च्याउ खेतीमा लागेपछि विदेश जाने मोह भंग «

च्याउ खेतीमा लागेपछि विदेश जाने मोह भंग

अधिकांश युवा कामको खोजीका लागि खाडिमुलुक जान भौतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाटै राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरूको विदेश जाने मोह पनि भंग भएको छ ।
गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडामा जमिन भाडामा लिई खेमराज जोशीले स्थानीय युवाहरूसँगको साझेदारीमा च्याउ खेती शुरु गरेका छन् । यस्तै गन्यापधुरा गाउँपालिका–२ वडालमा जमिन भाँडामा लिई हिरा भण्डारीले पनि स्थानीय युवासँगको साझेदारीमा च्याउ खेती सुरु गरेका छन् ।
च्याउ खेतीबाट यी युवाले अहिले मासिक १ देखि २ लाख रूपैयाँसम्म आम्दानी गर्न थालेका छन् । विदेश जानका लागि राहदानी बनाई ठिक्क परेका यी युवा आजभोलि च्याउ खेतीबाट विदेशको भन्दा पनि बढी आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीको विस्तार गर्ने योजनामा रहेको उनीहरू बताउँछन् । दुवै स्थान गरी चार टनेलमा १ हजार ६ सय वलमा लगाइएको च्याउबाट दैनिक एक क्विन्टलभन्दा बढी च्याउ बिक्री गर्ने गरेका छन् । अहिले कन्ने च्याउको उत्पादन गरिरहेको र विस्तारै गोब्रो च्याउको पनि उत्पादन गर्ने योजना रहेको उनीहरू बताउँछन् । यहाँ उत्पादन हुने सम्पूर्ण च्याउ डडेल्धुरा सदरमुकामसहित अन्य बजारमा सहजै बिक्री हुने गरेको छ ।
योत उदाहरणमात्रै हो डडेल्धुराको भित्रि मधेसमा पनि च्याउ खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख दिलबहादुर विष्टले जानकारी दिए ।
युवाको मेहनतलाई देखेर आर्थिक तथा प्राविधिक सहयोग गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए । यस्ता युवाका लागी गुरु योजना बनाई अगाडि बढ्ने मल्लको भनाइ छ ।
हरिश चन्द

प्रतिक्रिया दिनुहोस्