धान खरिद नगर्दा मिल सञ्चालनमा समस्या «

धान खरिद नगर्दा मिल सञ्चालनमा समस्या

बर्दिया-नेपाल खाद्य संस्थानले कृषकबाट धान खरिद गर्न नसक्दा यस वर्ष मिल सञ्चालनमा समस्या हुने भएको छ । राजापुर क्षेत्रमा उत्पादन हुने मकवानपुर जातको धानको मूल्य नै निर्धारण नगरेका कारण धान खरिद गर्न नसकेपछि मिल सञ्चालनमा समस्या हुने भएको हो ।
मुलुककै अन्न भण्डार मानिने बर्दियाको राजापुर क्षेत्रमा ८० प्रतिशत मकवानपुर जातको धान उत्पादन हुन्छ । त्यही धान बेचेर यहाँका अधिकांस कृषकले दैनिक गुजारा चलाउने गर्छन । तर, सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसवर्ष मकवानपुर धानको मूल्य नै निर्धारण गरेन । जसको प्रत्यक्ष मार कृषकहरूले खेप्नु परेको छ ।
यहाँ उत्पादन हुने धान खरिदका लागि खाद्य संस्थानले कोटा निर्धारण नै नगरेका कारण कृषकहरू स्थानीय व्यापारी तथा विचौलियालाई धान बेच्न बाध्य भएको राजापुर–२ नयाँगाउँका कृषक किशोर चौधरीले बताए । बाहिर व्यापारीलाई धान बेच्नुपर्दा फरक–फरक मूल्य हुनुका साथै नाप तौलमा समेत कृषकहरू ठगीने गरेका कारण आगामी वर्ष यसक्षेत्रमा उत्पादन हुने मकवानपुर धानको उचित मूल्य निर्धारण गर्नुपर्ने उनको भनाई छ ।
गत वर्ष मकवानपुर धान २ हजार ४ सय र मसिनो २ हजार ५ सय रुपैयाँसम्म संस्थानले खरिद गरे पनि यसवर्ष मूल्य निर्धारण नभएपछि समस्या भएको कृषकहरूको गुनासो छ ।
त्यसो त कात्तिक २३ गते स्थानीय प्राथमिक खरिद समितिको बैठक बसी मोटा धान प्रतिक्विन्टल २ हजार र मकवानपुर धान प्रतिक्विन्टल २ हजार २ सय निर्धारण गरी खाद्य संस्थान केन्द्रीय कार्यालयमा कोटा माग गर्ने निर्णयसमेत भएको थियो । तर केन्द्रले राजापुरलाई मकवानपुर धान खरिदको अनुमति नदिएपछि मूल्य तोकेर धान खरिद गर्न नसकिएको खाद्य संस्थान राजापुरले जनाएको छ ।
यसवर्ष संस्थानले राजापुरबाट ३० हजार क्विन्टल मोटा धान खरिद गर्ने लक्ष्य राखेको भए पनि हालसम्म २ हजार क्विन्टल अर्थात लक्ष्यको ६.६६ प्रतिशत मात्र खरिद गरेको छ । मोटा धानमा समेत व्यवसायीहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानले आफ्नो लक्ष्यभन्दा ज्यादै न्यून धान खरिद गरेको छ ।
लक्ष्यअनुसार धान खरिद नभएपछि यसवर्ष संस्थानको राजापुरमा रहेको आधुनिक चामल कारखानाको मिल सञ्चालन र खाद्य आपूर्तिमा समेत समस्या हुने देखिएको छ ।
चामल मिल सञ्चालनमा समस्या हुने भएपछि संस्थानको कैलालीस्थित डिपोबाट ६ हजार क्बिन्टल धान ल्याउने तयारी भइरहेको खाद्य संस्थान राजापुरका निमित्त प्रमुख सुजन सापकोटाले बताए । “मिल सञ्चालनका लागि कैलालीवाट धान ल्याउने तयारी थालेका छौं,” उनले भने ।
जापान सरकारको सहयोगमा बनेको राजापुरको आधुनिक चामल कारखाना खाद्य संस्थानको एक मात्र मिल हो । संस्थानले कैलालीबाट धान ल्याएर मिल सञ्चालन गरे पनि बाँकी समय मिल बन्द गर्नुपर्ने अवस्था यसवर्ष आएको छ । संस्थानको आधुनिक चामल कारखानाले प्रतिघण्टा २० क्विन्टल धान कुट्न सक्छ । यो अनुपातमा एक दिनमा १५ घण्टा मात्र मिल चल्यो भने दिनमा ३ सय क्विन्टल धान कुट्छ । यसरी हिसाव गर्दा संस्थानले खरिद गरेको धान कुटन मिललाई बढीमा एक महिना लाग्ने छ भने बाँकी समय मिल बन्द गर्नुपर्ने देखिन्छ । किसानबाट धान खरिद नगर्ने तर व्यापारीहरूबाट महँगो मूल्यमा चामल खरिद गर्ने परिपाटीले मिल सञ्चालन गर्नुको कुनै अर्थ नभएको स्थानीयको भनाई छ ।

लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्