संयुक्त धनीपुर्जाले महिला उत्साहित «

संयुक्त धनीपुर्जाले महिला उत्साहित

पहिले पहिले घरायसी झगडाले निकै तनाव व्यर्होर्ने गरेकी बाँसगढी नगरपालिका–५ हसनापुरकी रुपनी थारुको दाम्पत्य सम्बन्ध यतिबेला निकै बलियो बनेको छ ।
पैत्रिक सम्पतिमा समान अधिकार भएपछि घरपरिवार र पतिको विश्वासमात्रै बढेको छैन, घरायसी निर्णयमा समेत दुवैको सल्लाहमा काम हुन थालेको छ । “यसअघि श्रीमान्को विश्वासकै भरमा चल्नुपर्दथ्यो,” रुपनीले भनिन्, “जब श्रीमान्को नाममा रहेको १० कठ्ठा जग्गाको पुर्जामा मेरो नाम पनि थपियो अहिले वास्तविक सम्पतिको मालिक हामी दुवै हौं भन्ने भएको छ ।”
सुरुमा अप्ठ्यारो महसुस भए पनि संयुक्त पुर्जा बनाएपछि आफ्नो सम्पतिको मालिक आफूहरू दुवै हौ भन्ने लागेको उनका श्रीमान् बच्चुलाल थारुले बताए । “सुरुमा संयुक्त पुर्जा बनाउँभन्दा विश्वासै नमानेर अनावश्यक अधिकार मागेको जस्तो लागेको थियो,” बच्चुलालले भने, “पछि बुझ्दै जाँदा एउटा रथका दुई पाँग्राको बलियो सम्बन्ध बनाउने आधारपो रहेछ ।”

महिला हिंसामा कमी
रुपनीजस्तै नन्दारानी थारुले पनी संयुक्त पुर्जा बनाएपछि सम्पतिका कारण ठाक्कठुक्क पर्ने घरेलु हिंसालगायतमा कमी आएको बताइन् । कतिपय अवस्थामा विश्वास गर्दागर्दै मदिरा सेवन गर्ने श्रीमान्ले जग्गा बेचेर खाने होकि भन्ने शंका उत्पन्न हुन्थ्यो उनले भनिन् । तर अहिले आफूहरूबीच विश्वासको वातावरण बन्नुका साथै एकले अर्कोलाई सम्मान र सहयोग गर्ने गरेको उनी बताउँछिन् । श्रीमान्–श्रीमतीको नाममा संयुक्त जग्गाधनी पुर्जा बनाउन थालेपछि यतिबेला बर्दियाका महिला उत्साहित भएका छन् ।
श्रीमान्–श्रीमती दुवैको समान हक कायम गरिँदा महिलाको आत्मसम्मान र पारिवारिक समझदारी बढ्नुका साथै अचल सम्पति संरक्षणमा सहयोग पुग्ने भन्दै संयुक्त पुर्जा वितरण अभियानलाई सरकारले समेत प्राथमिकता दिएको हो । संयुक्त पुर्जा प्राप्त गरेका भने परिवारप्रति आत्मविश्वास बढेर आफूहरू समेत ढुक्क हुनुका साथै छोराछोरी बीचको भेदभावमा समेत कमी आएको महसुस भएको बताउँछन् । भूमिमा महिलाको स्वामित्व बढाउने उद्देश्यले सरकारले २०६९ सालमा ‘संयुक्त पुर्जा’ को अवधारणा अघि सारेको थियो । सुरुमा जनचेतना अभावले पुर्जा बनाउन ज्यादै न्यून इच्छुक भएका थिए ।
यतिबेला संयुक्त पुर्जाको महत्व बुझाउन जिल्ला भूमिअधिकार मञ्चले संयुक्त पुर्जा अभियानलाई जिल्लाभर अभियानकै रूपमा अगाडि बढाएको छ । मञ्चको पहलमा हालसम्म जिल्लामा करिब ५ सय जोडीले संयुक्त पुर्जा बनाइसकेको मञ्चका संयोजक होमेन्द्र थापाको भनाइ छ । पुर्जा बनाएपछि समुदायमा हुने महिला हिंसा तथा घरेलु हिंसामा कमी आउनुका साथै परिवारमा मेलमिलापको भावना बढेको उनको भनाइ छ ।

संयुक्त पुर्जा बनाउनेको संख्या वृद्धि
हालसम्म जिल्लामा कतिले संयुक्त पुर्जा बनाए भन्ने जिल्ला मालपोत कार्यालयमा कुनै तथ्यांक नभए पनि गत आर्थिक वर्षमा १३८ र यस आवको फागुनसम्म १९६ जनाले संयुक्त जग्गाधनी पुर्जा बनाएको कार्यालयले जनाएको छ ।
संयुक्त पुर्जा बनाउन चाहनेले सगोलनामाको लिखतसहितको निवेदनका आधारमा एक सय रुपैयाँ राजस्व तिरेर प्राथमिकताका साथ पुर्जा बनाउन सकिने जिल्ला मालपोत कार्यालयका प्रमुख ठाकुरप्रसाद सिग्देलले बताए । अहिले संयुक्त पुर्जा बनाउनेको संख्या बढदै गइरहेको उनको भनाइ छ । सरकारले भूमिमाथि महिलाको स्वामित्व बढाउन तथा महिला सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यले संयुक्त जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी गर्नेसम्बन्धी कार्यविधि–२०७४ कार्यान्वयनमा ल्याएको छ ।
संयुक्त पुर्जा अभियानले सम्पतिमा समान अधिकार, घरायशी निर्णयमा महिलाको पहुँच वृद्धि, घरायशी झैझगडामा कमी, परिवारमा मेल ल्याउन कडीको रूपमा काम गर्नेछ । तसर्थ जग्गा भएका सबै परिवारले जमिनको कानुनी हक महिला र पुरुष दुवैको नाममा हुनेगरी संयुक्त पुर्जा बनाउन लहर ल्याउनु जरुरी छ ।
लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्