अर्घाखाँचीकाे सम्भावना : कृषि, पशुपालन र पर्यटन

प्रदेश नम्बर ५ को पहाडि जिल्ला अर्घाखाँची । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँचीमा ६ वटा स्थानीय तहका ६१ वटा वडा छन् । जिल्ला नेपाल एकीकरण हुनु पूर्व चौबीसे राज्यको रूपमा रहेको अर्घा र खाँची दुई राज्यलाई मिलाई अर्घाखाँची जिल्लाको नामाकरण गरिएको किम्वदन्ती रहेको तथा अर्घा र खाँची दुई राज्यको सीमा विवाद टुंग्याई सन्धि गरेकाले यो जिल्लाको सदरमुकाम रहेको ठाउँको नाम सन्धिखर्क रहेको जनविश्वास रही आएको छ ।
अर्घाखाँचीको पूर्वमा पाल्पा, दक्षिणमा रूपन्देही र कपिलवस्तु, उत्तरमा गुल्मी, पश्चिममा प्यूठान र दाङ जिल्ला छन् । राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको कूल जनसंख्या १,९७,६३२ छ । जसमा पुरुष जनसंख्या ८६,२६६ र महिला जनसंख्या १,११,३६६ जना रहेको छ । जिल्लामा ४६, ८३५ घरधुरी रहेका छन् ।
संघीय संरचनाअनुसार अर्घाखाँचीमा ६ स्थानीय तह छन् । नेपालकै भौगोलिक रूपले सबैभन्दा ठूलो शीतगंगा नगरपालिका अर्घाखाँची मै पर्छ । शीतगंगासहित सन्धिखर्क, भूमिकास्थान नगरपालिका तथा पाणिनी, छत्रदेव र मालारानी गाउँपालिका छन् ।
जिल्लामा बाँगीखोला, मथुरा बेशीखोला, वाणगंगाखोला, दुर्गा खोला, सीतखोला, खाकाबेसी खोला, सिस्ने खोलालगायतका खोला तथा डमरुदह ठाडा, सेङलेङ दह, धनचौर तथा शान्तिवगैंचा लगायतका पर्यटकीय स्थल छन् । अर्घा भगवती मन्दिर अर्घा, पाणिनी तपोभूमी पणेना, सुपादेउराली मन्दिर नरपानी, छत्रमहाराजको मन्दिर छत्रगञ्ज, दुर्वाशेश्वर गुफा खिदिम, नत्नाञ्चल पर्वत नरपानी, जालकाँडाको लेक खन, मालारानीको मन्दिर खनदह, ऐतिहासिक पौवा बल्कोट, मथुरावेसी धार्मिक स्थल वाङ्ला, सिद्धेश्वर गुफा धातिवाङलगायतका धार्मिक स्थल छन् ।
अर्घाखाँची कृषिमा आधारित जनसंख्या ९३ प्रतिशत, खेतीयोग्य जमिन ४६,७३२ हेक्टर रहेको छ । कृषि, पर्यटन, उद्योग र वन वातावरणलाई व्यावसायिक गर्दै सम्भावना, साधनस्रोत र प्राथमिकताका आधारमा पकेट क्षेत्रको रूपमा जिल्लालाई विकास गर्न लागिएको छ । जिल्लामा कागती, सुन्तला, बाख्रा, लिचीलगायतका विभिन्न मिशन सञ्चालन हुँदै कुनै वडा÷क्षेत्रलाई नमूना क्षेत्रको रूपमा सञ्चालनमा ल्याई उत्पादनमा वृद्धि गर्न नमूना एकीकृत फार्म सञ्चालन गर्न लागिएको छ । जिल्ला खुल्ला दिशामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षर घोषणा भइसकेको छ ।
अर्घाखाँची धार्मिक पर्यटकीय स्थलले सम्भावना बोकेको जिल्ला हो । जिल्लामा पर्यटकीय स्थल भरिपूर्ण छन् । नेपालकै प्रसिद्ध मन्दिर सुपादेउरालीमा दर्शन गर्न नेपालसहित विदेशबाट पनि दर्शालुहरू आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा सुपादेउराली आएका पर्यटकहरू नरपानी आउने गर्दछन् । मनोरम वातावरण भएकाले थप व्यवस्थित बनाउन नरपानीमा नरपानी स्पोर्ट बनाउने हो भने अझै पर्यटक बढ्ने सम्भावना छ । सुपादेउराली आएका पर्यटक नरपानी हुँदै खाँचीकोटमा रहेको खाँची मन्दिर तथा दरबार सदरमुकाम सन्धिखर्क शान्ति बगैंचाको अवलोकन गर्न आउने व्यवस्था मिलाउनुपर्छ । १०८ पञ्चयान मन्दिर शान्ति बगैंचामै रहेको छ । जिल्लाको सबैभन्दा महत्व बोकेको धार्मिक स्थल सुपादेउरालीको प्रचारप्रसारलाई अझै तिव्र बनाउनुपर्ने देखिन्छ । यहाँको महत्व विश्वभर चिनाएमा देशसहित विदेशबाट आउने धार्मिक पर्यटक भित्रिँदा जिल्लालाई आर्थिक समृद्ध बन्नमा सहयोग पुग्नेछ ।
सुपादेउराली मन्दिरमा आउने भक्तजनलाई जिल्लाका अन्य धार्मिक, ऐतिहासिक महत्वका ठाउँ र रमणीयस्थलमा पु¥याउन सके मात्रै पनि जिल्लाले धेरै फाइदा लिन सक्छ ।
शान्तिबगैंचामा आएका पर्यटकसदरमुकाममा नै रहेको शिद्धेश्वर शिवालय मन्दिर भक्तिटोलामा सजिलै जान सक्छन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरमस्थल सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिंग राखि साउन महिनाभर दैनिक वैदिक विधिपूर्वक पूजाआजा गरिँदै आएको छ । साथै उक्त मन्दिरमा होमनको स्थापना पनि गरिएको छ ।
शिवालय मन्दिरमा आएका भक्तजनलाई ऐतिहासिक मन्दिर अर्घा भगवती मन्दिरमा लैजान सन्धिखर्कबाट आधा घण्टा लाग्ने गर्दछ । अर्घा भगवती मन्दिरमा दैनिक पूजा तथा दशैंको पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । अर्घा भगवतीमा भक्तजनहरू दर्शन गरिसकेपछि हंसपुरमा रहेको नरसिंह थान तथा हंसपुर र खनदहको सिमानामा रहेको घेर मालारानी मन्दिर पनि महत्व बोकेको मन्दिर हो । मालारानी गएका भक्तजनलाई नजिकै रहेको जालकाडाको लेक हुँदै बल्कोमा रहेको बल्कोट पौवा हुँदै सोही भेगमा रहेको छत्रदेवको मन्दिर छत्रगन्ज र फर्किंदा मथुरावेशी धार्मिक मथुरा वाङ्गला हुँदै दुर्गाफाँटमा रहेको प्रसिद्ध ७ तले गुफामा घुमाई जिल्लाको पणेना र पोखराथोकको सिमानामा रहेको पाणिनी तपोभूमीमा लैजान पहल गर्नुपर्छ ।
पाणिनी तपोभूमी ऋषिले तपस्या गरी व्याकरण लेखेको र व्याकरण जन्म भएको ठाउँ हो पाणिनी तपोभूमी अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय दृष्टिकोणले भरिपूर्ण हो । जिल्लाभर नै नेपालमै चर्चित महत्वपूर्ण धार्मिक स्थल छन् । यसरी सुपादेउराली आएका पर्यटकलाई यातायातको व्यवस्था गरी जिल्लाभरनै घुमाउन सवैको पहल गरेमा एक चर्चित जिल्लाको रूपमा अर्घाखाँची चिनिनेछ ।
अर्घाखाँची जिल्लाका सवै वडामा यातायातको सुविधा पुगेको छ । सालझण्डी सन्धिखर्क धोरपाटन अर्घाखाँची जिल्ला हुँदै बाग्लुङको धोरपाटन र मध्यपहाडि लोकमार्ग अर्घाखाँची –सुर्खेतसम्म गएको छ । धोरपाटको सडक ग्राभेल हुँदैछ । जिल्लाका टोल–टोलमा यातायातको सुविधा पुगेका छ ।
जनप्रतिनिधिहरूले धेरै वर्ष पहिलेदेखि नै नौमुरेलाई सञ्चालनमा ल्याउँछौ भने पनि नौमुरे जलविद्युत् परियोजना सञ्चालनमा आउन सकेको छैन । चुनावका बेला सबै राजनीतिक दलले नौमुरेलाई नारा बनाएका थिए । अर्घाखाँचीबाट राष्ट्रियसभा सदस्यमा चन्द्रबहादुर खड्का उज्जल, प्रतिनिधिसभा सदस्यमा टोपबहादुर रायमाझी, प्रदेशसभा सदस्यमा चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, निर्मला क्षेत्री र जाल्पा भुसाल निर्वाचित भएका छन् । शितगंगा नगरपालिकाभित्र नौमुरे पर्ने भएकाले नगरप्रमुख सूर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मीसहित जिल्लाभरका जनप्रतिनिधिले नौमुरे सञ्चालन गर्नमा जोड दिएमा सजिलै जिल्लालाई समृद्ध बनाउन सकिन्छ ।
जिल्लाकोे शितगंगामा समस्याको रूपमा रहेको यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत्, कृषि, पशुपालन, पर्यटन, उद्योग, रोजगारीलगायत अन्य महत्वपूर्ण समस्यालाई विशेष प्राथमिकता दिनुपर्छ । नगरपालिकाभित्र रहेका प्रमुख धार्मिक एवम् पर्यटकीय स्थलमध्ये वाणगंगा नदीको उत्पत्ति स्थल, ठाडाको डमरुदह, प्राचिन कालिका माईको मन्दिर, सितापुरमा रहेको अद्भुद शंख र सुपादेउराली मन्दिरलगायतका अन्य चर्चित पर्यटकीय स्थल रहेका छन् । यी केन्द्रहरू पर्यटकीय दृष्टिले चर्चित एव्म महत्वपूर्ण रहेका छन । यी पर्यटकीय स्थल गोरुसिङ्गे सन्धिखर्क सडकमार्गसँग जोडिएका, हरियाली वातावरणले मनोरम उत्तरतर्फ सितखोला र दक्षिणतर्फ वाणगंगा नदीको रमणीय दृश्यले घेरिएको सुन्दर, शान्त र पर्यटकीय सौन्दर्यताले वेष्ठित स्थानहरू भएकाले यसको पर्यटन गुरु योजना तयार गरी संरक्षणका लागी नगरपालिकाले योजनाबद्ध रूपमा अगाडि बढ्ने लक्ष्य नगरपालिकाले लिनुपर्छ ।
अर्घाखाँचीका ६ वटै स्थानीय तहलाई विकासको दृष्टिले समृृद्ध बनाउन कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेवालीलगायतलाई प्राथमिकता दिनुपर्छ । विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिँदै यस क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन एव्म प्रयोग गरी विकासका पूर्वाधारमा दिगो विकासको नीतिअनुरूप काम गर्ने वातावरण बनाउनुपर्छ ।
जिल्लाका बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न कृषि, पशुपालन, पर्यटन उद्योग स्थापनाका साथै शीपमूलक तालिम सञ्चालन गर्नुपर्छ । त्यसो हुन सकेमा रोजगारीका अवसर सिर्जना हुने मात्र नभई जिल्लाको चौतर्फी विकासमा सहयोग पुग्छ ।
–घनश्याम पौडेल