तयारी अवस्थामा सेना-प्रहरीका चालक

यातायात व्यवसायीले सवारी हड्ताल गरे सरकारले वैकल्पिक व्यवस्थास्वरुप यातायात सुचारु गर्न सुरक्षा निकायका चालकलाई तयारी हालतमा राखेको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले मातहत युनिट अन्तर्गतका सबै रिजर्भ सवारी चालकहरूलाई निजी सवारी चलाउनेगरी तयारी हालतमा राखेको हो ।
यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि गृह मन्त्रालयले आम नागरिकलाई सास्ती हुन नदिन व्यवसायीका सवारी नै सेनाप्रहरीका चालक राखेर सञ्चालन गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।“सिन्डिकेटधारीको पक्षमा कसैले सवारी हड्ताल गरे सरकारले त्यस्ता सवारी नियन्त्रणमा लिएर आफै सञ्चालन गर्छ, अव कसैको सिन्डिकेट र कार्टेलिङ स्वीकार्य छैन” गृहका एक अधिकारीले भने, “त्यसैलाई मध्यनजर गरेर तीनवटै सुरक्षा निकायका सवारी चालकलाई वैकल्पिक व्यवस्था स्वरुप तयारी हालतमा राखिएको हो ।” सुरक्षा निकायका चालकलाई तयारी हालतमा राख्नकै लागि नेपाल प्रहरीले भीआइपीको घरमा राखिएका चालकलाई १ साताभित्र फिर्ता गर्न परिपत्र गरेको छ ।