सातामा ४२ उडानमार्फत ८ हजार नागरिक स्वदेश फर्किंदै

सरकारले बुधवारबाट दोस्रो चरणको उद्धार उडान गर्दै छ । सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउनको लागि दोस्रो चरणको उद्धार उडान गर्न लागेको हो ।
जेठको अन्तिम साताबाट पहिलो चरणको उद्धार अभियान चलाएको सरकारले असार २८ गते यो चरण सम्पन्न गरेको थियो । विदेशमा रहेका नेपालीहरू नेपाल आउने जानकारी गराउँदै सम्बन्धित देशका दूतावासमा जानकारी दिँदै निवेदन दिनेको संख्या वृद्धि भएसँगै सरकारले असार ३१ गतेबाट साउन ६ गते सम्म १ साता उद्धार उडानको समय थप गरेको थियो । दैनिक ६ उडानमार्फत सातामा ४२ उद्धार उडानमार्फत नेपाली नागरिकलाई स्वदेश ल्याइँदै छ । दैनिक ६ उडान गर्ने तयारी गरेको सरकारले औसतमा १२ सय नेपाली स्वदेश फिर्ता गर्ने सरकारको योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “यसरी ४२ उडानमार्फत सरकारले करिब ८ हजार बढी नेपाली स्वदेश फिर्ता हुने अनुमान रहेको छ । अहिले यही भन्नसक्ने अवस्था भने छैन, उडान संख्या कम पनि हुनसक्नेछ ।”
दैनिक नेपाल फिर्ता हुने नागरिकले दूतावासमा निवेदन दिने क्रम जारी रहेको हुनाले कति नेपाली स्वदेश फिर्ता हुन्छन् भन्ने यकिन नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, ४२ उडानबाट पूर्ण सिट संख्याको उपयोग गर्दै स्वदेश फिर्ता हुने नागरिकलाई ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले बताए । उनले भने, “मन्त्रालयलाई हालसम्म प्राप्त जानकारी अनुसार करिब दुई दर्जन मुलुकबाट ७६ हजार बढी नेपालीले स्वदेश फिर्ता हुनको लागि आवेदन दिएका छन् भने असार २८ गतेसम्म २५ मुलुकबाट करिब २७ हजार ५ सय नागरिक स्वदेश फिर्ता भइसकेका छन् ।”
नेपाल फिर्ता हुन चाहने नागरिकको संख्या श्रम गन्तव्यबाट बढिरहेको मन्त्रालयको भनाइ छ । कोभिड–१९को संक्रमण दर विश्वभर नै बढिरहेको र निर्मूलको अन्योलता कायमै रहेको अवस्थामा रोजगारी गुमाउनेको संख्या बढी रहेको र स्वदेश फिर्ता हुने नागरिकको संख्या दैनिक वृद्धि हुने क्रममा रहेको सरकारी अधिकारीहरूले जानकारी गराएका छन् ।
दैनिक ६ उडानमार्फत स्वदेशमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने कार्यसूची बनाएको सरकारले बुधवार युनाइटेड अरब इमिरेट्स (यूएई)बाट ६ उडान हुने छन् । नेपाल वायुसेवा निगमले दुबइबाट–२, हिमालय एयरलान्सले आवुधावीबाट–२, एयर अरेबियाले सारजाँहाबाट–१ र फ्लाई दुबइले–१ गरी कुल ६ उडान गर्ने कोभिड–१९ संकट व्यावस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । १ हप्ताको कार्य सूची अनुसार निगमले–१६, हिमालयले–१६ र अन्य विदेशी विमान कम्पनीले १० गरी कुल ४२ उडान उद्धार उडान हुनेछन् । सरकारले सार्वजनिक गरेको १ महिनाको उद्धार उडानको कार्यसूचीमा १ सय ७५ उडानमार्फत विदेशमा रहेका नेपाली स्वदेश फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।