डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजिँदै «

डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजिँदै

डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजिँदै सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा डेंगु नियन्त्रण गर्ने अभियान सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले डेंगु रोगबाट बच्नका लागी भन्दै डेंगु नियन्त्रण गर्ने अभियान सुरु गरेको हो । डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिने बताइएको छ ।
जनस्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने जनाएको छ । अभियानअन्तर्गत कमलामाई नगरपालिकाको १४ वटै वडामा डेंगु रोग नियन्त्रण गर्न महिला स्वास्थ्य स्वयमसेविकाहरुले लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने छन् । अभियानमा कमलामाई नगरपालिका वडा नं. १ देखि १४ वडाका प्रत्येक घरमा महिला स्वास्थ्य स्वायमसेवीकाहरुको टोली पुग्ने र लामखुट्टे बस्ने ठाउँको अवलोकन गरी विषादी छर्ने, लामखुट्टेको वृद्धि विकास रोक्न वडा भित्र रहेका घारीहरु फाड्ने, पानी जमेका खाल्डाखुल्टी पुर्ने, सरसफाई गर्ने, पानी जमेर बसेका गाडीका टायरहरुमा मोविल हाल्ने काम गर्ने जनस्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिए ।
छिमेकी जिल्ला महोत्तरीको बर्दिवाससम्म डेंगुको प्रकोप देखा परेको भन्दै सिन्धुलीमा डेंगु फैलन नदिन यो अभियान सञ्चालन गर्नु परेको जनस्वास्थ्य प्रमुख ढकालको भनाइ छ । साथै जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले डेंगु रोगबाट बच्नका लागी सर्वसाधारणलाई अनुरोध गरेको छ । गमला, टिन तथा प्लास्टिकका डब्बा, टायरमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेकाले सबैलाई सचेत रहन आग्रह गरेको हो ।
कमलामाई नगरपालिका क्षेत्र लामखुट्टेजन्य रोगको जोखिम क्षेत्र भएकाले पहिलो चरणमा नगरपालिकामा अभियान सुरु गरेको जनस्वास्थ्य प्रमुख ढकालले बताए । साथै जिल्लाका अन्य जोखिम क्षेत्रहरुमा पनि क्रमश अभियान सञ्चालन गर्ने जनाएको छ । डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न तिन दिन सम्म अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्