Logo

दसौं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन काठमाडौंमा

दक्षिण एसियाली विकासका चुनौतीको समाधान खोज्ने र आर्थिक विकासलाई एकीकृत गर्ने उद्देश्यसहित मंगलबारदेखि राजधानीमा दशौं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन सुुरु हुँदै छ । राष्ट्रिय योजना अयोग, वाणिज्य मन्त्रालय तथा साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भायरमेन्ट (सावती)को आयोजनामा हुने सम्मेलनको मुख्य एजेन्डा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका निम्ति आर्थिक एकीकरणलाई बलियो बनाउनेछ ।
सम्मेलनमा सार्क राष्ट्रका वाणिज्यमन्त्रीहरू, योजनाविद्हरू, आथिक क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्ति सहभागी हुने बताइएको छ । सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सम्मेलन अवधिभर दक्षिण एसियाको आर्थिक विकाससँग सम्बन्धित करिब १८ वटा कार्यपत्रमाथि छलफल हुने बताए । “सार्क मुलुकभित्रका आर्थिक रुपान्तरण र एकता कायम गर्न सम्मेलन आयोजना गरिएको हो,” उनले भने, “यसले सार्क मुलुकका आर्थिक सूचकका साझा एजेण्डाको खोजी गर्न सघाउ पु¥याउने छ ।” उनले सम्मेलनमा सार्क मुलुकका २ सय प्रतिनिधि सहभागी हुने बताए ।
सम्मेलनमा अन्तरदेसिय ब्यापार सम्भाव्यताको खोजि, दक्षिण एसियामा दिगो र समावेशी विकास, मौसम परिवर्तनका विषयमा क्षेत्रिय सहकार्य, दक्षिण एसियामा विद्युतीय ब्यापार तत्परताको आँकलन, अन्तरक्षेत्रिय लगानी सम्भाव्यताको खोजी र प्रकोप जोखिम न्यूनीकरणमा क्षेत्रिय सहकार्यका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ । वाग्लेले यसबाट एक दशकमा आर्थिक विकासमा सार्क मुलुकले खेलेको भूमिका र आगामी दिनमा चाल्नुपर्ने कदमबारे पनि विशेष छलफल हुने जानकारी दिए ।
दक्षिण एसियाली विकासका चुनौतीको समाधान गर्न सार्क मुलुकको विचार तथा विमर्शको थालनी गर्दै सन् २००८ देखि दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन शुरु भएको हो । सम्मेलन हरेक वर्ष पालैपालो सार्क मुलुकमा हुने गर्दछ ।
सम्मेलनबारे जानकारी दिँदै सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले दक्षिण एसियामा विकासका एजेन्डाहरू खोजी गर्न सहज पुग्ने बताए । “सम्मेलनमा आर्थिक क्षेत्रमा काम गरेका उच्च पदस्थ अधिकारीको सहभागिता रहने छ,” उनले भने, “यसले दिगो र हामीले चाहेको आर्थिक सुधार तथा सरकारले लिएको दिगो विकासको लक्ष्य पुरा गर्न सघाउ पु¥याउने छ ।” सम्मेलनमा युरोपियन यूनियनमा आबद्ध मुलुकबाट पर्यवेक्षकहरूसमेत सहभागी हुने उनले जानकारी दिए ।
सम्मेलनमा उच्चपदस्थ अधिकारीहरू, मन्त्री, सांसद तथा राजदूतका निम्ति क्षेत्रीय सहकार्य र आर्थिक एकीकरणका विषयमा गहनतापूर्वक छलफल गर्न चारवटा विशेष पूर्णसत्रहरूको व्यवस्था गरिएको छ । क्षेत्रीय सहकार्य र एकीकरणका अगुवा डा. समन केलेगामाका योगदानको सम्मानार्थ एउटा विशेष सत्रसमेत सम्मेलनमा आयोजना गर्ने जनाइएको छ । राजधानीको हायात होटलमा हुने सम्मेलन तीन दिन चल्ने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्