सात प्रदेशमा सात पर्यटकीय नमुना गाउँ

काठमाडौं-नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक समृद्धिका लागि एक सय दिनमा एक सय १० काम गर्ने घोषणा गरेका छन् । सात वटा प्रदेशका ७ वटा गाउँलाई नमुना गाउँ बनाउन विस्तृत योजना १ सय दिनभित्र तयार पार्ने घोषणा पनि उनको छ ।
मन्त्री अधिकारीले प्रदेश नम्बर १ मा इलामको सन्दकपुर, २ को धनुषाधाम, ३ को इन्द्रसरोवर, ४ को पञ्चासे, ५ को देवदह, कर्णालीको रारा र प्रदेश नम्बर ७ को कैलालीस्थित भादा गाउँलाई नमुना गाउँ बनाउने घोषणा गरेका छन् ।
प्रदेश १ मा सन्दकपुर
पूर्वी नेपालको पर्यटन प्रवद्र्धनका लागि गतिलो सम्भावना बोकेको ईलाम जिल्लाको पर्यटकीय स्थल हो सन्दकपुर । भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित सन्दकपुर समुन्द्र सतहदेखि तीन हजार तीन सय छत्तीस मिटर उचाईमा रहेको छ । सन्दकपुरस्थित डाँडाबाट सगरमाथादेखि भुटानसम्मको पूर्वी उत्तरको हिम श्रृंखलाहरूसँगै सुर्योदय र सुर्यास्तको मनछुने दृश्यको अवलोकन गर्न सकिन्छ ।
इलाम सदरमुकामबाट करिब ४४ किलोमिटर उत्तरतर्फ रहेको सन्दकपुर पुग्न चारवाट नाका भएर जान सकिन्छ । इलामको मावु, माईपोखरी—जमुना, छिनटापु—गोरुवाते र सिमावर्ती नाका पशुपतिनगर—मानेभञ्ज्याङ हुँदै जान सकिन्छ ।
सन्दकपुर यात्राको क्रममा लालीगुराँस, दुर्लभ जन्तु रातो हाब्रेलगायतका बिभिन्न प्रजातिका वनस्पतिको पनि अवलोकन गर्न सकिन्छ । चैत, वैशाख, असोज, कात्तिक र मंसिरको समयमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । यस क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यवसाय कृषि, पशुपालन र पर्यटन व्यवसाय रहेको छ ।
प्रदेश २ मा धनुषाधाम
जनकपुरको धनुषाधाम मिथिलाको पवित्र भूमि हो । माता जानकीको वैवाहिक कार्यक्रमको वखत श्रीरामले उचालेको शिवको धनुष खण्डित भई तीन टुक्रा हुन पुग्दा त्यस मध्येको एक टुक्रा खसेको प्रसिद्ध भूमिको रूपमा परिचित धार्मिक स्थल हो यो ।
ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल धनुषाधाम प्रवद्र्धनको अभावका कारण सम्भावना बोकेको क्षेत्रको विकास भने हुन सकेको छैन । धनुषाधाम नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा पर्दछ । धनुषाधामलाई प्रर्वद्धन गर्न सकेमा भारतीय र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न सक्दछ ।
प्रदेश ३ मा इन्द्रसरोवर
मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिका कुलेखानी जलविद्युत् आयोजनाले चर्चित क्षेत्र हो । मकवानपुर जिल्लाका साविकको मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाउँ विकास समितिहरूलाई इन्द्रसरोवर गाउँपालिका बनाइएको हो ।
इन्द्रसरोवर गाउँपालिकाको कुल क्षेत्रफल ९७.३४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ललितपुर र काठमाडौं जिल्ला, पश्चिममा थाहा नगरपालिका र काठमाडौं जिल्ला, उत्तर तथा दक्षिणमा भीमफेदी गाउँपालिकासम्म फैलिएको छ । प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उक्त क्षेत्रलाई सरकारले नमुना गाउँ बनाउन लागेको हो । उक्त क्षेत्रमा अहिले पनि दैनिक सयांैको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणमा जाने गर्दछन् ।
प्रदेश ४ मा पञ्चासे
जैविक विविधता, ऐतिहासिक, धार्मिकस्थल र प्राकृतिक दृश्यावलोकनका लागि कास्की, स्याङ्जा र पर्वतको संगम क्षेत्रमा अवस्थित रमणीय पञ्चासेलाई ग्रामीण पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिँदैछ ।
पर्यटकीय नगरी पोखराबाट लुम्ले, काँढे, भदौरे देउरालीसम्म गाडीमा गएर त्यहाँबाट तीन-चार घण्टाको पैदलमा पञ्चासे पुगिन्छ । अथवा पोखरा-लिवाडे नागडाँडा (ढिकुरपोखरी रयाले पाउँदुर हँुदै भदौरे देउरालीसम्म अनि ३-४ घण्टाको पैदलमा यहाँ पुगिन्छ ।
लेकसाइड, फेवाताल, पामे, घाँटीछिनासम्म गाडीमा गएर सिदाने हुँदै पनि पञ्चासे पुगिन्छ । पञ्चासे जैविक विविधताको खानी हो । पञ्चासेमा ११३ किसिमका सुनगाभा पाइन्छन् । संसारमा कहीँ नपाइने तीनथरीका सुनगाभा पञ्चासेमा मात्रै पाइन्छ ।
पञ्चासेमा १२ प्रकारका वन, ५८९ जातिका फूल फुल्ने वनस्पति १५०, औषधिजन्य जडीबुटी ८, रेसादार वनस्पति ५६ र जंगली च्याउ ९८ उन्यू प्रकारका पाइन्छन् । दर्जन बढी खर्क रहेको यहाँ चराचुरुङ्गी र दुर्लभ कालो भालु सहितका वन्यजन्तु पाइन्छन् । स्वच्छ र सुन्दर पञ्चकोसी ताल पञ्चासेको अर्को रमणीयस्थल हो । तालको छेउमा वाराही मन्दिर छ । २०० मिटर लामो र ७५ मिटर चौडा यो तालमा पानीको मूल र निकास देखिँदैन । गुर्जादेखि गणेश हिमालसम्म देखिने पञ्चासेबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ र गणेश हिमाल लहरै देखिन्छन् ।
प्रदेश ५ मा देवदह
लुम्बिनीबाट ५४ किमि पूर्वमा देवदह पर्दछ । यो बुद्धको मामाघर अर्थात् उनको आमा मायादेवी र उनलाई हुर्काउने सानी आमा गौतमीको माइतीघर रहेको कथन छ । यसलाई कोलियनगर, व्याग्रपुर, देवदह वा रामग्राम पनि भन्छन् । बनारसका राजा राम र कपिलवस्तुको रानी प्रियाबाट कोलीय वंश सुरू भएकोले यस राज्यलाई कोलियनगर भनिएको थियो । देवदह एउटा एतिहासिक नगर हो ।
गौतम बुद्धको मृत्युपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको किम्बदन्ती रहेको छ । उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए । कोलीय राजाले उक्त अवशेष राखी स्तूप निर्माण गरेका थिए । पछि अशोकले ८४ हजार स्तूपहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको बताइन्छ ।
देवदह गौतम बुद्धको मावली स्थान हो । देवदह भन्नाले अहिले नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एक नगरपालिकाको नाम हो । सुन्दर हिमालहरू धौलागिरी र अन्नपूर्ण हिमशृंखलाको माथि महाभारत मुनि चुरे काखमा अवस्थित पवित्र भूमि लुम्बिनीदेखि करिब ३५ किमि उत्तरपूर्वमा देवदह पर्दछ ।
बुटवलदेखि महेन्द्र राजमार्ग हँुदै पूर्व १३ किमि गएपछि देवदह पुग्न सकिन्छ । उक्त क्षेत्रमा अनेकांै स्तम्भ र पुरातात्विक सामग्रीहरू प्रमाणका रूपमा आज पनि प्रत्यक्ष रूपमा देख्न पाइन्छ ।
कर्णाली प्रदेशमा राराताल
रारा ताल मुगु जिल्लामा पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो । ताल पुग्न जति गाह्रो छ, पुगेपछि पाइने स्वर्गीय आनन्दको कल्पनामात्रै पनि मिठो हुन्छ । ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराई रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ । हिँडेर एक फन्को मार्नमात्रै ५ घण्टा लाग्छ । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिन–छिनमा पानीको रङ परिवर्तन हुनु हो । यहाँ नेपालमा कतै नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ ।
प्रकृतिको उपहारको रूपमा सिर्जित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीहरूले समेत थप शोभा पु¥याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
दिनभर आफ्नो रूप फेरिरहने राराताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएको हुन्छ । रारातालको अर्को एक विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहीँ पनि नपाइने असला (हिमाली) माछा पाइन्छ । रारातालबाट करिब ३ घण्टाको पैदल यात्रापश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ, जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ ।
प्रदेश ७ मा कैलालीको भादागाउँ
कैलाली जिल्लामा पर्ने भादागाउँ पश्चिम नेपालको चर्चित क्षेत्र हो । थारु होमस्टे सञ्चालन भएयता ६ वर्षमा आन्तरिक र बाह्य गरी करिब ३७ हजार पर्यटकले अवलोकन गरिसकेको अनुमान गरिएको छ ।
यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरू नियमित पुग्ने गरेका छन् । थारुगाउँ भादामा १९ घर होमस्टे सञ्चालन गरिएको छ । धनगढी उपमहानगरपालिकामा पर्ने होमस्टे पुग्न सदरमुकामबाट १७ किलोमिटर पूर्व जानुपर्छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको राजीपुरबाट ७ किलोमिटर दक्षिणमा पर्छ ।
थारु संस्कृति, थारु भेषभुषा, खानपिनको प्रोत्साहन तथा प्रवद्र्धन गर्नका लागि होमस्टे सञ्चालन गरिएको छ । गाउँमा खिया नाच, झुम्रा नाच, मघौटा नाच, मुंग्रह्वा नाच, हुर्दङग्वा नाच, लठ्ठी बैठकी र गुरुवा नाच हुने गरेको छ । उक्त क्षेत्रमा सजना, मैना, धमार, बर्कीमार, लग्नी, कठ्मधैया, बिर्हनीलगायत रानाथारु, कठरिया थारुहरूको गीत प्रस्तुत हुने गरेको छ ।