घरेलु उद्योगमा बढ्दो आकर्षण

प्यूठानमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीको दर दिनानुदिन बढ्दै गए पनि पछिल्लो समयमा घरेलु उद्योगतर्फ यहाँका स्थानीय अग्रसर हुँदै आएका छन् । घरेलु उद्योगबाट प्रतिफलसमेत राम्रो पाउन थालेपछि उनीहरू उद्योग व्यवसायतर्फ उन्नुख बन्दै गएका हुन् । उत्पादीत वस्तु स्थानीय बजारमै खपत हुँदा उद्योगको आकर्षण बढ्दै गएको यहाँका सरोकारवालाको भनाइ छ ।
दुई वर्षयता शारदा बेकरी उद्योग सञ्चालनमा ल्याएका झिमरुक गाउँपालिका–४ का बसन्तराज पोख्रेल उद्योगबाट राम्रो आम्दानी लिएको बताए । “बजार माग राम्रो छ” पोख्रेलले भने, “मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुन्छ ।” प्यूठानको मुख्य व्यापारिक केन्द्र प्यूठान नगरपालिका बिजुवारमा उनको उद्योग सञ्चालनमा छ । प्यूठान नगरपालिकासँगै झिमरुक गाउँपालिका मच्छिमा समेत पाउरोटी बिक्री हुँदै आएको उनले बताए । उनको उद्योगमा परिवारका ४ जनासँगै अन्य थप ५ जनाले रोजगारी पाएका छन् । दैनिक १४ देखि १७ हजारसम्मको पाउरोटी तथा खस्ता उत्पादन हँुदै आएको उनले बताए । रोजगारीको सिलसिलामा आठ वर्ष सम्म विदेश बिताएका उनी स्वदेश फर्किएर उद्योग सञ्चालनमा ल्याएको बताए । “मेहनत गरे स्वदेशमा पनि सम्भावना राम्रो छ,” उनले भने ।
डेढ करोड लगानीबाट सुरुवात भएको सरुमारानी गाउँपालिका बांगेशालमा सञ्चालित ह्याचरी उद्योगको लगानी अहिले ५ करोड पुगेको छ । लगानीसँगै उद्योगको उत्पादनमा समेत वृद्धि हुँदै आएको उद्योगका व्यवस्थापक वेन्जु जीसीको भनाइ छ । “उद्योगबाट मासिक ३६ हजार चल्ला उत्पादन हुँदै आएको छ,” उनले भने ।
१० हजार उत्पादन क्षमतावाट उद्योग संचालनमा ल्याइएको थियो । प्रतिचल्ला ६० देखि ७० रुपैयाँमा बिक्री हुँदै आएको उनले बताए । प्यूठानसँगै दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, धनगढी, सुर्खेतलगायत जिल्लामा डिलरमार्फत चल्ला बिक्री गरिँदै आएको उनले जानकारी दिए । “चल्ला उत्पादनका लागि १० हजार प्यारेन्ट जातका कुखुरा फार्ममा छन्,” जीसीले भने, “दैनिक २ हजारदेखि ३ हजार ५ सयसम्म अण्डा उत्पादन हुन्छ ।” १५ रोपनी जग्गा खरिद गरी सञ्चालन गरिएको उद्योगमा हाल भौतिक पूर्वाधारमा समेत सुधार तथा वृद्धि गरिएको छ । भौतिक पूर्वाधार विकाससँगै उद्योगको उत्पादनमा समेत थप वृद्धि ल्याउने सोच भएको जीसीको भनाइ छ ।
जिल्लामा कुल २ हजार ३ सय ७१ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय प्यूठानका नायव सुब्बा राजेन्द्र श्रेष्ठले बताए । “दर्ता भएका उद्योहरूमध्ये कृषिजन्य उद्योगमा आकर्षण बढ्दो छ,” नायब सुब्बा श्रेष्ठले भने, “पछिल्लो समय उद्योग दर्तासँगै धेरै उद्योगहरू सञ्चालनमा छन् ।” चालू आर्थिक वर्ष ०७४-०७५ को झन्डै नौ महिनाको अवधिमा ३ सय १ वटा उद्योगहरू दर्ता भइसकेको उनले जानकारि दिए ।
गत आर्थिक वर्ष ०७३-०७४ मा कुल २ सय ७८ वटा उद्योग दर्ता भएको तथ्यांक छ । जसमा कृषिजन्य १ सय ४८, सेवामूलक ८९, उत्पादनमूलक २७, र ४ वटा निर्माण उद्योग दर्ता भएको श्रेष्ठले जानकारी दिए ।
–प्रज्वल पहाडी