प्रहरीमा ४ एआईजीको दरबन्दी थप «

प्रहरीमा ४ एआईजीको दरबन्दी थप

सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपेको हो । दरबन्दी थपसँगै प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ । २०५० सालअघि प्रहरीमा एआईजीको संख्या २ मात्रै थियो ।
तर त्यसपछि भने रजनीतिक भागवण्डा र दलीय आस्थाका आधारमा निकट व्यक्तिलाई बढुवा गर्नकै लागि एआईजीसहित उपल्लो तहको दरवन्दी बढाउँदै लैजाने गलत संस्कारको विकास हुँदै आएको छ । सोमबारको दरवन्दी थप निर्णय पनि त्यसकै निरन्तरता भएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।
योसँगै प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय प्रहरी कार्यालय, विभाग र ७ प्रदेश प्रहरी प्रमुखसहित एआइजीले नेतृत्व गर्ने कार्यालयको संख्या १६ पुगेको छ ।
दरवन्दी थपिएसँगै सरकारले २०४४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवकुमार नेपाललाई एआइजी बढुवामा सिफारिस गरेको छ । सिफारिसमा परेका चारैजना अधिकारी प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँगै प्रहरीमा सेवा प्रवेश गरेका हुन् । गृह मन्त्रालयका अनुसार लोकसेवा आयोग र निर्वाचन आयोगको सहमतिमा एआइजीको दरवन्दी थप र बढुवा सिफरिस गरिएको हो ।
बढुवाका दावेदार डीआइजीद्वय गोविन्द निरौला र रोमेन्द्रसिंह देउजा भने बढुवामा परेनन् । उनीहरु समेत आइजीपी अर्यालकै ब्याजी हुन् । यसअघि महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा विभाग स्तरका कार्यालय गरी ७ स्थानमा मात्रै एआइजीको दरवन्दी कायम गरिएको थियो । तर मुलुक ७ प्रदेशको संघीय अवधारणामा गएपछि हरेक प्रदेशमा विशिष्ठ श्रेणीका प्रहरीलाई पठाउने निर्णयपछि संख्या थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्