पर्यटकीयस्थलको रूपमा विकास हुँदै नम छु गुम्बा

घोराही उपमहानगरपालिका–१८ स्थित नम छु बौद्ध गुम्बा पर्यटकीयस्थलको रूपमा विकास हुदै गएको छ ।
उक्त गुम्बामा अहिले दैनिक ३५/४० जनासम्म मानिस घुम्न आउने गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले जानकारी दिए । गुम्बामा आउने जिल्लाबाट मात्रै नभई जिल्ला बाहिरबाट समेत आउने गरेका छन् । जिल्लाभन्दा बाहिरबाट बढी मानिस आउने गरेको अध्यक्ष रोकाले बताए । “अहिले बाहिरबाट आउनेको सहयोगले नै लामाहरूको खर्च चलेको छ,” रोकाले भने । बाहिरबाट आउनेहरूले गुम्बाका बारेमा सुनेर आएको बताउने गर्दछन् । अन्य दिनमा भन्दा पनि बिदाको दिनमा घुम्न तथा दर्शन गर्न आउनेको संख्या उल्लेख्य रहने गरेको छ । गुम्बा घोराही बजारबाट नजिकै छ । गुम्बाबाट घोराही बजारको मनोरम दृष्य हेर्नेका लागि पनि मानिस आउने गरेका छन् । नम छु गुम्बा घोराही बजारभन्दा केही अग्लो भूभागमा रहेको छ । त्यसैले घोराही बजारको विभिन्न रमणीय दृष्य सहज रूपमा देख्न सकिन्छ । उक्त स्थानमा २०६१ सालमा बौद्ध गुम्बाको विधिवत रूपमा उद्घाटन गरिएको थियो । गुम्बा साढे आठ कट्टा जग्गामा फैलिएको अध्यक्ष रोकाले बताए ।
खानेपानीको समस्या
गुम्बामा खानेपानीको समस्या रहेको व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष सतबहादुर रोकाका अनुसार खानेपानीको समस्या हुँदा पानी खुवाउनसमेत समस्या हुने गरेको छ । अन्य समयभन्दा पनि गर्मीको समयमा पानीको समस्या हुने गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रोकाले बताए । “गर्मीको समयमा ट्यांकरबाट ल्याएर ट्यांकीमा पानी खनाएर काम चलाउने गरेका छौं,” अध्यक्ष रोकाले भने । खानेपानीको मुहाननजिक नहँुदा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ ।
व्यक्तिगत लगानीमा भ्यूटावर
गुम्बामा व्यक्तिगत लगानीमा भ्यूटावर निर्माण सुरु गरिएको छ । पुन परिवारको लगानीमा मनदील भ्यूटावर निर्माण गर्न थालिएको हो । भ्यूटावर १७ मिटर लामो र साढे ५ तलाको हुनेछ । भ्यूटावर मनवहादुर पुन, श्रीमती दिमाया पुन र छोराहरू गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. वशन्त पुनले निर्माण गर्न लागेका हुन् । भ्यूटावर निर्माणका लागि ४० लाख खर्च हुने नरेन्द्र पुनले जानकारी दिए । “सानो भए पनि सामाजिक कार्य गर्न उद्देश्यले भ्यूटावर निर्माण गर्न थालेका हौं,” पुनले भने ।
–अमरराज आचार्य