खेतीयोग्य जमिनमा घरैघर «

खेतीयोग्य जमिनमा घरैघर

हुम्लाका अधिकांश खेतीयोग्य जमिनमा घर निर्माण हुने क्रम बढेकाले उब्जनीमा ह्रास आएको छ । खेतीयोग्य फाँटमा घर बनाउने चलन बढेसँगै उत्पादनमा गिरावट आएको हो । २० वर्षअघिसम्म समथर फाँटमा खेती गर्ने र भिरालो ठाउँमा घर बनाउने गरिएको भए पनि पछिल्लो समय त्यसमा परिवर्तन आएको छ । अहिले अधिकांश फाँट शहरमा परिवर्तन भइसकेका छन् ।
सिमिकोट गाउँपालिकाको अधिकांश खेतीयोग्य जमिनमा घर निर्माण गरिँदा हाल कृषि उपजका लागि खेतबारीको अभाव भएको छ । बजार क्षेत्रमा राम्रो उब्जनी हुने सबै जग्गा बिक्री भएर घर निर्माण भइसकेका छन् । बाँकी रहेका भिराला ठाउँमा मात्र खेतीपाती गर्ने गरिएको छ । त्यही बाँकी भिरपाखा पनि घडेरीका रूपमा बिक्री भइसकेको र केही वर्षमा घर निर्माण हुने क्रम जारी हुने अवस्था देखिएको छ । हाल देश संघीय संरचनामा गएपछि सिमिकोटको घरजग्गा किनवेच ठप्प रहे पनि अधिकांश खेतीयोग्य जमिन बिक्री भइसकेको र घना बस्ती भइसकेको छ ।
बिना योजना घर निर्माण गरिँदा झन् समस्या भएको छ । हाल सिमिकोट गाउँपालिकाले बजार क्षेत्रमा सडक निर्माण गर्दा यस्ता अव्यवस्थित घर भत्काउनुपर्ने भएसँगै खेतीयोग्य जमिनमा थप बस्ती विकास भएको छ । एक वर्षअघि आफ्नो घर अगाडि रहेको बारीमा प्रशस्त स्याउ बगैंचा भएको र बाँकी रहेको बारीमा तरकारी खेती गरेको भए पनि हाल आफूले होटेल निर्माण गरिरहेको स्थानीय प्रकाश रावतले बताए । सबै ठाउँमा घरबाहेक कुनै खाली ठाउँ देख्न नसकिने गरी भौतिक संरचना निर्माण भएपछि उकुसमुकुसको अवस्था आएको रावतले बताए ।
घना बस्ती विकास र जलवायु परिवर्तन भएपछि हुम्लामा तापक्रमसमेत बढेको छ । केही वर्षअघिसमम प्रसस्त हिउँपर्ने ठाउँहरूमा पनि पछिल्ला वर्षहरूमा थोरै मात्र हिउँ पर्ने गरेको स्थानीय बताउँछन् ।
सिमिकोट गाउँपालिका–६ मा मात्रै ६ सय १३ घर निर्माण भएका छन् । पछिल्लो २ वर्षभित्रै १ सय ७७ वटा नयाँ घर निर्माण भएको सिमिकोट गाउँपालिका–६ का वडाध्यक्ष जयचन्द्र रोकायाले बताए ।
हुम्लाका फाँटहरू सहरमा परिणत भएसँगै खाद्यान्न उत्पादनमा कमी आएको छ । अहिले जिल्लामा उत्पादित खाद्यान्नले धान्न छाडेको छ । जिल्ला कृषि विकास कार्यालयले विगतका वर्षमा साना सिँचाइका लागि अनुदान दिएको भए पनि यसको उपयोगिता कम मात्र भएको कृषकको भनाइ छ । अहिले किसानको समस्या बुझ्न र समस्या समाधानका लागि गाउँपालिकाअन्तर्गतको कृषि एकाइ गठन भए पनि त्यसले किसान लक्षित कार्यक्रम सञ्चालन गर्न सकेको छैन । त्यसैगरी विभिन्न गैरसरकारी संघ–संस्थाले पनि कृषिमा आधारित भएर काम गरिरहेका छन् । तर, गैरसरकारी संघसंस्थाको काम पनि प्रभावकारी नभएको किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्