कर्मचारी अभावले समस्या

हुम्ला-हुम्लाको जिल्ला प्रशासन कार्यालय दुईजना कर्मचारीकै भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र सहायक कम्प्युटर अपरेटरमात्र कार्यालयमा हुँदा काम गर्न समस्या भएको छ । कर्मचारी अभाव हुँदा दैनिक रूपमा सम्पन्न गरिनु पर्ने काममा समस्या हुँदै आएको हो । नागरिकतालगायत जिल्लाको शान्ति सुरक्षा र अन्य महत्वपूर्ण काम पनि प्रभावित भएको छ ।
प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नायब सुब्बा २ जना खरिदार ४ जना लेखापाल १ जना कम्प्युटर अपरेटर १ जना सहायक कम्प्युटर १ जना र ६ जना कार्यालय सहयोगी १७ जनाको दरबन्दी हुँदा पनि जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी र कम्प्युटर अपरेटर र कार्यालय सहयोगीमात्रै छन् । प्रशासन, लेखा, मुद्दा र नागरिकता फाँट गरी चार फाँट रहेको जिल्लाको प्रमुख प्रशासनिक निकायमा सबै फाँटमा कर्मचारी नहुँदा कार्यालय सहयोगीकै भरमा केही फाँट चलिरहेको छ । कर्मचारी नभए पनि काम गर्नका लागि कार्यालय सहयोगीको भरमा काम गर्नु परेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको पदपूर्ति भएको खबर पाएको भएता पनि हालसम्म हाजिर नभएको उनको भनाइ छ । हुम्ला जिल्लामा २१ जना कर्मचारीले स्वेच्छिक अवकास रोजेका कारण पनि जनशक्ति बाहिरिन खोज्नु र पहिले नै कम रहेको जनशक्तिबाट स्थानीय तहलाई व्यवस्थापन गर्नु परेकाले कर्मचारी अभाव भएको प्रजिअ शर्माको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा एक महिना अगाडि लोकसेवा आयोगबाट सिफारिस भई आएका २ जना नायब सुब्बा आफ्नो पायक पर्ने स्थानीय तहमा चैत ४ गते सरुवा भई गएकाले पनि जिल्ला प्रशासन कार्यालय हुम्लामा कर्मचारी अभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालयबाट हुने काम कर्मचारी अभाव हँुदा पनि नियमित रूपमा काम सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । दिनहुँ चीन पारवहन अनुमतिपत्र, नागरिकताको प्रमाणपत्र, मुद्दा र अन्य दैनिक कार्य गर्न कर्मचारी अभावकै कारणले राम्रोसँग सेवाग्राहीलाई सेवा दिन नसकेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ । कार्यालयमा भीड छ तर जतिसक्दो काम गर्ने प्रयास भ्याइनभ्याई गरिरहेको शर्माले बताए । हाल इलाका कर्यालय सर्केगाडमा हुने काम पनि जिल्लास्तरबाट नै गर्नुपर्ने भएकाले कामको बोझ थपिएको छ ।
७ वटा गाउँपालिका रहेको हुम्लामा ३ गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् भने बाँकी ४ वटा गाउँपालिकामा नायब सुब्बा र खरिदारले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । स्थानीयस्तरमा जनशक्ति कम भएको र बाहिरी जनशक्ति धेरै बस्न नमान्ने समस्या भएपछि कर्मचारी अभाव देखिएको हो । जिल्लाका ७ वटा गाउँपालिकामध्ये ३ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने ३ वटा गाउँपालिकामा नायब सुब्बा र १ गाउँपालिका खरिदारले प्रमुख प्रशासकीय अधिकृतको काम सञ्चालन गर्दै आएको पाइएको छ । कर्मचारी अभावका कारण गाउँपालिकाले यही असार मसान्तसम्म विकासे बजेटलगायत अन्य रकमको खर्च गर्नसमेत समस्या भइरहेको छ । गाउँमा अधिकाँश सेवाग्राहीले बेलैमा कामको प्रतिफल पाउन सक्ने अवस्था नरहेको अवस्था छ । कर्मचारी नै सरकारले पठाएको छैन, गाउँमा पर्ने काम एकै कर्मचारीको भरमा गर्नुपर्ने हुँदा सन्तोषजनक रूपमा गाउँपालिकाको कार्यलय सञ्चालन गर्न नसकिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिए । त्यसैगरी उत्तरी नाम्खा गाउँपालिका पनि १ जना कार्यकारीको भरमा मात्र काम सञ्चालन हुँदै आएको छ ।