वार्षिक करोडौं माछाका भुरा उत्पादन

मत्स्य विकास केन्द्र रुपन्देहीले वार्षिक करोडौं माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको छ । केन्द्रले माछाका भुरा उत्पादनमा वर्सेनि वृद्धि गर्दै लगेको छ । गत आर्थिक वर्ष ०७३/७४ मा ४ करोड २० लाख ह्याचलिङ (चामलका दानाभन्दा साना माछाका भुरा) उत्पादन गरी बिक्री वितरण गरेको केन्द्रले जनाएको छ ।
चालू आर्थिक वर्षको वैशाखसम्ममा ३ करोड ८० लाख माछाका ह्याचलिङ उत्पादन गरी बिक्रीसमेत गरिसकेको कार्यालय प्रमुख तथा वरिष्ठ मत्स्य विकास प्रमुख महेशचन्द्र गुप्ताले जानकारी दिए । चालू आर्थिक वर्षको अन्त्यसम्म ४ करोड २५ लाख ह्याचलिङ उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेका उनले बताए ।
कार्यालयले गत वर्ष ४ करोड २० लाख ह्याचलिङसँगै ३० लाख वटा फिंगर लिंग (डेढदेखि तीन महिनाका भुरा), फ्राई भुरा (१ इन्चका भुरा) १७ लाखवटा र खाने माछा २ टन २ क्विन्टल उत्पादन गरेको थियो । चालू वर्षमा ह्याचलिङ ४ करोड २५ लाख, फिंगर लिंग ३५ लाख, फ्राई भुरा १५ लाख वटा तथा खानेमाछा २ टन उत्पादन तथा बिक्री गर्ने लक्ष्य कार्यालयले राखेको छ । हालसम्म ह्याचलिङ ३ करोड ८० लाख, फिंगर लिंग २५ लाख वटा, फ्राईभुरा १४ लाख ५० हजार र खानेमाछा डेढ टन उत्पादन भई बिक्रीसमेत भइसकेको र बाँकी अवधीमा लक्ष्यभन्दा बढी उत्पादन र बिक्री हुने कार्यालय प्रमुख गुप्ताले बताए ।
गत आर्थिक वर्षमा भारतीय सीमावर्ती क्षेत्रमा पनि ह्याचलिङ १ लाख, फिंगरलिंग १ लाख र फ्राईभुरा ७ हजार वटा निर्यात भएको कार्यालयले जनाएको छ । सरकारी मात्र होइन निजी क्षेत्रबाट पनि उत्पादन र बिक्री हुने भएकाले रुपन्देही माछाको भुरा उत्पादनमा आत्मनिर्भर मात्र होइन अन्य जिल्ला र छिमेक भारतका सिमावर्ती क्षेत्रमा निर्यात गर्न सफल भएको छ । यो कार्यालयबाट उत्पादित माछाका भुरा उच्चगुणस्तरका हुने भएकाले सिराहा, धनुषा तथा कन्चनपुर, कैलालीसहित पहाडी जिल्लामा समेत बिक्री वितरण हुँदै आएको छ ।
कार्यालयले केही वर्ष अघिदेखि शुद्ध नस्लका माछा भुरा उत्पादन गरी त्यसमा पीट ट्याग (चिप्स) राखेर सरकारी र गैरसरकारी क्षेत्रका ह्याचरी नर्सरी सञ्चालकलाई अनुदानमा बिक्री वितरणसमेत गर्दै आएको छ । यो प्रविधिले माछाका एकै परिवारबीच क्रस गरी भुरा उत्पादन हुँदैन । यो प्रविधि चिप्स प्रयोग गरेको भुराको मूल्य एउटाको ४ सय ३० रुपैया भए पनि ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदा १ सय ३० रुपैयाँमा उपलब्ध हुने प्रमुख गुप्ताले बताए । हालसम्म चिप्स लगाएको ३६ सय ४५ माछा वितरण भइसकेका छन् ।
कार्यालयले कमन क्राफ, सिल्भर क्राफ, बिग हेड क्राफ, ग्रासक्राफ, नैनी, रहु भाकुर, टिलपिया, प्रजातिका माछाका भुरा उत्पादन र बिक्री गर्दै आएको छ ।