कोरोना भाइरसको बेवास्था गर्दै मजदुरका नाममा आन्दोलन «

कोरोना भाइरसको बेवास्था गर्दै मजदुरका नाममा आन्दोलन

धादिङ- त्रिशूली नदी र आसपासका खोलाहरूमा बालुवा निकाल्न पाउने पर्ने माग गर्दै कोेरोना भाइरसको बेवास्था गरी मजदुरका नाममा आन्दोलन गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले कुनै पनि सभा, समारोह गर्न र पारिवारिक कार्यक्रम गर्नको लागि पनि अहिले प्रहरी प्रशासनको अनुमति लिएपछि मात्रै गर्न पाइने अवस्थाको पूर्णरुपमा अवज्ञा गरिएको छ ।
कानुनको अवज्ञा गर्दै मजदुरको नाममा निकालिएको -यालीलाई प्रहरीकै गाडीले स्कर्टिङ गर्दै जिल्ला प्रशासन कार्यालयको छेउमै रहेको टुँडिखेल पु-याएको थियो । जिल्ला प्रशासन कार्यालय धादिङले एक साताअघिदेखि धादिङक कुनै पनि खोलानाला र नदीमा बालुवा उत्खनन गर्न नपाउने सूचना जारी गरेपछि काम गर्ने बालुवा मजदुरहरू सहित बालुवा व्यवसायीहरू जिल्ला प्रशासन घेराउ गर्न टिपरसहित असुरक्षित तरिकाले पुगेका थिए ।
कोरोनाको महामारीको त्रासमा रहेका सदरमुकामवासी अकस्मात नारावाजी सहितको टिपर -यालीले सदरमुकाम प्रवेश गरेपछि उनीहरूमा निकै खुल्दुली भएको थियो । प्रहरी प्रशासनले गरेको उर्दीलाई धज्जी उडाउँदै प्रहरीकै अघि टिपरमा सयौँ मानिसहरूको -यालीले स्थानीयहरू चकित भएका थिए । मजदुरहरूको -याली र विरोध कार्यक्रम भनिए पनि बालुवा व्यवसायी र बिचौलियाहरूले नै नाराजुलुसको नेतृत्व गरिरहेका थिए ।
यसअघि अवैध ढङ्गले बालुवा उत्खनन गरेको, बर्खाको भेलमा मजदुरहरूलाई जोखिमपूर्ण काममा लगाएको र मजदुरहरूको ज्याननै गएको घटनाहरूका कारण र गृह मन्त्रालयकै निर्देशनपश्चात् जिल्ला प्रशासन कार्यालयले असार, साउन र भदौमा नदीजन्य उत्खनन बन्द गराएको बताउँदै आएको छ । तर, प्रशासनले मजदुरहरूको रोजीरोटी खोसेको र काम गरेर समेत खान नदिएको भन्दै आन्दोलन गरेको व्यवसायीहरूले बताएका छन् ।
कोल्पुबगरमा बालुवा निकाल्ने उदयपुरका सीपकुमार राइले भने, “प्रहरी गएर बालुवा निकाल्ने काम बन्द गरायो, काम पाइएन, सबैले आन्दोलन गर्न जाउँ भने मिसिएर आइयो ।” काम गर्न नदिने हो भने मजदुरहरूलाई राहतको ब्यवस्था गर्न पर्ने राइले बताए ।
नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यलयको प्राङगणमा पुगेको -यालीले उपस्थित मजदुरहरूको हस्ताक्षरसहित तत्काल नदी किनारहरू बालुवा संकलन र उत्खनन गर्न पाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका थिए ।
हरेक वर्ष त्रिशूली नदीको भेलमा बालुवा निकाल्ने क्रममा कम्तीमा पनि १० जना मजदुरहरूले ज्यान गुमाइरहेका छन् । यस वर्ष पनि गत असार २४ गते गल्छी गाउँपालिका वडा नं २ का ताराबहादुर मगर बगेर बेपत्ता भएका थिए । उक्त घटनापछि मजदुरहरू स्वयंले बालुवा उद्योगी र व्यवसायीहरूविरुद्ध उजुरी दिँदै अवैध उत्खनन र जोखिमपूर्ण तरिकाले काममा लगाउन नपाइने माग गरेपछि प्रशासनले नै जोखिमपूर्ण रुपमा बालुवा निकालिँदै गरेको नदी किनारका बगरहरूमा प्रहरी परिचालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्