पारवाहन र गैरभन्सार अवरोध मुख्य समस्या

दक्षिण एसियाली क्षेत्रको विकासका चुनौतीहरूको समाधान खोज्ने र आर्थिक विकासलाई एकिकृत गर्ने उद्देश्यसहित दशौं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको मंगलबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका छन् । अर्थमन्त्री कार्कीले सार्क मुलुकहरूबीचको सहज व्यापारका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताए । “सार्क मुलुकबीच विकासका संभावना पर्याप्त छन्,” उनले भने, “सबै मुलुकको पारवाहन तथा गैरभन्सार समस्या मुख्य बाधक बनेको छ ।”
उनले गरिबी न्यूनीकरण गर्नु र आर्थिक रूपमा सबै मुलुकहरूको हिस्सा माथि उठाउन आवश्यक रहेको बताए । “अहिले देखिएका समस्याले गरिबी उन्मुलन तथा अन्तरदेशीय व्यापर प्रवद्र्धनमा रहेका चुनौतीहरूको समाधान गर्न सबै मुलुकहरू तयार हुनुपर्छ ।” विश्वमा सार्क मुलुकहरू पर्यटकीय हिसाबले समेत मध्यम मुलुक भए पनि आन्तरिक समस्याका कारण विकासमा फड्को मार्न नसकेको बताए । “सबै मुलुकहरूले द्रुत रूपमा आर्थिक समाजिक विकासमा जोड दिने योजना राखेका छन्, यी योजनाको समाधानका लागि अन्तरदेशीय सहकार्य आवश्यक छ,” उनले भने ।
कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले एक्काइसौं शताब्दीमा पनि दक्षिण एसियाली देश गरिवीको क्षेत्रका रूपमा रहनुपर्ने दयनीय अवस्था रहेको भन्दै यसबाट बाहिर आउन अन्तरदेशीय साझेदारी आवश्यक रहेको बताए । “सार्क राष्ट्रको व्यापार प्रवद्र्धनका लागि निर्माण गरिएको साफ्ठाको कार्यान्वयनमा सबै मुलुकले जोड दिएमा सार्क मुलुकबीचको केही समस्या न्यूनीकरण हुने देखिन्छ,” उनले भने । उनले सार्क मुलुकबीच देखिएको क्रसबोर्डर पारवाहन समस्या समाधान नभएसम्म अन्तरदेशीय व्यापारमा समस्या दोहोरिरहने बताए । भुुटानका अर्थमन्त्री ल्योन्पो लेकी दोर्जेले कमजोर पूर्वाधारका कारण दक्षिण एसियाली मुलुकबीचको आपेक्षित विकास हुन नसकेको बताए । “सहज कनेक्टिभिटी, पूर्वाधार विकास र ऊर्जाको प्रवद्र्धन गर्न सकेमा सार्क मुलुकको विकास सम्भव छ,” उनले भने, “यसका लागि निजी क्षेत्रसहितको व्यापार प्रवद्र्धनलाई पनि सम्बन्धित राष्ट्रले आर्थिक विकासको मुख्य एजेण्डा बनाउनु पर्छ ।” माल्दिभ्सका आर्थिक विकासमन्त्री अब्दुल लथिप महामदले दक्षिण एसिायाली मुलुकको विकासको सूचक पर्यटन प्रवद्र्धन रहेकोले यसमा सबै मुलुकले ध्यान दिनु पर्ने बताए । उनले भने, “दक्षिण एसिया पर्यटन प्रवद्र्धनको मुख्य हब हो, यसको सामूहिक प्रवद्र्धन गर्न सकेमा बिकास र समृद्धि सम्भव छ ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सार्क मुलुकबीचको व्यापारमा मानवनिर्मित समस्या बढेकोले अन्तरदेशीय व्यापार घटेको बताए । “दक्षिण एसियालीले मुलुकबीचको सहकार्यमा बहुआयामिक दृष्टिकोण आवश्यक छ,” उनले भने, “लगानीमैत्री र दीर्घकालिन समस्या समाधानमा जोड दिनु आवश्यक छ ।” उनले न्यून व्यापार लागत, व्यवसायमैत्री वातावरण, तथा पूर्वाधार निर्माण कनेक्टिीभिटी, ऊर्जाको अत्यधिक प्रयोग विषयमा सार्क मुलुकको सहकार्य आवश्यक रहेको बताए । साउथ एशिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भायरमेन्ट (सावती)का अध्यक्ष डा. पोषराज पाण्डेले दक्षिण एसियाली मुलुकमा देखिएका समस्याको पहिचान गरेर व्यापार प्रवद्र्धनमा गर्न सम्मेलन सहयोगी हुने बताए । सरकार र सावतीको संयुक्त आयोजनामा भएको सम्मेलनको मुख्य मुख्य एजेण्डा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका निम्ति आर्थिक एकीकरणलाई बलियो बनाउने रहेको छ ।