जनप्रतिनिधिद्वारा १५ बालबालिकाको अभिभावकत्व ग्रहण «

जनप्रतिनिधिद्वारा १५ बालबालिकाको अभिभावकत्व ग्रहण

सिन्धुली- सिन्धुली जिल्लाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूले बालबालिकालाई विद्यालयमा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् ।
बुबा आमा नभएका वा बुबा आमामध्ये कुनै एकजना नभएका तथा गरिब विपन्न परिवारका १५ जना बालबालिकालाई सिन्धुली सदरमुकाम माढीबजारमा रहेको गौमती नमुना माध्यमिक विद्यालयलमा भर्ना गर्दै पढाइको सम्पूर्ण दायित्व उनीहरूले लिएका हुन् ।
सिन्धुली क्षेत्र नं.१ प्रदेशसभा (क) का सांसद लेखनाथ दाहाल (राजन), प्रदेशसभा (ख) का सांसद प्रदिप कटुवाल, क्षेत्र नं.२ प्रदेशसभा (क) का सांसद विनोद खड्का, प्रदेशसभा (ख) का सांसद बुद्धिमान माझी (वसन्त) प्रदेशसभा समानुपातिक सांसद विजुला बर्माले एक एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
त्यस्तै कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री, कमलामाई नगरपालिका–६ का वडाध्यक्ष उज्जवल थापा, वडा नं.७ का वडाध्यक्ष कर्ण घिसिङ र जिल्ला शिक्षा अधिकारी केदारकुमार गिरिलगायत अन्य समाजसमेवी तथा बुद्धिजीवीहरूले पनि एक÷एकजना बालबालिकाको पढाइको जिम्मेवारी लिएका छन् ।
ती बालबालिकाहरुको कक्षा १ देखि कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक आर्थिक सहयोग, आवश्यक निगरानी, सरसल्लाहलगायतका पक्षलाई ध्यानमा राख्दै अभिभावकको जिम्मेवारी निर्वाह गर्ने सांसद तथा जनप्रतिनिधिहरूले बताएका छन् ।
बालबालिकालाई भर्ना गर्दै विद्यालय परिसरमा भएको कार्यक्रममा सिन्धुली क्षेत्र नं.२ प्रदेशसभा (क) का सांसद लेखनाथ दाहालले पढाइबाट वञ्चित रहेका बालबालिकाको आफूहरूले सम्पूर्ण पढाइ खर्चको दायित्व लिएको बताए ।
विद्यार्थीको भर्ना गरी जिम्मेवारी लिँदै क्षेत्र नं.२ प्रदेशसभा (क) का सांसद विनोद खड्काले जनप्रतिनिधिहरूको जिम्मा लगाइएको विद्यार्थीहरू नमुना विद्यार्थीका रूपमा आफ्नो पहिचान राख्न सफल हुने विश्वास व्यक्त गरे । भर्ना अभियान सञ्चालन हुँदामात्र विद्यार्थी विद्यालयमा भर्ना हुने तर केही समयपछि भर्ना गरिएको आधा विद्यार्थी विद्यालय बाहिर हुने समस्या हरेक विद्यालयमा रहेको भन्दै अब विद्यार्थीहरूलाई विद्यालयमा टिकाई राख्ने वातावरण विद्यालयहरूले बनाउनु पर्ने उनको भनाइ थियो ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले शिक्षाविना कुनै पनि पक्षको विकास नहुने भन्दै गुणस्तरीय शिक्षाका लागि अब जनप्रतिनिधि, विद्यालयका शिक्षक र विद्यार्थीका अभिभावक जिम्मेवार हुनपर्नेमा जोड दिए । नगरप्रमुख खत्रीले नगरभित्र पढाइ–लेखाइबाट वञ्चित अरु धेरै बालबालिकालाई विद्यालयमा ल्याउनका लागि विभिन्न अभियान थालिएको बताए ।
यसैबिच भर्ना भएका १५ बालबालिकालाई एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयले पुस्तक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर कटुवालले जानकारी दिए ।
कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्