चालू खर्चलाई नै केन्द्रित गरेर बजेट ल्याउने तयारी «

चालू खर्चलाई नै केन्द्रित गरेर बजेट ल्याउने तयारी

चालू खर्चलाई नै केन्द्रित गरेर प्रदेश नम्बर १ को सरकारले तीन महिनाका लागि बजेट ल्याउने तयारी गरेको छ । प्रदेशको पहिलो बजेट यही चैत २९ गते ल्याउने तयारी छ । प्रदेश सञ्चालनका लागि बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बताए । “सानो तथा प्रभावकारी बजेट ल्याउने तयारी भइरहेको छ,” आङबोले भने, “आगामी आर्थिक वर्षका लागि यो बजेट जग बन्नेछ ।”
प्रदेश सरकारले चैत १५ गते बजेट ल्याउने घोषणा गरेको थियो । तर, प्रदेश आर्थिक कार्यविधि विधेयक पारित हुन समय लागेकाले बजेट ल्याउने मिति दुई हप्तापछि धकेलिएको हो । प्रदेशको प्राथमिकताका निर्धारण गरेर आगामी आर्थिक वर्षको बजेटको जग तयार गर्ने गरी बजेट ल्याइने उनको भनाइ थियो । “सबै जिल्लामा प्रदेश सरकार छ भन्ने अनुभूति दिने गरी बजेट ल्याउँछौं,” आङ्बोले थपे, “थोरै–थोरै भए पनि सबै जिल्लालाई बजेट छुट्याइनेछ ।”
तराई–मधेसको डुबान, नदी नियन्त्रण, कटान समस्या समाधानका लागि पनि बजेट केन्द्रित हुने मन्त्री आङ्बोले बताए । “आगामी बजेटमार्फत प्रदेशको विकास कसरी हुन्छ भन्ने संकेत यो बजेटले गर्छ,” उनले भने, “यही बजेटमार्फत प्रदेशको विकासका रुपरेखा कोरिनेछ ।” उनका अनुसार आगामी बजेटमा कृषि, पर्यटन, ऊर्जासँगै भौतिक विकासलाई प्राथमिकतामा राखिनेछ ।
विकासमुखीभन्दा पनि प्रशासनिक खर्च सञ्चालनका लागि बजेट केन्द्रित हुने आङ्बोले बताए । आगामी आर्थिक वर्षका लागि असार १५ गतेभित्र सबै प्रदेशले पूर्ण बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । संघीय सरकारले भने जेठ १५ गते बजेट ल्याउनुपर्छ ।
बजेट सानो हुनुका साथै अनुदानमा आधारित हुने जनाइएको छ । केन्द्रबाट वित्तीय समनीकरण बजेटका रुपमा आएको १ अर्ब २ करोडकै हाराहारीमा बजेट आउँछ । यसबाहेक जिल्ला समन्वय समितिसँग भएको झण्डै २ अर्ब ५० करोड रुपैयाँ पनि प्रदेश मातहतमै ल्याउने तयारी भइरहेको छ । सांसद र मन्त्रीहरूको सेवा सुविधा वृद्धि नगरिने उनले स्पष्ट पारे । “अहिले सांसद र मन्त्रीको सेवा सुविधा थप्ने अवस्थामा छैनौं,” उनले भने, “केन्द्रले जे सिलिङ तोकिदिएको छ त्यसैअनुसार हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्