Logo

सीटीईभीटीले ३२ हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी अन्तरगत प्रदेश नम्बर १ मा अहिलेसम्म ३१ हजार ८ सय दक्ष जनशक्ति उत्पादन भइसकेको तथ्यांक सार्वजनिक भएको छ । विराटनगरमा शनिबार समपन्न नीजि प्राविधिक शिक्षालय महासंघ नेपाल १ नम्बर प्रदेशसमितिले गरेको प्रिन्सिपल कन्फ्रेन्स तथा अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । १ नम्बर प्रदेशका ३६ वटा प्राविधिक विद्यालयहरूले अहिले विभिन्न १ सय १६ वटा प्राविधिक कार्यक्रम संचालन गरिरहेका छन् ।
उत्पादित जनशक्तिमध्ये ७३ प्रतिशत स्वदेशमै विभिन्न रोजगारमा संलग्न रहेको बताइएको छ । देशभर भने ४ सय २९ वटा प्राविधिक विद्यालयहरूले सिटीइभीटीबाट सम्बन्धन लिएर अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम संचालन गरिरहेका छन । कार्यक्रममा सिटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले सीटीईभीटीले आफै सन्चालन गरेका ३९ वटा र १ सय ८५ वटा सामूदायिक विद्यालयमा पनि प्राविधिक शिक्षाको सुरुवात भइसकेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको हरेक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको स्थापनाका विषयमा पनि सीटीईभिटीले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । अब संघीयतामार्फत हरेक प्रदेश सरकारलाई आफनो प्रदेशको आवश्यकता अनुशारको प्राविधिक शिक्षालय स्थापनामा कुनै पनि किसिमको सहयोग गर्न सीटीईभिटीले समन्वय गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । सदस्य सचिव वाग्लेले नेपालको शिक्षामा सुकिला मुकिला जनशक्ति उत्पादन गर्ने तर श्रम गर्ने सीप भएका जनशक्ति उत्पादनतिर ध्यान नगएको बताए । उहाँले देशको उन्नति र समृद्धि ल्याउनका लागि श्रम शोषणको अन्त्य हुनुपर्ने र प्राविधिक जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताए । कार्यकक्रममा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्राविधिक शिक्षालयहरूको सहयोगमा दक्ष जनशक्तिको उत्पादन गर्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरेले राज्यले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने भएको भन्दै नीजि प्राविधिक शिक्षालयको भूमिका बढेको बताए । उहाँले देशमा रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण भएको बताउँदै विदेशीने अवस्था अन्त्य गर्नु आवश्यक भएकोमा जोड दिए । निजी प्राविधिक शिक्षालय महासंघ सीटीईभीटीबाट स्वीकृति प्राप्त निजी कलेजहरूको संस्था हो ।

 

प्रतिक्रिया दिनुहोस्