पर्यटन विकासका धरोहर : दामन, चित्लाङ, इन्द्रसरोवर

दामन, चित्लाङ र इन्द्रसरोवर भौगोलिक क्षेत्र प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ । |
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पर्ने पर्यटकीय गन्तव्य दामन चिरपरिचित स्थान हो । समुद्री सतहबाट २ हजार २ सय ५० मिटरको उचाइमा रहेको यो क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यका कारणले प्रसिद्ध छ । भौगोलिक तथा सांस्कृतिक रूपले दामन साँच्चिकै प्रकृतिको सुन्दर उपहार मान्न सकिन्छ । नेपालको संघीय राजधानी काठमाडौंबाट ५६ किलोमिटर र हेटौंडाबाट ५५ किलोमिटरको दूरीमा रहेको छ दामन पर्यटकीय क्षेत्र । विक्रम संवत् २०१३ सालमा खुलेको नेपालकै पुरानो त्रिभुवन लोकमार्गले दामनबाटै जानुले पनि त्यहाँ पर्यटन विकासमा मद्दत पुगेको पाइन्छ । नेपालको पहिलो भ्यू टावर, जसको स्थापनाको नाम शीतल भ्यू टावर थियो, त्यो पनि दामनमै रहेको छ । यस भ्यू टावरबाट पालुङ, दामन, बज्रवाराही, चित्लाङका फाँटलगायत वरपरका स्थलको दृश्यावलोकनका साथै यहाँबाट संसारका १० अग्ला हिमालमध्ये ८ वटा हिमाललाई एकैपटक अवलोकन गर्न सकिन्छ ।
दामन जैविक विविधताका दृष्टिकोणबाट निकै सम्पन्न मानिन्छ । यहाँ सरकारी तवरबाट वन तथा वनस्पति अध्ययनका लागि पर्वतीय वनस्पति उद्यान, फलफूल तथा खाद्यान्न बालीको अध्ययनका लागि शीतोष्ण वागवानी केन्द्रको स्थापना गरिएको छ । संघीय सरकारले घोषणा गरेको नेपालका १ सयवटा पर्यटकीय गन्तव्यहरूमध्ये दामन पनि एक हो ।
हिन्दूहरूको ऋषेश्वर महादेव र बौद्ध धर्मावलम्बीहरूको गुरु रेम्पोचेको पनि पावन भूमि हो, दामन । यो पवित्र अनि प्रख्यात तीर्थस्थल सीम भन्ज्याङ र दामनको बीचमा रहेको छ । यहाँ पुग्न त्रिभुवन लोकपथको सो स्थानबाट करिब एक घण्टाको पैदलयात्रा तय गर्नुपर्छ । यहाँ शुक्रबार र शनिबार तीर्थालुहरूको ठूलो भीड लाग्ने गर्छ । प्रत्येक वर्ष ठूलो एकादशी, फागुपूर्णिमा, जनैपूर्णिमा र शिवरात्रिका दिन यहाँ विशेष मेला लाग्ने गर्छ ।
दामनभन्दा केही तल ऐतिहासिक स्थल एवम् मानव बस्ती रहेको स्थान, पालुङ क्षेत्र पर्छ । वरिपरिबाट रमणीय डाँडाहरूले घेरिएको यो समथर फाँट, मानव बस्ती एवम् कृषि उत्पादनका दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।
त्यो त्यसै क्षेत्रमा रहेको अर्को महत्वपूर्ण धार्मिक स्थल शंखमूल हो । भनिन्छ, विश्वमा यस्ता शंखमूल तीनवटा मात्र रहेका छन्, जसमध्येको एउटा काठमाडौँ उपत्यकामा, दोस्रो भारतमा र तेस्रो त्यहाँ रहेको छ । मानिसको अन्तिम दाह संस्कारलगायतका कर्र्म गरिने त्यो स्थलको पनि निकै ठूलो महत्व छ, तर प्रचार, प्रसारको अभावमा ओझेलमा परेको देखिन्छ ।
त्यहाँको महत्वपूर्ण धार्मिक स्थल हो, बज्रबाराहीको मन्दिर । पुरातात्विक महत्वका विभिन्न शिलालेखहरूसमेत त्यहाँ रहेका छन् । त्यो मन्दिरमा प्रत्येक तीन वर्षमा तीन दिन बज्रवाराही अजिमाको विशाल मेला लाग्ने गर्छ । सो समयमा त्यहाँ विभिन्न स्थानबाट पाँचवटा रथ भिœयाउने गरिन्छ र त्यहाँ पञ्चवली पनि दिने गरिन्छ । करिब साढे ३ सय वर्ष अघिदेखि त्यस प्रकारको ऐतिहासिक जात्राको सुरुवात भएको अनुमान गरिन्छ । मकवानपुर जिल्लाको साथै धादिङ, हेटौंडा, काठमाडौंलगायत मुलुकका विभिन्न स्थानबाट लाखौंको संख्यामा तीर्थालुहरू त्यस मेलामा आउने गर्छन् ।
त्यस क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले चर्चित अर्को स्थान हो— चित्लाङ । सडक सञ्जालको विकास हुनुअघि देशका विभिन्न भागबाट काठमाडौँ प्रवेश गर्ने निकै पुरानो पैदल मार्ग पनि हो— चित्लाङ । काठमाडौँबाट करिब २० किलोमिटरको दूरीमा रहेको चित्लाङपूर्व, पश्चिम र उत्तर तिनै दिशातिरका हरियाली जङ्गलयुक्त डाँडाहरूले घेरिएको छ । हरियालीयुक्त मनमोहक दृश्य, स्वस्थ वायु र शान्त वातावरणका कारण चित्लाङ सबैको पहिलो रोजाइमा पर्ने गरेको छ । चित्लाङमा पर्यटनको विकास गर्नका लागि चित्लाङ अर्गानिक भिलेज रिसोर्टले पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
नेपालका धेरै शासन र शासकहरूको साक्षीका रूपमा रहेको छ, चित्लाङ । त्यहाँ २३ सय वर्ष पुरानो लिच्छविकालीन वास्तुकला र सम्पदा रहेका छन् । लिच्छवि कालदेखि नै काठवमाडौंबाट तराई–मधेसतर्फ लाग्ने मानिस चन्द्रागिरि डाँडो पार गरेर चित्लाङ हुँदै जाने गर्थे । विक्रम संवत् १९६० सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएका भवनहरू अझै पनि त्यहाँ रहेका छन् । विक्रम संवत् २०१० पूर्व मोटरबाटो बन्नुअघि चित्लाङ काठमाडौँ उपत्यका छिर्ने प्रमुख नाका थियो ।
जर्मनी शासक हिटलरले उपहारस्वरूप नेपाललाई दिएको मोटर भीमफेदीबाट चित्लाङको त्यही बाटो हुँदै काठमाडौँ ल्याइएको थियो । काठमाडौँलाई तराईसम्म जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएपछि भने गुप्तबासमा बसे जस्तै गरी लामो समय सुनसान रह्यो, चित्लाङ । तर हिजोआज नयाँ रंग रूपका साथ चित्लाङ पुनः पुरानै लयमा फर्किन थालेको पाइन्छ ।
त्यो चित्लाङमा रहेको अशोक चैत्य हो, त्यसले सम्राट् अशोकको नेपाल भ्रमणको जीवन्त इतिहास बोकेको छ । २३ सय वर्षपहिले नेपाल भ्रमणमा आउँदा सम्राट् अशोकपुत्री चारुमतीले चित्लाङमा त्यो चैत्यको स्थापना गरेको किंवदन्ती पाइन्छ । त्यो अशोक चैत्य चित्लाङमा पर्यटक लोभ्याउने प्रमुख सम्पदा हो । त्यसैबाट नै चित्लाङ नाम रहन गएको थियो ।
चित्लाङमा किराँत राजाहरूले बनाएको तीनवटा गजुर भएको शिवालयको मन्दिर रहेछ । तीनवटा गजुर भएको मन्दिर निकै दुर्लभ मानिन्छ र त्यो चित्लाङमा मात्रै रहेको दावी छ । राजा उदयदेवको संवत् ४५ को शिलालेखको अवस्थितिले पनि यो क्षेत्र कति प्राचीन रहेछ भन्ने अड्कल गर्न सकिन्छ । यस्ता विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ताको पनि प्रमुख थलो बन्न पुगेको छ, चित्लाङमा द्वापरयुगमा सप्तऋषिले नुहाउने सप्तश्रीधारा अझैसम्म पनि रहेको छ । चित्लाङको अर्को आकर्षण, त्यहाँ रहेको भेडा फार्म हो । नेपालकै ठूलो चौरमा रहेको त्यो भेडा फार्म ३ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यो भेडा फर्म अत्यन्त मनमोहक रहेको छ । त्यही सुन्दरचरन क्षेत्रकै कारण पनि चित्लाङको महत्व अझ बढेको देखिन्छ । त्यहाँको मनोरम दृश्यलाई पर्दामा उतार्न चलचित्रहरू छायांकनको थलो पनि बनेको छ, त्यो चरन क्षेत्र । विक्रम संवत् २०६१ सालमा त्यहाँ बाख्राको चिज उत्पादन गर्ने कारखाना खोलेपछि त्यहाँ बाख्रापालन व्यवसाय अझै बढेको देखिन्छ ।
चित्लाङमा नेपालमै पहिलो पटक जैतुनको खेती गरिएको क्षेत्र पनि रहेको छ । जैतुनको तेललाई संसारमै महँगोमा बिक्री–वितरण हुने तेल मानिन्छ । यसै गरी त्यहाँ अल्पका जनावर पनि पालन गरिएको छ । कंगो र पेरुमा मात्र पाइने त्यो जनावर दक्षिण एसियाका अन्य देशमा नपाइने बताउँछन्, त्यहाँका व्यवसायी ।
दामन, चित्लाङ र इन्द्रसरोवर भौगोलिक क्षेत्र प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ । त्यहाँको अर्को प्रसिद्ध स्थल बज्रबाराहीबाट १५ मिनेट अगाडि बढेपछि पुगिने गोपालीहरूको बस्ती भएको कुन्छाल गाउँ हो । त्यहाँ एकै ठाउँमा झुरुप्प बसेको २ सय ५० वटा घर छन् । त्यो गाउँमा होमस्टेको पनि सुविधा छ । त्यस गाउँलाई नेपाल पर्यटन बोर्डबाट सन् २०१८ को गन्तब्य कुन्छाल गाउँ भनी घोषणा गरिएको थियो ।
दामन, चित्लाङ र इन्द्रसरोवर क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुँदै जाँदा होमस्टेको संख्यामा पनि वृद्धि भएको छ । होमस्टेसँगै नयाँ रिसोर्ट पनि खुल्न थालेका छन् त्यहाँ । त्यस क्षेत्रमा नयाँ बस्ती विकाससँगै आधुनिक भवनहरू निर्माणको क्रमसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ र जनसंख्याको वृद्धि पनि सोही रूपमा भएको छ ।
त्यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, इन्द्रसरोवर । मार्खु र कुलेखानीअन्तर्गतको गहिरो खोचमा बाँध–बाँधी वरिपरिका नदीनालाको पानी संकलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत् परियोजनाको इन्द्रसरोवर आफैँमा एक नौलो नमुना हो । त्यो सरोवर एसियामा नै पहिलो मानिन्छ । त्यो स्थल जलविहार र माछापालनका लागि पनि प्रसिद्ध छ । काठमाडौँ र हेटौडाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको त्यो ठाउँमा मोटरबाट करिब दुई घण्टामा पुग्न सकिन्छ । पछिल्ला समयमा ताल घुमेर रमाइलो गर्न पनि चित्लाङ हुँदै आउने पर्यटकहरू पनि बढ्दै गएको अनुभव गरिएको छ ।
दामन, चित्लाङ र इन्द्रसरोबर क्षेत्रका प्राकृतिक छटा, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने प्रमुख स्थल बन्न पुगेका छन् । त्यस क्षेत्रमा पर्यटन विकासलाई अझ तीव्रता दिन यातायातको पर्याप्त सुविधालगायत आवश्यक भौतिक संरचनाको निर्माणमा पनि जोड दिनु जरुरी देखिएको छ । साथसाथै कृषिमा आधारित यहाँको जनजीवनमा कृषि प्रणालीलाई अझ विकसित र व्यवस्थित बनाउन सके त्यसले पनि पर्यटन विकासमा यथेष्ट सघाउ पुग्न जाने अनुभव गरिएको छ, जसले गर्दा स्थानीयको आयआर्जनमा भर पुग्ने मात्र नभई समग्र मुलुककै विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।