कञ्चनपुरमा कृषि र पर्यटनको सम्भावना «

कञ्चनपुरमा कृषि र पर्यटनको सम्भावना

प्रदेश नम्बर ७ को प्रमुख सहर कञ्चनपुरमा मुख्यतः कृषिका सम्भावना छ । थुप्रै सम्भावनाहरू हुँदाहँुदै पनि सोचे जस्तो विकास अहिलेसम्म हुन सकेको छैन । दक्षिण क्षेत्रमा उखु खेतीको धेरै ठूलो सम्भावना छ । त्यहाँ बसोबास गर्ने मानिसले उखु खेती गरेर नै वर्षभरि घर खर्च चलाई राखेका छन् । यदि सरकारले उखु खेती गर्ने किसानहरूलाई उचित स्रोत साधन उपलब्ध गराउन सक्यो भने थुप्रैले रोजगारी पाउने सम्भावना देखिन्छ । पछिल्लो समय कञ्चनपुरमा ७ प्रतिशतले उखु खेती बढिरहेको जिल्ला कृषि विकास कार्यालयले दाबी गरेको छ ।
यसैगरुी धान उत्पादनको उत्तिकै सम्भावना छ । यहाँको धानले पहाडी र हिमाली जिल्लामा उपभोग हुन्छ ।
यसैगरी यहाँका धार्मिक पर्यटकीय स्थलहरू धेरै छन् । ती पर्यटकीय स्थलहरूको प्रचार–प्रसारको अभावले ओझेलमा परेका छन् । भारतको सिमाना गड्डाचौकीबाट भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् । काठमाडौं, पोखरा जाने अधिकांश पर्यटकहरू कञ्चनपुर नाका प्रयोग गरेर जाने गरेको पाइएको छ । तर, काठमाडौँ पोखरा घुम्न जाने पर्यटकलाई एक चोटी कञ्चनपुर क्षेत्रमा रहेका रहेका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।
भीमदत्त नगरपालिकामा पर्ने शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पछिल्लो समय जिल्लामा पर्यटकहरूको गन्तव्य बन्दै गइरहेको छ । शुक्लाफाँटामा सयौंको संख्यामा देखिने बाहसिंगाको झुन्ड, घाँसे मैदान, सालको घना जंगल यहाँ आउने पर्यटकहरूको मुख्य आकर्षणका रूपमा छ । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर नमुना सहरका रूपमा नै प्रसिद्ध हुनेमा दुईमत छैन । यस क्षेत्रमा शुक्लाफाँटा मात्र नभई महाकाली पारिका गाउँ दोधरा र चाँदीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगे पुल पनि छ । कञ्चनपुर पुग्ने जो कोही पनि यो नेपालकोे नमुना पुल नहेरी फर्कंदैनन् । यस पुलको लम्बाइ १ हजार ४ सय ९५ मिटर छ । दोधरा चाँदनीसम्म पुग्ने अव्यवस्थित सडक, बाहिरबाट आउने पर्यटकहरूका लागि बसोबासका लागि उचित होटलहरू नभएको कारणले पर्यटकहरू त्यहाँसम्म पुग्न सकिरहेका छैनन् । दोधरा चाँदनीवासी यही पुल भएर महेन्द्रनगर आउने गरेका छन्् । पछिल्लो समय पुल जीर्ण बन्दै गएको छ । यसका निमित्त सरोकालवाला निकायले ध्यानदिनु आवश्यक छ ।
खासगरीे कञ्चनपुरको धार्मिक र पुरातात्विक महत्वका हिसाबले यहाँका धार्मिक पर्यटकीय स्थलहरू महत्वपूर्ण छन् । बेतकोट ताल र झिलीमिली ताल पनि महत्वपूर्ण पर्यटकीय स्थल बन्न सक्छन् । यस ताल अवलोकन गर्न तथा ताल सेरोफेरोमा बनभोज गर्न थुप्रै मानिस आउने गर्छन् । पछिल्लो समय म्युजिक भिडिओ सुटिङ गर्नेहरूको भीड लाग्ने गरेको छ । यस्तै भीमदत्तनगरपालिका–९ मटैनाको माथि चुरे पर्वतमा अवस्थित झिलीमिली ताल झिलीमिली नै छ ।
करिब पाँच विगाहाको उपत्यका जस्तो पहाडको चुचुरोमा रहेको यस ताल अवलोकन गर्न पर्यटकीय क्षेत्रको प्रचार भने गरिएको छैन । यस ठाउँसम्म पुग्नका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । पछिल्लो समय बेतकोट नगरपालिकामा अवस्थित चुरेको फेदमा शिवलिंगामा आन्तरिकय पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । यस ठाउँमा शिवजीको जस्तै आकार बनेका माटोका ढिस्काले पुरिएको अति नै सुन्दर दृश्य छ । यस क्षेत्रमा पिकनिक जानेहरूको घुइँचो लाग्ने गरेको छ । कञ्चनपुर आउने मानिसले यस लिङ्गा क्षेत्रमा एक चोटी पुगेकै हुन्छ । त्यस्तै कञ्चनपुरको चुरेको फेदमा भम्केनी धामका रूपमा रहेको सुदूरपश्चिमका नौवटै जिल्लाको संस्कृति समेटिने गरी विभिन्न कुण्ड, मन्दिरहरू समेटिएका छन् ।
अहिले यस क्षेत्रमा नेपाल आमाको ७५ फिटलामो मूर्ति निर्माण भइरहेको छ । यो मूर्तिर्को भित्रपट्टि नेपालका ऐतिहासिक वस्तुहरूको संग्रहालय राखिनेछ । यसपछि मम्केनीधामले आन्तरीक तथा बाह्य पर्यटकहरू भित्राउने ठूलो सम्भावना छ ।
सांस्कृतिक पर्यटनको दृष्टिले थारु जाति र संस्कृतिको यहाँ छुट्टै पहिचान र विशेषता रहेको छ । थारु जातिको बसोबास कञ्चनपुरको दक्षिणी भेगमा छ । यस जातिको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा र रीतिरिवाज छन् । सांस्कृतिक विविधतालाई नियाल्नका निम्ति कञ्चनपुर पर्यटकहरूका निम्ति एक आकर्षक गन्तव्य बन्न सक्छ । कञ्चनपुर जिल्लामा ७५ वटै जिल्लाका समुदायहरूको बसोबासले गर्ने गरेका छन् ।
ती समुदायको छुट्टाछुट्टै संस्कृतिको हिसाबले पनि यो ठाउँ पर्यटकहरूको गन्तव्य बन्न सक्छ । भारतमा पूर्णागिरीको मेला आउने दर्शनार्थीहरूले एकचोटी कञ्चनपुरमा रहेको सिद्धबाबा मन्दिरमा पुग्नै पर्ने परम्परा छ । त्यसैले भारतको पूर्णागिरी मेला दर्शन गरेर नेपालमा पनि आउँछन् । ठूलो संख्यामा श्रद्धालुहरू महेन्द्रनगरको सिंद्धबाबा र ब्रहमदेवको सिद्धबाबा दर्शन गर्छ । चैत र वैशाखमा महेन्द्रनगरमा पर्यटकहरूको घुइँचो नै लाग्ने गर्छ ।
महादेव अवस्थी 

 

प्रतिक्रिया दिनुहोस्