Logo

इन्धनको चोरी र मिसावट रोक्न इआरपी प्रणाली जडान गरिने

नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्ने तयारी गरेको छ । इन्धनको चोरी र चुहावट नियन्त्रण गर्नका लागि सो प्रणाली जडान गर्न लागेको हो । इआरपी प्रणाली जडान गरेपछि इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने अनुमान गरिएको छ ।
इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खोल्नेछ । पेट्रोल पम्पहरुले समेत आयल निगमबाट नै मिसावटयुक्त तेल आएको गुनासो गर्दै आएका थिए ।
इआरपी सिस्टम जडान भएपछि परम्परागतरुपमा हुँदै आएको कामकाजसमेत कम्प्युटरमा अभिलेखकीकरण हुनेछन् । यो कार्यका लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिमसमेतका लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर बोलपत्र आह्वान गरिएको निगमले जानकारी दिएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगमको कामकाजलाई प्रविधिमैत्री बनाउँदै परिस्कृत गर्न यो प्रणालीका लागि तयारी गरिएको बताए । आगामी दिनमा अपग्रेड गर्दै अझै सुरक्षित, छिटो, छरितो बनाउन कम्प्युटरकृत हुँदै जाने उनको भनाई छ । निगमले आफ्नो सम्पूर्ण सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ । निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि (इआरपी सिस्टम जडान गर्दैछ ।
हाल कार्यान्वयनमा रहेको मेकानिकल लकिङ् सिस्टमले मिसावट र चोरी नरोकिएपछि अटोमेशनको काम आरम्भ गरिएको निगमको भनाई छ । इआरपी जडानका लागि अघि बढाइएको खरिद प्रक्रिया अगाडि बढाएको निगमको भनाई छ । इआरपी सिस्टम जडान सफल भएमा वर्षौंदेखि मेनुअल रुपमा हुँदै आएको कामकाज समेत कम्युटरकृत हुनेछन् । देशभर अहिले १ हजार चार सय वटा भन्दा बढी पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिमका लागि बजेट छुट्याएर टेण्डर भइसकेको छ । आगामी तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने लक्ष्य लिइएको छ ।
इआरपीले म्यानेजमेन्ट इन्फरमेशन सिस्टम, एकाउन्टिङ सिस्टम, सुरक्षित डाटा भण्डारण लगायतका कार्य डिजिटल बनाउनेछ । यो प्रणालीले भारतको बैरेनीबाट तेल लिएर आउँदा भारतको भूमिमा समेत ट्यांकरको अवस्था ट्रयाक गर्ने हुँदा तेल चोरी र मिसावट घटाउने बताइन्छ । यसअघि नै निगमले चोरी नियन्त्रण गर्न टयाङकरमा लकिङ प्रणाली लागु गरिसकेको छ । यसले गर्दा तेलको चुहावटमा धेरै नै नियन्त्रण भएको निगमको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्