‘स्याउको गाउँ’ बन्दै हेलम्बु «

‘स्याउको गाउँ’ बन्दै हेलम्बु

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन नाखोतेकी पेमाल्हामू शेर्पा जुटेकी छन् । दुई दशकअघिदेखि स्याउ खेती छाडेकी उनले फेरि भारतको हिमाञ्चल प्रदेशबाट पाँच सय विरुवा ल्याएर खेती सुरु गरेकी हुन् ।
पहिले गीतका भाकामा समेत गुञ्जने यहाँको स्याउको प्रख्याति रोग लागेसँगै सकियो । “पहिले के रोग लाग्यो भन्ने नै थाहा थिएन, त्यत्तिकै सबैले स्याउ खेती छाडे,” शेर्पाले भनिन्, “सिंगो गाउँभरि लगाइएको स्याउमा किरा लागेर सखाप भएपछि कसैले खेती गर्ने आँट गरेनन् ।” उनले स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती सुरु गरेको बताइन् । हेलम्बु गाउँपालिका–१ स्थित शेर्पाको गाउँ नाखोतेमा मात्रै स्याउका १४ हजार विरुवा रोपिएका छन् ।
उनले मात्र होइन, अहिले फेरि हेलम्बुलाई स्याउको पहिचान दिलाउन गाउँवासी जुरुक्कै भएका छन् । गाउँवासीले लगाएको स्याउको रुखमा अहिले फूल खेल्न थालेपछि किसानहरू झनै उत्साहित भएका छन् । कुनै प्राविधिक सहयोग बिनै हेलम्बुवासीले फेरि स्याउका विरुवा लगाएका हुन् । “हेलम्बुलाई स्याउको पकेट क्षेत्रको रुपमा विकास गरी फेरि स्याउको पहिचानको रूपमा पुनस्र्थापित गर्ने अपेक्षासहित व्यावसायिक खेतीमा स्थानीय जुटेका छन्,” स्थानीय समाजसेवी जिमी लामा भन्छन्, “गाउँमा कृषि प्राविधिक नभएकाले रोग लागेर फेरि सखाप होला भन्ने डरमा किसान छन् ।” गाउँवासीले व्यावसायिकरुपमा स्याउ खेती सुरु गरेकाले उहाँहरूलाई हौस्याउन र थप सहयोगका लागि एउटा टोलमा एक कृषि प्राविधिकको जरुरी रहेको उनी बताउँछन् ।
नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमासमेत चर्चा कमाएको हेलम्बुको स्याउको पुरानो रूख अहिले अस्तित्व गुमाएर जिङरिङ्ग भएको देखिन्छ । पहिलेजस्तै फेरि हेलम्बुका बस्तीमा लटरम्मै स्याउ फलाउन र हेलम्बुलाई चिनाउन सवै गाउँमा स्याउका विरुवा रोपिएको हो । सरकारी निकायले कुनै प्रयास नगरेपछि स्थानीय आफैंले प्राविधिकसँग सहयोग लिएर स्याउ खेतीको सुरुवात गरेको सेर्माथानका किसान बताउँछन् । “हामी पहिलेको हेलम्बुलाई फेरि ब्युँताउन चाहन्छौं,” सेर्माथानका कर्मातोप्के लामाले भने, “प्राविधिक रुपमा सरकारी सहयोगको अपेक्षा राखेका छौं ।” कर्मातोप्केका अनुसार हेलम्बु मात्र होइन त्यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती सुरु गरिएको छ ।
गाउँवासीले आफ्नै विवेकमा फेरि स्याउ खेती सुरु गरेपछि सहर पसेका युवा गाउँ फर्कन थालेका छन् । व्यक्तिगत र सामूहिक प्रयासमा हेलम्बुवासीले स्याउ खेती लगाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अर्काे लक्ष्य छ । २०४१ सालमा हेलम्बुमा आइ शिक्षण पेसामा रहेका पूर्ण गौतम पहिले पनि यहाँका बोटबाट आफैंले स्याउ टिपेर खाएको स्मरण गर्छन् । “स्याउकै कारण वातावरण पनि निकै रमाइलो थियो,” उनले भने, “स्याउ फलेकै कारण दुई-तीन दिन पैदल गरेर भए पनि अन्य जिलबाट यहाँ घुम्न आउनेहरू प्रसस्तै हुन्थे ।” उनले पहिले सडक नभएकाले उत्पादित स्याउले बजार नपाएको र अहिले भने यो गाउँ सुगम भएकाले पहिलेको तुलनामा निकै सहज हुने उनले बताए ।
बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ गाईवस्तुलाई खुवाउने गरेको शिक्षक गौतमले सुनाए । “अहिले त उच्च हिमाली गाउँसम्म सडक पुगेका छन्,” उनले भने, “पसिनाको मूल्य राम्रैसँग आउँछ, बजार फराकिलो भएको छ ।” उनी हेलम्बुका युवालाई पहिलेको पहिचान र अवस्थाबारे जानकारी दिँदै व्यवसायिक स्याउ खेतीमा लाग्न हौस्याइरहेका छन् ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्