बहुउद्देश्यीय कृषि भण्डारण केन्द्र निर्माण हुने

पूर्वी पहाडका जिल्लालाई सेवा दिने उद्देश्यले धनकुटाको व्यापारिक केन्द्र हिलेमा ३ करोड १४ लाख रुपैयाँको लगानीमा बहुयद्देश्यीय कृषि भण्डारण केन्द्र निर्माण हुने भएको छ । निर्माण हुन लागेको उक्त केन्द्र उद्योग वाणिज्य संघ धनकुटा र अलैंची व्यवसायी महासंघ धनकुटा शाखाले सञ्चालनमा ल्याउनेछ । १० लाख केजी भण्डारण क्षमता भएको उक्त भण्डार केन्द्र सोमबार धनकुटाका प्रदेश सांसदहरु इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठले उद्घाटन गरेका छन् ।
निर्माणाधीन केन्द्रका लागि डेनमार्क सरकारद्वारा सञ्चालित उन्नति परियोजनाको १ करोड ६५ लाख र अलैंची व्यवसायी महासंघको १ करोड ४९ लाख रुपैयाँ लागत छ । उक्त भण्डारणले ताप्लेजुङ, भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए । विशेष गरेर पूर्वमा उत्पादित अलैंची भण्डारणलाई लक्षित गरेर निर्माण हुन लागेको उक्त केन्द्रमा प्रतिकेजी मासिक २ रुपैयाँ तिरेर किसानले मासुबाहेक सबै खालका कृषि उपज भण्डारण गर्न सक्ने अलैंची व्यवसायी महासंघ धनकुटा शाखाका अध्यक्ष इन्द्र तितुङले जानकारी दिए ।