मापदण्ड पूरा गरी ट्याक्सी चलाउन दिन समितिको निर्देशन

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिले तोकिएको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोगलकको पालना गरी ट्याक्सी सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध विभिन्न मजदुर र व्यवसायी संघ संगठनका प्रतिनिधिहरुसँगको छलफलपछि समितिले आवश्यक सुरक्षा विधि अपनाएर ट्याक्सी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिकी सभापती कल्याणी खड्काले लकडाउनको अवधिमा पनि तोकिएको मापदण्ड पूरा गरी अन्य क्षेत्रका सेवा सञ्चालन गर्न दिने निर्णय गरेको स्मरण गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सोहि मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइन् । लकडाउनका कारण सय दिन भन्दा धेरै समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु प्रदर्शनीमा उत्रिएका थिए । उनीहरुले निजी सवारी साधनले कोचाकोच मान्छे राखेर चलाउँदा कारवाही नगर्ने तर, आफूहरुले व्यवस्थित तरिकाले सञ्चालन गर्छु भन्दा समेत मौन रहेको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका थिए ।
कोरोना महामारी नियन्त्रण गर्न भन्दै गरीएको लकडाउनको बुधबार एक सय सात दिन पुगेको छ । आर्थिक कियाकलाप चलायमान बनाउने भन्दै सरकारले लकडाउन खुकुलो बनाएपनि सार्वजनिक यातायात भने सञ्चालनमा आएको छैन् । व्यवसायीहरुले दवाव दिएपनि कहिले सञ्चालन हुन्छ भने अझै निश्चित छैन । त्यस्तै सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने सम्बन्धमा कोरोना महामारीको संकट व्यवस्थापन समिति (सीसीएमसी) र भौतिक योजना मन्त्रालयसँग आगामी बैठकमा समितिले छलफल गर्ने जनाएको छ । अर्को बैठक २५ गतेका लागि तोकिएको छ ।
यसैबीच सार्वजनिक यातायातसम्बद्ध विभिन्न संघ संगठनका पदाधिकारीहरुले सरकारले यातायात क्षेत्रलाई कुनै राहतका कार्यक्रममा नल्याएको भन्दै दुखेसो गरेका छन् ।
समितिको बैठकमा उनीहरुले तीन महिना भन्दा धेरै समयदेखि सार्वजिनक गाडीहरु घर ग्यारेजमा थन्क्याउनु पर्ने अवस्था आउँदासमेत सरकारले राहतका कार्यक्रम नल्याएको भन्दै दुखेसो गरेका हुन् ।
बैठकमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले निजी गाडी सञ्चालन भइरहे पनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताए । लामो समयदेखि गाडीहरु घर ग्यारेजमा थन्किँदा समेत सरकारले कुनै प्रकारको समस्या सम्बोधन नगरेको गुनासो गर्दै उनले आवश्यक प्रोटोकल पूरा गरी यातायात सञ्चालन गर्न दिनुपर्ने बताए । साथै, मजदुरहरुको सुरक्षाको ग्यारेण्टी गर्दै बिमालगायतका अन्य सुविधाहरु स्वास्थ्यकर्मी सरह हुनेपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र ब्याजदरमा सहजीकरण गर्नुपर्ने उनले बताए ।
बैठकमा नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले लकडाउन भएको १ सय ७ दिन बितिसक्दा समेत सरकारले सिन्को पनि नभाचेको भन्दै यातायात मजदूरहरुका समस्या सम्बोधन नभए सडकमा उत्रिने चेतावनी दिनुभयो ।
बैठकमा नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारीले कोरोना बिना नगरी गाडी लिएर अहिले सडकमा आउन सक्ने अवस्था नभएको बताउनुभयो । यस्तै, नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेश राज श्रेष्ठले संघ मातहतका सफा टेम्पु संचालन नहुँदा व्यवसायी, स्वरोजगार, मजदुर लगायत आश्रित व्यक्ति र तिनका परिवारको जीवन निर्वाहमा समस्या भएपछि सडक आन्दोलन गर्ने अवस्थामा पुगेको बताउनुभयो ।