२०७५ लाई ‘नेपाल–भारत धार्मिक, साँस्कृतिक र पर्यटन प्रवद्र्धन’ वर्षका रूपमा मनाउने

सारथी श्रृजनशील समाज नेपालले २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रवद्र्धन’ वर्षका रूपमा मनाउने जानकारी दिएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा सारथी श्रृजनशील समाज नेपालले पत्रकार सम्मेलन गरेर २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रवद्र्धन’ वर्षका रूपमा मनाउने जानकारी गराएको हो ।
केन्द्रीय व्यवस्थापक तथा प्रवक्ता भीमकान्त पन्थीले प्रवद्र्धन वर्ष–२०७५ ले नेपाललाई विश्व आध्यात्मिक केन्द्र बनाउने दाबी गरे । उनले भने, “नेपाललाई विश्व गुरुत्वको मान्यता प्राप्त गराउनका लागि विश्व सभ्यताको उद्गमस्थल, संसारका समस्त सभ्यताहरूको पालक, श्रीपशुपतिनाथलगायत स्वयंम्भू, बुद्ध हुँदै सिद्धार्थ गौतम बुद्धसम्मको जन्मभूमि, तन्त्र, मन्त्र, यन्त्र, वेद, उपनिषद्, पुराण उद्गम भूमि नेपालको विश्वव्यापी प्रचार गर्न मद्दत गर्छ ।”
पन्थीले अघि थपे, “सामाजिक तथा आर्थिक विकासका लागि कृषि तथा पशुपालनमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि एक नगर, एक गौशालाको योजनाअनुरूप नेपालका ७ वटा प्रदेशमा विशाल गौशाालाहरूको निर्माण, कामधेनु गौवंश वृद्धि, अन्यान्य गौशालाहरूको निर्माण पशुवंश तथा वर्णशंकर बालीनाली निराकरण गरी पशुमा प्राकृतिक नश्ल सुधार र खेतीपातीमा प्राकृतिकता–प्राङ्गारिकता–जैविकताल्याई कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने हाम्रो लक्ष्य छ ।”
स्वास्थ्य क्षेत्रमा परिवर्तनको निमित्त आफूहरूले आयुर्वेद अनुसन्धान, जडीबुटी प्रशोधन तथा पञ्चगव्य प्रशोधन केन्द्र खोली आयुर्वेदिक औषधि निर्माण गर्ने लक्ष्य राखेको पनि उनले सुनाए । त्यस्तै उनले देशैभरि अत्याधुनिक गुरुकुल निर्माण गरी साँस्कृतिक शिक्षाको जर्गेना गर्ने पनि विश्वास दिलाए ।
कार्यक्रममा संस्थाको केन्द्रीय अध्यक्ष चक्रदेव जोशीले ७७ फिट अग्लो भगवान् शिव र श्रीकृष्णको चित्र अंकित विश्वकै अग्लो गौमाताको निर्माण गर्न लागिएका जानकारी गराए ।
उनले भने, “काठमाडौं क्षेत्रमा सञ्चालित गौशाला क्षेत्र–चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापमा नेपालका प्रधानमन्त्रीद्वारा हुने भूमिपुजन तथा शिलान्याससहित ७७ फिट अग्लो भगवान् शिव र श्रीकृष्णको चित्र अंकित विश्वकै अग्लो गौमाताको निर्माण गर्न जुटेका छौं ।”
अध्यक्ष्य जोशीले १० वर्षभित्रमा मौलिक धर्म संस्कृतिको पूर्ण सुदृढतासहित गौवंशको पूर्ण संरक्षण तथा कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा यथासम्भव आमूल परिवर्तन गरी कम्तीमा पनि २५ लाख युवालाई रोजगारको अवसर सिर्जना गर्ने आफूहरूको योजना रहेको बताए ।
यसै अन्तर्राष्ट्रिय अभियानअन्तर्गत यही असार ११ गतेदेखि २१ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३ पुछारीस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा श्रीमद्भागवत गौरक्षा एवं नेपाल–भारत धार्मिक तथा कृषि पर्यटन प्रदेश नम्बर ३ स्तरीय काभ्रेपलाञ्चोक धार्मिक महोत्सव–२०७५ सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।