धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि कारागार चलान

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नबराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका एक प्रतिबादी धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छिन् । उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
शुक्रबारदेखि सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार अबेर यस्तो आदेश गरेका थिए । तर, उनले उक्त धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । “अदालतले तोकेको धरौटी रकम नबुझाएपछि धरौटीमा छोड्न आदेश भएका एक प्रतिबादी पनि अन्य प्रतिवादीसँगै कारागार चलान भएका छन्,” प्रमुख केसीले भने, “बाँकी विषय अब कानुन अनुसार हुन्छ ।” उनी जाजरकोटका मृतक नबराज बिककी प्रेमिका भनिएकी किशोरीकी आमा हुन् । उनको नाम कानुनअनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ । प्रतिवादी डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश नै भएको थियो । अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र चलान गर्न आदेश भएकालाई राती नै जिल्ला कारागार चलान गरिएको हो ।
आदेशमा अन्य ३ जना अभियुक्तलाई भने साधारण तारेखा छोड्न आदेश दिएको थियो । साधारण तारेखमा छुट्ने प्रतिवादीहरूमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन् । यसअघिको आदेशमा दुई जना नाबालक (नवराजकी पे्रमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त) लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भइसकेको छ ।