चिचिलैमा बिकिसक्यो आँप «

चिचिलैमा बिकिसक्यो आँप

“लु आजदेखि नपाकुन्जेलसम्म तपार्इंको भयो, तर हाँगाचाहिँ नभाच्नू नि,” उदयपुरको चौदण्डीगढी–५ सुन्दरपुरकी आशावती चौधरी आइतबार दिउँसो घरनजिकैको भरखर चिचिलामात्रै लागेका आँपका रुखको छहारीमा बसेर पैसा गन्दै भनिरहेकी थिइन् । उनलाई पैसा दिने उदयपुरका व्यापारी शंकर साह, “दाना नपाकुन्जेलसम्म तपाईंले हेरिदिनू नि” भन्दै किरा मार्ने विषादी छिट्ने तयारी गर्दै थिए ।
धमाधम चिचिला लाग्दै गरेका आशावतीका २२ वटा आँपका रुख शंकरले २ लाख १५ हजार रुपैयाँमा किनेका हुन् । यसरी चिचिलैमा आँपको रुख दरिद गर्ने शंकर एक्ला व्यापारी भने होइनन् । यतिबेला सिरहा, सप्तरी र उदयपुर जिल्लाका दर्जनौं व्यापारीले दैनिकजसो रुखमा लागेको चिचिला हेरेकै भरमा आँप खरिद गर्ने गरेका छन् ।
“३ लाख ७५ हजार रुपैयाँ जुवाको दाउमा झैं राखियो,” शंकरले भने, “पोहोर साल त राम्रै कमाएको थिएँ, ।” चिचिला हेरेर फलको कल्पना र आशामा आँप खरिद गर्दा कुनैै साल बढी फाइदा र कुनै साल घाटा हुने उनले बताए । “चिचिला नलाग्दै सबै आँपका रुख व्यापारीले किनिसक्छन्,” उनले भने, “यतिबेला नकिने पछि बेच्नै पाइँदैन ।” उनले त्रियुगा नगरपालिका–९ रातमाटेमा पनि १० वटा आँपका रुख फुल्दाफुल्दै खरिद गरिसकेका छन् । शंकरले गतवर्ष यही समयमा २ लाख रुपैयाँमा खरिद गरेका १७ बोट आँपबाट १ लाख ३५ हजार रुपैयाँ कमाएका थिए ।
“फूलभित्र बस्ने किराका कारण आँप बिग्रिन्छ,” गाईघाट बजारका व्यापारी सन्जय साहुले भने, “त्यसैले दबाई छिटिरहेको छु ।” उनले १ लाख ४५ हजार रुपैयाँमा सप्तरीको दौलतपुरमा १२ वटा आँपका रुख खरिद गरेको बताउँदै भने, “यो आशाको खेती हो, कहिले पाक्छ र बेचौला भन्दै रुँघिरहनु पर्ने ?”
किराको प्रकोप र चैत वैशाखको हावाहुरी सकिएपछि मात्र नाफा र घाटाको अनुमान गर्न सकिने लहानका फलफूल व्यापारी दिनेश गुप्ताले बताए । “यतिमात्र हो र ?” उनले भने, “चिचिला लागेपछि आँपको बोटमै खटिया हालेर रातभर रुँघनुपर्छ ।” खरिद गरेदेखि आँप पाकेर बिक्री नहुन्जेलसम्म एकजनाले निरन्तर रेखदेख गरिरहनु पर्ने झण्झट रहेको बताउँदै उनले भने, “तर पाकेपछि भन्दा चिचिलैमा खरिद गर्दा बढी फाइदा हुने भएकाले व्यापारीले यतिबेलै आँप खरिद गर्ने गर्छन् ।”
सिरहा र सप्तरीको तुलनामा आँपको कम व्यावसायिक खेती हुने उदयपुरमा पनि व्यापारीले फुल्दाफुल्दै बोटमै आएर पैसा दिन थालेपछि व्यावसायिक आँपखेती गर्ने किसानको संख्या बढ्दै गएको छ । विगत १० वर्षको तुलनामा उदयपुरमा व्यावसायिक आँपखेती गर्ने कृषकको संख्या ५० प्रतिशतले बढेर गएको छ । हालका वर्षमा उदयपुरमा पनि वार्षिक २ करोडभन्दा बढीको आँपको कारोबार हुने कृषि विकास कार्यालयले जनाएको छ ।

 –गोपाल पोखरेल

प्रतिक्रिया दिनुहोस्