वित्तीय कारोबारमा केन्द्रित सहकारीमाथि लगाम «

वित्तीय कारोबारमा केन्द्रित सहकारीमाथि लगाम

सरकारले विभिन्न विषय र क्षेत्रमा दर्ता भई बचत तथा ऋण कारोबारमा मात्र केन्द्रित भएका सहकारी संस्थालाई अप्ठ्यारो पर्ने भएको छ । सहकारी ऐन २०७४ मा बचत तथा ऋण सहकारीबाहेक अन्य विषयगत र बहुउद्देश्यीय सहकारीले मुख्य कारोबारका रूपमा बचत तथा ऋण कारोबार गर्न नपाउने व्यवस्थाले यस्ता सहकारी समस्यामा पर्ने देखिएको हो ।
सहकारी संस्थाहरू जुनसुकै विषय र उद्देश्यले खोले पनि बचत तथा ऋण कारोबारमा केन्द्रित भएपछि ऐनमै बाध्यकारी व्यवस्था राखिएको सहकारी विभागका रजिष्टार केशव रेग्मीले बताए ।
विभागको तथ्यांक हेर्दा सेवा र उत्पादनका एक दर्जनभन्दा बढी क्षेत्रमा सहकारी दर्ता भएका छन् । बचत तथा ऋण र बहुउद्देश्यीयका अतिरिक्त, कृषि, फलफूल तथा तरकारी, मौरीपालन, पशुपालन, उखुखेती, केराखेती, जुनार, अदुवा, चिया तथा कफीलगायतका सहकारीहरू दर्ता भएका छन् । यसैगरी सूचना तथा संचार, स्वास्थ्य, उपभोक्तालगायतका सेवामूलक व्यवसायमा पनि सहकारी दर्ता भएका छन् । दर्ता गर्दा उद्देश्य र नाम विभिन्न राखे पनि काम गर्दा भने बचत तथा ऋणमा मात्र सीमित भएको सरकारी अधिकारी नै स्विकार्छन् ।
“अहिले दर्ता भएका ७० प्रतिशत सहकारीहरूले बचत तथा ऋण कारोबार गर्छन्” रजिष्टार रेग्मी भन्छन् “सजिलो र छिटो नाफा कमाउने भएकाले उत्पादन र सेवाको उद्देश्य राखेर दर्ता भएका सहकारीहरू पनि बचत तथा ऋण कारोबारमा मात्र केन्द्रित भएका हुन् ।”
ऐनले सहकारी संस्था दर्ता गर्दा उल्लेख गरेअनुसार नै कारोबार गर्नका लागि तीन वर्षको समय दिएको छ । उक्त समयभित्र कारोबार नगर्ने सहकारी संस्थाले कारोबार अनुसार उद्देश्य परिवर्तन गर्नुपर्नेछ ।
सहकारी संस्थाहरू दर्ता गर्दा आफूले काम गर्ने विनियम बनाउनुपर्छ । यसैका आधारमा काम गर्न पाउँछन् । यसैलाई आधार बनाएर उत्पादन क्षेत्रका सहकारीहरूले पनि सहायक कामको रूपमा बचत तथा ऋण कारोबारको अनुमति लिएर कारोबार गर्दै आएका छन् ।
सरकारले पछिल्लो समयमा सहकारी खेतीका साथै सहकारीमार्फत् कृषिजन्य उद्योग संचालन गर्न नगद अनुदानसमेत दिंदै आएको छ । केही जिल्लामा भने अनुदानकै लागि समेत सहकारी दर्ता गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म ३४ हजार सहकारी दर्ता भएका छन् । त्यसमध्ये बचत तथा ऋण १३ हजार र बहुउद्देश्यीय सहकारी ४ हजार रहेका छन् । यसबाहेक ९ हजार कृषि सहकारीसहित अन्य विषयगत सहकारीहरूले पनि बचत तथा ऋण कारोबार गर्ने गरेका छन् । यी सहकारीले सर्वसाधारणको करिब ३ खर्ब निक्षेप परिचालन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्