वित्तीय साक्षरता र समावेशीकरणमा लघुवित्त

वित्तीय समावेशीकरणमा वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहे पनि अधिकांश यस्ता संस्था बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सहरी तथा अर्धसहरी क्षेत्रहरूमा सीमित रहेको पाइन्छ । वाणिज्य बैंकलगायत अन्य वित्तीय संस्थाहरूको संख्या तथा शाखाहरूको विस्तारमा हरेक वर्ष उल्लेखनीय रूपमा वृद्धि हुँदै आए तापनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसले बैंकिङ तथा वित्तीय सेवाहरू सहज रूपमा प्राप्त गर्न नसक्नु वित्तीय क्षेत्रको एउटा प्रमुख चुनौती हो । वित्तीय पहुँच क्षेत्रगत रूपमा विश्लेषण गर्दा प्रदेश ६ र ७ मा सन्तोषजनक छैन । अधिकांश बैंक तथा वित्तीय संस्थाहरू नेपालको सहरी र सुविधायुक्त क्षेत्रमा केन्द्रित रहेको हुँदा भौगोलिक रूपले पछाडि परेका ग्रामीण क्षेत्रका मानिसहरूले औपचारिक वित्तीय सेवाहरू सहज ढंगबाट प्राप्त गर्न सकिरहेका छैनन् । परिणामस्वरूप ग्रामीण क्षेत्रमा बस्ने अधिकांश मानिस साहू–महाजन आदिजस्ता अनौपचारिक वित्तीय स्रोतबाट महँगो ब्याजदरमा ऋण लिन बाध्य छन् । यस्तो परिवेशमा लघुवित्त कार्यक्रमलाई वित्तीय समावेशीकरणको एउटा उपयोगी औजारका रूपमा लिन सकिन्छ ।
वित्तीय साक्षरता र समावेशीकरणमा लघुवित्त प्रभावकारी वित्तीय उपकरण भएकाले यसको पहुँच ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक छ । वित्तीय साक्षरताले व्यवसायिक योजना निर्माण गर्न, पारिवारिक खर्च व्यवस्थापन गर्न र वित्तीय स्रोतको उच्चतम सदुपयोग गर्न सिकाउँछ । वित्तीय ज्ञान नभएका मानिसले आर्जित आम्दानी वा सम्पत्ति अनुत्पादक क्षेत्रहरूमा लगानी गर्न सक्ने, आवश्यक्ताभन्दा बढी ऋण लिने, बचत नगर्ने, लगानीका अवसरहरू गुमाउने आदि जस्ता कार्यहरू गर्न सक्छन् । यसका अतिरिक्त बैंक वा वित्तीय संस्थाहरूबाट ऋण कसरी प्राप्त गर्ने, बचत कसरी गर्ने, ऋणको सदुपयोग कसरी गर्ने, के–कस्ता क्षेत्रहरूमा लगानी गर्ने, आय–आर्जन कसरी गर्ने, ऋण भुक्तानी कसरी गर्ने, जोखिम न्यूूनीकरण कसरी गर्ने, बिमा किन गर्ने, रेमिट्यान्स रकमको व्यवस्थापन कसरी गर्ने, लघु व्यवसाय-उद्यम स्थापना कसरी गर्ने आदिजस्ता विषयहरूमा आधारभूत वित्तीय ज्ञान एवं सीप प्रदान गर्छ । लघुवित्त संस्थाले विभिन्न समूहमा आबद्घ मानिसहरूलाई उनीहरूमा रहेको सीमित वित्तीय साधन र स्रोतको उच्चतम उपयोग गर्न सक्ने क्षमताको विकास गराउँछ ।
लघुवित्त संस्थाको अतिरिक्त सबै बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनु जरुरी छ । वित्तीय साक्षरता अभियानमा लघुवित्तले समूहमा आबद्ध मानिसहरूलाई वित्तीय शिक्षा प्रदान गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि बिनाधितो लघु ऋण उपलब्ध गराउँछ । लघुवित्तले मानिसहरूमा बचत गर्ने बानीको विकास गर्ने, लघु उद्यम-व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने, लघु विप्रेषण, लघु बिमा, लघु पेन्सन आदिजस्ता वित्तीय सेवाहरू प्रदान गरेर विपन्न तथा न्यून आयवर्ग भएका मानिसहरूलाई वित्तीय सेवाको पहुँच वृद्घि गर्न अहम् भूमिका खेल्छ । लघुवित्तले वित्तीय तथा गैर–वित्तीय सेवाहरू सहज रूपमा प्रदान गरेर न्यून आर्थिक वर्गका मानिसहरूलाई आत्मनिर्भर बन्न तथा उनीहरूको सामाजिक–आर्थिक पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्या उँछ । वित्तीय समावेशीकरण एवं वित्तीय सेवाको पहुँच बढाउन हरेक बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यमा जोड दिनुपर्छ ।
भौतिक एवं वित्तीय पुर्वाधारको कमीले गर्दा वित्तीय समावेशीकरणमा प्रभावकारिता आउन सकेको छैन । बैंकिङ तथा वित्तीय क्षेत्रलाई सहज ढंगबाट सञ्चालन गर्नका लागि नभई नहुने न्यूनतम पूर्वाधारहरू जस्तै सडक वा यातायातको व्यवस्था, नियमित विद्युत् आपूर्ति, इन्टरनेटको व्यवस्था, साख सूचना प्रणाली, भुक्तानी व्यवस्था आदिजस्ता पूर्वाधारको आवश्यकता पर्छ । वित्तीय संस्थाहरूलाई सफल ढंगबाट आफ्ना सेवाहरू ग्रामीण क्षेत्रसम्म पुर्या उनका लागि राज्यले आवश्यक पूर्वाधारको व्यवस्थापन गर्नु जरुरी छ । अनि मात्र वित्तीय समावेशीकरणमा प्रभावकारिता ल्याउन सकिन्छ । पहाडी र हिमाली क्षेत्रहरूमा भौगोलिक विकटता र पातलो बस्ती भएका कारण ती स्थानमा वित्तीय सेवा पुर्या उन व्यावहारिक कठिनाइ भने पक्कै नभएको होइन । वित्तीय सेवाको पहुँच सबै वर्ग र समुदायका मानिससम्म पुर्या उनका लागि नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा समावेशी वित्तीय प्रणालीको खाँचो पर्छ । राज्यको एकल प्रयासबाट मात्र वित्तीय समावेशीकरण कार्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकिने भएकाले स्थानीय निकायहरूसँग हातेमालो गर्दै वित्तीय सेवाहरू ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक देखिन्छ ।
वित्तीय समावेशीकरण र गरिबी निवारण कार्यमा लघुवित्तको अहम् भूमिका रहे पनि पछिल्लो समयमा नेपालमा लघुवित्त व्यवसाय मुनाफामुखी बन्दै गएको आरोप छ । लघुवित्त संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धाले गर्दा यस क्षेत्रमा थुप्रै समस्या एवं चुनौतीहरूसमेत देखा परेको छ । विशेष गरेर लघुवित्त सेवा गाउँघरका दैलोसम्म पुग्न नसकेको, चर्काे ब्याजदर लिएको र नाफामुखीबन्दै गएको भन्ने आलोचना सुन्न पाइन्छ । कर्जामा दोहोरोपना, व्यावसायिक-सीपमूलक तालिममा जोड दिन नसकेको, लघु उद्यम-व्यवसाय स्थापना गर्ने कार्यमा प्रोत्साहन गर्न नसकेको, गरिब-सीमान्तकृत वर्गका मानिससम्म पुग्न नसकेको, वित्तीय शिक्षा वा चेतनाको जगाउने कार्यमा चासो नदिएको, लघुवित्तको दायरा फराकिलो बनाउन नसकेको, प्रभावकारी ढंगबाट लघुवित्तको नियमन हुन नसकेको, साख सूचना प्रणाली प्रभावकारी बन्न नसकेको आदिजस्ता प्रमुख समस्यालाई सम्बोधन गर्न सकेमा लघुवित्त क्षेत्रले उल्लेखनीय सफलता हासिल गर्न सक्नेछ ।
नवीनतम प्रविधिमा आधारित वित्तीय उपकरणको प्रयोग, वित्तीय साक्षरता कार्यक्रम, वित्तीय पहुँच विस्तार आदि जस्ता क्रियाकलापको माध्यमद्वारा स्थानीय तहका ७ सय ४४ वटै केन्द्रमा न्यूनतम एक बैंक वा वित्तीय संस्थाको विस्तार गर्ने कार्यमा राज्यले यथाशीघ्र ध्यान दिनुपर्छ । वित्तीय साक्षरता र वित्तीय समावेशीकरण कार्यलाई राज्यले राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्छ । बैंकिङ सेवा सुरुवात भएको आठ दशक पार भैसक्दा पनि अझै आधाभन्दा बढी मानिसमा औपचारिक वित्तीय सेवाको पहुँच नपुग्नु, अधिकांश बैंक तथा वित्तीय संस्थाहरू सहरी क्षेत्रहरूमा सीमित रहनु र विपन्न तथा सीमान्तकृत वर्गका मानिसहरूले वित्तीय सेवा सहज रूपले प्राप्त गर्न नसकेको अवस्थामा लघुवित्त कार्यक्रमले वित्तीय समावेशीकरण अभियानमा अहम् भूमिका निर्वाह गर्न सक्छ । राज्यको मूलधारबाट पछाडि परेका वर्ग वा समुदायका मानिसहरूलाई समेत वित्तीय सेवा उपभोग गर्ने वातावरण सिर्जना गरेर उनीहरूमा रहेका सम्भावित क्षमता एवं अवसरको अधिकतम उपयोग गर्नका लागि वित्तीय समावेशीकरण कार्यमा नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा लघुवित्त सेवा प्रभावकारी मानिन्छ ।
एकातिर सहर र सहरोन्मुख क्षेत्रहरूमा आवश्यकताभन्दा बढी वित्तीय संस्थाहरू केन्द्रित भएकै कारण यस्ता संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ, जसले थुप्रै समस्या र चुनौती निम्त्यिाइरहेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रदान गरिने ऋण तथा कर्जामा दोहोरोपन, निष्क्रिय कर्जाको मात्रा बढ्नु, ग्रामीण क्षेत्रमा उद्यमशीलताको विकास हुन नसक्नु, बैंकिङ क्षेत्रको दायरा पराकिलो बन्न नसक्नुजस्ता समस्या वित्तीय क्षेत्रमा पाइन्छ । भौगोलिक विकटता र आवश्यक पूर्वाधारको कमी, बैंकिङ तथा वित्तीय सञ्जाल प्रभावकारी बन्न नसक्नु, वित्तीय संस्थाहरूमा असहज सर्त, पारदर्शिताको अभाव तथा दिगो र प्रभावकारी वित्तीय नीतिको अभावजस्ता कारणले गर्दा वित्तीय समावेशीकरणको मुद्दाले सार्थकता पाउन सकेको छैन । त्यसैले वित्तीय समावेशीकरणलाई सशक्त र प्रभावकारी बनाउनका लागि समयसापेक्ष नीति तथा कार्यक्रम सञ्चालन गर्नु अहिलेको पहिलो आवश्यकता रहेको छ । वित्तीय समावेशीकरण र वित्तीय सेवाको पहुँच अभिवृद्धिका लागि हरेक बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता एवं सचेतनामूलक कार्यक्रमलाई प्रोत्साहित गर्नु पनि आवश्यक छ । मुलुकको समृद्धिका लागि औपचारिक वित्तीय सेवाहरू ग्रामीण क्षेत्रसम्म विस्तार गर्न राज्यले आवश्यक संरचना निर्माण गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रमलाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउनुपर्छ ।
(डा. ढुंगाना लघुवित्त र वित्तीय समावेशीकरण विषयका विज्ञ हुन् ।)
०००