध्यारो हटेर गयो ।” अन्नपूर्णका लक्ष्मीप्रसाद अधिकारीले खुसी हुँदै भने, “गाउँका प्रत्येक बस्ती झिलिमिली हुँदा साह्रै खुसी लागेको छ । वर्षौंदेखिको अँध्यारोमा बस्ने दिन गए ।” बिजुली बल्न थालेपछि अहिले त्यहाँका बस्तीमा रौनक छाएको छ । बिजुली विस्तारसँगै विद्यालयको दैनिक कार्यसम्पादनमा सहज पुगेको शिक्षक डम्बर राईले बताए । कार्यालयको दैनिकजसो डकुमेन्टेसन, फाइलिङ, इन्टरनेट, कम्प्युटर कक्षा, ई–लर्निङ, प्रिन्टिङका काम गर्न सजिलो भएको राइले बताए । उक्त आयोजनाबाट हाल अन्नपूर्ण, छिनामखु, दिल्पा, नागिका करिब ३७४ घरधुरी लाभान्वित भएका छन् ।
विद्युत् सञ्चालनमा आएसँगै दैनिक रूपमा सञ्चालन हुने कामकाजमा सहज पुगेको छ । वैकल्पिक ऊर्जाको रूपमा सोलारले धान्दै आएको गाउँपालिकाको कार्यालय, अन्य सरकारी कार्यालय, विद्यालयका दैनिक कार्य सम्पादनमा सहज भएको वाचिम्ले लघुजलविद्युत् परियोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द मुकारुङ्ले बताए । उनले भने, “बिजुली बत्ती सञ्चालनमा आएपछि सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा प्रदान गर्न सजिलो भएको छ । सेवाग्राहीलाई पहिलेजस्तो सास्ती छैन ।”
करिब २ करोड ४२ लाखको लागतमा बनेको आयोजनाबाट क्रमिक रूपमा अन्य वडाका बस्तीसम्म बिजुली वितरण गरिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको क्षेत्रीय सेवा केन्द्र इलामका भोजपुर जिल्ला संयोजक राजेश विष्टले सुनाए । उनका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत ग्रामीण ऊर्जा कोषको ८७ लाख, टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णबाट ३३ लाख, स्थानीय उपभोक्ताको १५ लाख र जिल्ला समन्वय समिति भोजपुरको ६ लाख ८७ हजार रुपैयाँ अनुदान लागतको साझेदारीमा आयोजना निर्माण गरिएको हो ।
हाउजिङ एण्ड हाइड्रो सर्भिस प्रालि काठमाडौंद्वारा निर्माण गरिएको आयोजनाले गाउँपालिकाको कार्यालय रहेको अन्नपूर्णलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, कुटानी पिसानी मिललगायत इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्न सहज भएको गाउँपालिका उपप्रमुख इन्द्रावती राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्