नवनिर्मित बाह्रबिसे स्वास्थ्य केन्द्र हस्तान्तरण

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले बनाएको स्वास्थ्य केन्द्र हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्थित नवनिर्मित बाह्रबीसे प्राथमिक स्वास्थ्य सेवा केन्द्र हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा राजदूत टेपलेट्जले ७० वर्षभन्दा लामो समयदेखि अमेरिका र नेपालबीच आपसी रूपमा लाभदायी सम्बन्ध रहँदै आएको बताइन् । “२०७२ सालको भूकम्पले अकल्पनीय क्षति पुग्यो । परिवारहरू विस्थापित भए । विद्यालय भवनहरू ध्वस्त भए । स्वास्थ्य केन्द्रहरू क्षतिग्रस्त भए । यस्तो कठिन घडीमा सहयोगी हातको निकै ठूलो महत्व हुन्छ । विपद्को यस्तो घडीमा नेपाल सरकार र नेपाली जनताप्रतिको आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न अमेरिकी सरकार सक्षम भएकोमा हामीलाई गर्व लागेको छ,” उनले भनिन् ।
युएसएआईडीमार्फत् अमेरिकी जनताले उपलब्ध गराएको सहायताका कारण १८ लाख डलरको उक्त पुनर्निर्माण परियोजना सम्भव बनेको हो । परियोजनाअन्तर्गत दुई नयाँ भवन निर्माण गर्नुका साथै साबिकको एक भवनको जीर्णोद्धार गरिएको छ भने सबै भवनलाई पूर्ण रूपमा स्वास्थ्य मन्त्रालयका मापदण्ड बमोजिम सुविधा सम्पन्न बनाइएको छ । क्रिएटिभ बिल्डर्स कन्सर्न, लिमिटेडको करारअन्तर्गत उक्त परियोजनाको कार्यान्वयन युएस आर्मी कोर अफ इन्जिनियर्सले गरेको हो ।
बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्र २०७२ सालको भूकम्पपछि युएसआईडीको आर्थिक सहयोगमा पुनर्निर्मित हुने पहिलो स्वास्थ्य संस्था हो । बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रले ठूलो संख्याका बिरामीहरूलाई सेवा पु¥याउने हुँदा युएसएआईडी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त रूपमा सो केन्द्रको पुनर्निर्माणलाई उच्च प्राथमिकताका रूपमा पहिचान गरेका थिए । १५ शैय्याको बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रले खतरामा रहेका शिशु र जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिला तथा आमाहरू लगायत ग्रामीण भेगका एक लाख १२ हजार मानिसलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्दछ ।
२०७२ सालको भूकम्पयता अमेरिकी सरकारले भूकम्प प्रतिकार्य तथा पुनरुत्थानमा १९ करोड अमेरिकी डलर लगानी गरेको छ । युएसएआईडीले १५ हजारभन्दा बढी इन्जिनियर, निर्माण व्यवसायी, वास्तुशिल्पी, डकर्मी र सिकर्मीलाई भूकम्प प्रतिरोधी निर्माण विधिसम्बन्धी तालिम दिनुका साथै घरधनीहरूलाई सुरक्षाका आधुनिक मापदण्ड प्रयोग गरी १६ हजारभन्दा बढी घर पुनर्निर्माण गर्न सघाएको छ । त्यसका अतिरिक्त, दुई लाख २९ हजार ७५० भन्दा बढी भूकम्पपीडित व्यक्तिलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच दिलाउनका लागि युएसएआईडी अन्य छ स्वास्थ्य संरचनाको पुनर्निर्माणको प्रक्रियामा जुटेको छ ।