च्यामाबाट दैनिक ३ सय लिटर दूध चरिकोटमा «

च्यामाबाट दैनिक ३ सय लिटर दूध चरिकोटमा

दोलखाको दक्षिणी गाउँ च्यामामा दैनिक ३ सय लिटर दूध संकलन गरेर चरिकोट पठाउन थालिएको छ । स्थानीय किसानबाट संकलित दूध दोलखा दुग्ध उद्योगले लिने गरेको छ । स्थानीयले किसानको दूध संकलनका लागि च्यामामा दूध संकलन केन्द्र नै खोलेका छन् ।
तामाकोसी गाउँपालिका–६ मा रहेको दूध संकलन केन्द्रमा दैनिक ७५ जना किसानले दूध ल्याउने गरेको दूध संकलन केन्द्रका अध्यक्ष चामप्रसाद आपागाईंले जानकारी दिए । किसानले ल्याएको दुध संकलनका लागि अहिले च्यामामा एक हजार लिटरको चिस्यान केन्द्रसमेत स्थापना गरिएको छ । चिस्यान केन्द्र (चिलिङ भ्याट) र दूधको फ्याट नाप्नका लागि मिल्क एनालाइजरसमेत राखिएको छ ।
संकलन केन्द्रका अध्यक्ष आपागाईंले दूध बोकेर आएका किसान कसैले पनि दूध लिएरै फर्कनु नपर्ने बताए । मिल्क एनालाइजरबाट मापन गरेर उसले ल्याएको दूध मापन गरी सोहीअनुसार भुक्तानी गर्ने गरेको उनले जानकारी दिए । स्वचालित प्रकारको मिल्क एनालाइजरले दूध र पानीको मात्र सजिलै पत्ता लगाउँछ ।
दूध चिस्यान केन्द्रका लागि ५ लाख लगानी भएको छ भने मिल्क एनालाइजरका लागि एक लाख खर्च भएको छ । किसानको दूध मापन गरी चिस्यान केन्द्रमा राखिन्छ । त्यसलाई दोलखा दुग्ध उद्योगले हरेक ३ दिनमा दूघ संकलन गरी चरिकोट ल्याउने गरेको छ ।
चरिकोटबाट ४० किलोमिटरको दूरीमा रहेको च्यामा पुग्न भीरकोटदेखि २० किलोमिटर कच्चीसडक जानुपर्छ । किसानले बिक्रीका लागि ल्याएको दूध फ्याटअनुसार प्रतिलिटर ४० रुपैयाँदेखि ५५ रुपैयाँ भुक्तानी दिने गरेको छ ।
दूध संकलनका लागि स्थानीय प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापन गरेको छ । अहिले दूध संकलन केन्द्र र घाँसको बीउ विजनसहित भेटेनरी पसलसमेत स्थापना भएको छ । बिहान दूध लिएर आउने किसानले आवश्यक औषधि, दाना, घाँसका बीउ किनेर लैजाने गरेका प्रगतिशील साकोसका अध्यक्ष बालकृष्ण शर्माले जानकारी दिए ।
दूध संकलन केन्द्र र पसल राख्न अहिले सहकारीका लागि छुट्टै भवनसमेत निर्माण गरिएको छ । मर्सिकोर र ग्रामीण उद्यम विकास केन्द्रको सहयोगमा भवन निर्माण र चिस्यान केन्द्र स्थापना भएको हो । सोमबार तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले चिस्यान केन्द्र र भवन सहकारीलाई हस्तान्तरण गरे । उनले गाउँपालिकाको योजनाअनुसार सहयोग गर्न साझेदार संस्थालाई आग्रह गरे ।
दूध गाउँमै बिक्री हुन थालेपछि किसानहरू व्यावसायिक पशुपालनमा समेत लागेका छन् । ग्रामीण उद्यम विकास केन्द्रका अध्यक्ष जगदीश शिवाकोटीले किसानको आयआर्जनका लागि हावा, च्यामा क्षेत्रमा २ पटक ७५ वटा उन्नत जातका गाईसमेत वितरण गरेको बताए ।
मर्सिकोरका कार्यक्रम व्यवस्थापक गणेश विष्टले तामाकोसी गाउँपालिका र मेलुङका सहकारीको सशक्तीकरण र किसानको आयआर्जनमा सहयोग गरेको बताए । दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले वित्तीय साक्षरतामार्फत सहकारीहरूको सशक्तीकरणमा सहयोग पुगेको जानकारी दिए ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्