निगमको वाइडबडी जापान र कोरिया उडाउने प्रक्रिया सुरु «

निगमको वाइडबडी जापान र कोरिया उडाउने प्रक्रिया सुरु

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले खरिद गर्ने वाइडबडी जहाज दक्षिण कोरियाको सोल र जापानको ओशाकामा उडान गर्न प्रक्रिया अगाडि बढाएको छ । निगमले खरिद गर्ने ३३०–२०० सिरिजको वाइडबडी जहाज जेठसम्ममा ल्याइसक्ने योजना छ । निगमले पहिलो चरणमा उक्त दुई गन्तव्यमा उडान गर्नका लागि सम्बन्धित मुलुकसँग अनुमति लिने प्रक्रिया अगाडि बढाएको छ ।
कोरियाको सोल विमानस्थल कार्यालयले उडानका लागि स्वीकृति दिइसकेको छ भने जापानको ओशाकाको लागि पत्र पठाइएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । “पहिलो उडान नै कोरियाको सोल र जापानको ओशाकामा गर्ने तयारी थालेका छौं,” कंसाकारले भने ।
कोरियाको सोल विमानस्थलले स्विकृति दिए पनि त्यहाँको उड्डयन मन्त्रालयको स्वीकृति भने आउन बाँकी छ । जापानको ओशाकाको लागि भने पत्र पठाइए पनि सबै प्रक्रिया पूरा गर्न भन्दै पत्र पठाएको छ । जसअनुसार अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले नै उक्त विमानस्थलमा पत्र पठाउने तयारी गरिरहेको छ । मन्त्रालयले भने निगमलाई ओशाकामाभन्दा नागोया विमानस्थलमा उडान गर्न सुझाव दिएको छ ।
दक्षिण कोरियामा कामदार भिसामा गएका झन्डै ४० हजार नेपालीहरू रहेका छन् भने शैक्षिक भिसामा पनि वार्षिक १ हजारका दरले कोरिया जाने गरेका छन् । यस्तै, व्यावसायिक भिसामा कोरिया जाने पनि सयौंको संख्यामा हुने गरेको बताइएको छ । यस्तै, जापानमा हाल ८० हजारभन्दा बढी विद्यार्थी भिसामा नेपालीहरू गइसकेका छन् । वार्षिक ३ हजार विद्यार्थी अध्ययनका लागि जापान जाने गरेको जनाइएको छ । कुक तथा अन्य कामदार भिसामा पनि वार्षिक सयौंको संख्यामा नेपालीहरू जापान पुग्ने गरेका छन् । नेपालबाट सिधा उडान हुन सकेमा विशेषगरी नेपालीहरू लाभान्वित हुनेछन् । जापानी पर्यटकसमेत यसबाट बढ्ने अपेक्षा गरिएको छ । हाल जापानसँग सातामा तीनवटा मात्रै उडान गर्नका लागि हवाई सम्झौता भइसकेको छ । जापानले पुनः उडान सुरु गरेपछि मात्रै हवाई सम्झौता पुनरावलोकन गर्ने बताउँदै आएको छ । निगमले सुरुमा कोरिया र जापानमा सातामा तीनवटा उडान गर्ने तयारी गरेको हो ।
निगमले दुईथान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात् २२ अर्ब ६३ करोड रूपैयाँमा खरिद गर्दैछ । जसको लागि बैना र किस्तावापतको ८ अर्ब रूपैयाँ पठाइसकेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रूपैयाँ ऋण लिएको छ । जसको लागि दुवै संस्थाले पहिलो चरणमा ४÷४ अर्ब रूपैयाँ निगमलाई दिइसकेका छन् । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार दक्षिण कोरियाको सोल र जापानको ओशाका उडान गर्ने तयारी थालेको हो । हाल नेपालबाट जापान तथा दक्षिण कोरिया जानका लागि ४० देखि ५० हजार रूपैयाँसम्म हवाई भाडा तिर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्