समृद्ध प्रदेशका लागि कृषिलाई प्राथमिकता

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रममा कृषि, उद्योग र पर्यटनलाई प्रमुख प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रम तर्जुमा तथा परिमार्जन सम्बन्धमा बुधबार वीरगन्जमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागी उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा बुद्धिजीविहरुले कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । उनीहरुले विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि नेतृत्वको कमजोरीले प्रदेश २ पछि परेको बताए ।
उद्योगी एवम् निम्बर समुहका अध्यक्ष जगदीश अग्रवालले संघीयतालाई अवसरको रुपमा लिँदै प्रतिस्पर्धी समाजको परिकल्पना गर्नुपर्ने बताए । उनले सुधारिएको उदारवादमा निजीक्षेत्रको मुख्य भूमिका रहने भन्दै युवा जनशक्ति पलायन हुनबाट रोक्न उद्योग, व्यापार र कृषिलाई प्राथमिकतामा राखेर सरकारले नीति बनाउनुपर्ने बताए । भारतसँगको सम्बन्ध राम्रो रहेसम्म व्यापारमा पनि वृद्धि हुने तर सम्बन्ध विग्रिएपछि व्यापारमा कमी आउने भएकाले आयातमुखी व्यापार भन्दा उत्पादनमा बढी जोड दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठले सडक, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वरोजगारमा जोड दिँदै दक्ष जनशक्ति उत्पादनमा लगानी गर्न सरकारलाई सुझाव दिए । उनले भन्सार कर, आयकर, मूल्य अभिवृद्धि कर, मालपोतलगायतका चारवटै कर केन्द्रले लिने गरेकाले स्थानीय सरकारले त्यसको कति अनुपातमा पाउने हो त्यसको नीति निर्माण गर्न आवश्यक रहेको बताए । “प्रविधिमा आधारित उद्योगको परिकल्पना र उपभोग्य वस्तु आयात गर्ने कि पूँजी बजार आयात गर्ने भन्ने विषयमा ठोस निर्णय गर्नुपर्छ,” उनले भने ।
नेपाल–भारत मैत्री संघका अध्यक्ष अशोक वैदले प्रदेश–२ को विकास केन्द्रसँगको सम्बन्धमा निर्भर रहने बताए । उनले प्रदेश–२ लाई भारत र चीनको पारवहन केन्द्रको रुपमा विकास गर्न सुझाव दिए । “विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गरेर आर्थिक विकास सकिन्छ,” उनले भने, “प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्छ ।”
नेपाल स्थल यातायात तथा पावहन समितिका सभापति अशोक टेमानीले विकासको इतिहास ३० वर्षको मात्रै रहेकाले प्रदेश नम्बर २ का जनतादेखि जनप्रतिनिधि र सरकारसम्ममा सामाजिक व्यवहारको कमी रहेकाले यसलाई सुधार गर्न सुझाव दिए । उनले कृषिका साथै व्यापार, पारवहन, उद्योग र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले स्वास्थ्य र शिक्षाको गुणस्तरमा जोड दिए । उनले सहश्राब्दी विकास लक्ष्य हासिल गर्ने १७ वटा सूचक रहेकाले लक्ष्य पूरा गर्ने गरि बजेट र नीति तथा कार्यक्रम बनाउन सुझाव दिए ।
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले केन्द्रीय बजेट विनियोजन गर्दा जनसंख्या, गरिबीको प्रतिशत र मानव विकास सूचकांकको आधारमा गरिनुपर्ने भन्दै क्षमताले भ्याएसम्म नागरिकका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री राउतले निजी क्षेत्रलाई उद्योगमा लगानी गर्न लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश २ को विकासका लागि शिक्षामा विशेष जोड दिइने र केन्द्रसँग पनि प्रदेशका लागि विशेष प्याकेजमै सहयोग गर्न आग्रह गरेको उनले जानकारी दिए ।
प्रदेश नम्बर २ का आर्थिक मामिला मन्त्री विजय यादवले विकासको महत्वपूर्ण आधार भनेकै शिक्षा, स्वास्थ्य, कृषि, उर्जा र उद्योग रहेकाले यसका लागि समानताको नीति आवश्यक रहेको बताए । उनले क्षमताअनुसार सौर्य उर्जालाई सार्वजनिक नीजि साझेदारीको अवधारणामा लिएर जाने प्रतिबद्धता व्यक्त गरे । जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना सञ्चालनको पहल गर्ने र शहीद परिवारलाई क्षमता अनुसारको सरकारी रोजगारीको व्यवस्था गर्ने आश्वासनसमेत मन्त्री यादवले दिए ।