कोरोना, कुकुर, बाघ, बिरालो र ट्रम्प

गत साउन १५ गते सहयोगी ‘नेपाल समाचारपत्र दैनिक’को अनलाइन संस्करमा आएको समाचारअनुसार अमेरिकामा नोभेल कोराना भाइरस–२०१९ (कोभिड–१९) को भाइरसका कारण कुकुरको समेत मृत्यु भएको छ । सम्भवतः हालसम्म कोरोनाका कारण मरेको जनावरमा सो कुकुर नै पहिलो जनावर हो । जे भए तापनि समाचारमा जनाइएअनुसार अमेरिकी नागरिक नतासा डालीले आफ्नो ट्विटमा राखेको समाचारमा अमेरिकामा पहिलो पटक जर्मन शेफर्ड जातको ‘बडी’ नामक कुकुरको मृत्यु भएको हो । नेपाल समाचारपत्रले प्रकाशित गरेको सो समाचारमा जनाइएअनुसार सो समाचार पोस्ट गर्ने नतासा ‘न्याट जियोमा’ नामक समाचार … को सम्पादक पनि हुन् । स्मरणीय छ, यसअघि अमेरिकामा ‘बाघ’ र ‘बिरालो’मा सर्वप्रथम कोभिड–१९ भाइरसको लक्षण देखिएको थियो ।
गत अप्रिल २९ तारिखका दिन भारतीय समाचार संस्था ‘एसियन न्युज एजेन्सी’ (एएनआई) ले अमेरिकाको ‘वासिङ्टन पोस्ट’लाई उद्धृत गर्दै प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार ‘गत जनवरी–फेब्रुअरीमै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी गुप्तचर संस्था सीआईएले कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग आक्रमण गर्न सक्ने भनी १२ पटकसम्म सूचित गरेको थियो ।’ तर, ट्रम्पले वास्ता गरेनन् । अझ ट्रम्पको अहंकार गर्दा अमेरिकाको यो हालत भएको छ । हुन पनि मार्च महिनाको तेस्रो हप्ता नलाग्दै कोभिड–१९ को संक्रामक भाइरसको महामारीका कारण बिरामी हुने र मर्ने देशमा अमेरिका फस्र्ट हुँदै आएको छ । स्मरणीय के छ भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ मै घोषण गरेको थियो । हुन त कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ भनी सीआईएबाहेक केही अमेरिकी पत्रकारहरू र अमेरिकाको नीति निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीहरूले पनि ट्रम्पलाई सल्लाह–सुझाव दिएका थिए । तर, ट्रम्पले ‘अरूलाई खाने बाघले आफुलाई पनि खान्छ’ भन्ने हेक्का नराख्दा अहिलेसम्म अमेरिकाले कोभिड–१९ भाइरसका कारण धनजनको धेरै ठूलो क्षति बहोरिरहेको छ ।
यो लेख तयार पार्दा (वि.सं. २०७७ साउन १५) सम्म कोभिड–१९ का कारण विश्वका २ सय १५ देशका १ करोड ७१ लाख ८८ हजारभन्दा बढी मानिस संक्रमित छन् भने ६ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यस्तै अमेरिकामा मात्रै हालसम्म ४५ लाख ६८ हजारभन्दा बढी मानिस संक्रमित छन् भने १ लाख ५३ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भई सकेको छ । (तथ्यांक स्रोत : वोल्र्डोमिटर)
बेला छँदै कोभिड–१९ को संक्रामक भाइरसकोे महामारीले बिस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, त्यसैले बेलैमा सावधानी अपनाऔं भनी चीन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको सुझाव वा भनौं चेतावनीलाई ट्रम्पले बेलैमा मनन नगरेको फल नै अमेरिकाको आजको अवस्था हो भन्न सकिन्छ । त्यो बेला ट्रम्पले चीन र डब्लूएचओको सुझावलाई नजर–अन्दाज गरे तापनि आफ्नै देशको गुप्तचर संस्था सीआईएले दिएको चेतावनी, सुझाव, सचेतता र सजगता अपनाउन दिएको सुझावलाई भने कुनै हालतमा नजर–अन्दाज गर्नु हुँदैनथ्यो । तर, ट्रम्प र उनका समर्थन गर्ने ‘फक्स न्युज’ लगायत केही अमेरिकी मिडियाले नै कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, बेलैमा सावधान रहौं , होसियार गरौंं भनी सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका केही वरिष्ठ कर्मचारीहरूलाई खिसी–टिउरी मात्रै गरेनन्, हप्काउनसमेत पछि परेनन् ।
तर हेरौं त आज, अमेरिकाको कुन हालत भएको छ ? जबकि विश्वको ‘सुपरमेसी म मात्रै हुँ, अरू कोही छैन’ भन्ने अमेरिकाको घमन्डलाई एउटा अदृश्य र सानोभन्दा पनि भन्दा सानो, ब्याक्टेरिया एवम् भाइरसविज्ञहरुरूका अनुसार कपालभन्दा १० हजार गुण सानो भाइरसले तोडेको छ । खासमा गत मार्च ३ मै अमेरिकाका भाइरल रोग विज्ञ डाक्टर एन्थोनी फाउचले कोभिड–१९ को संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र ९ देखि १० लाख अमेरिकी प्रभावित वा बिरामी हुन सक्ने बताएका थिए ।
–निनाम कुलुङ ‘मंगले’